१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

‘रोनाल्डोको भविष्य ओल्ड ट्राफोर्डमै’

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एरिक टेन हागले लिभरपुलविरुद्ध बेन्चमा सीमित रहेका क्रिस्टियानो रोनाल्डोको भविष्य ओल्ड ट्राफोर्डमा अझै रहेको रहेको बताएका छन्।

इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार भएको खेलमा म्यानचेस्टर युनाइटेडले लिरभपुलमाथि २–१ को रोमाञ्चक जित निकाल्दा बेन्चमा रहेका रोनाल्डोबारे बोल्दै प्रशिक्षक टेन हागले भविष्य अझै रहेको बताएका हुन्।

युनाइटेड रोनाल्डोबिना पनि खेल्न सक्छ भन्ने लक्ष्यका साथ अगाडि बढ्न चाहिरहेको छ। नयाँ सिजनअन्तर्गत लगातार दुई खेलमा पराजित भएको युनाइटेडले तेस्रो खेलमा मात्र सुखद नतिजा निकाल्न सफल भएको हो।

टेन हागको आक्रामक रणनीति सोमबार सफल हुँदा रोनाल्डो अन्तिम चार मिनेट मैदान प्रवेश गरेका थिए। मार्कोस रसफोर्डको स्थानमा टेन हागले रोनाल्डोलाई वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गराएका थिए। अघिल्ला दुई खेलमा लय गुमाएको युनाइटेडलाई बलियो प्रतिद्वन्द्वीविरुद्ध निकालेको जितले आत्मबल मिलेको छ। यसअघिका दुई खेलअन्तर्गत युनाइटेड ब्राइटनसँग २–१ तथा ब्रेन्टफोर्डसँग ४–० ले स्तब्ध भएको थियो।

रोनाल्डोलाई बेन्चमा राख्दै प्रशिक्षक टेन हागले जोखिम लिएको खेलमा जाडोन सान्चोले १६औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा युनाइटेडले लिभरपुलविरुद्ध दोस्रो गोल गर्दा एक गोल खान पुगेको थियो।

५३औं मिनेटमा रसफोर्डले टोलीका लागि दोस्रो गोल गर्दा ८१औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै अग्रता छोट्याएका थिए। बाँकी समयमा लिभरपुलले खेलमा फर्किन निकै प्रयास गरे पनि सफल हुन सकेन।

पारिवारिक कारणले रोनाल्डोले युनाइटेडको प्रि–सिजन भ्रमण गुमाएका थिए। क्लब छाड्न चाहेको चर्चा चलिरहेको अवस्थामा रोनाल्डोको युनाइटेडमा नयाँ सिजन अन्योल भएको थियो। तर प्रशिक्षक टेन हागले पनि रोनाल्डोलाई बेच्ने सोच क्लबमा नरहेको भन्दै सार्वजनिक रूपमा अभिव्यक्ति दिएका थिए।

युनाइटेड च्याम्पियन्स लिगबाट बाहिरिएको छ। २०१७ देखि उपाधि जित्न नसकेको युनाइटेडका लागि रोनाल्डो आवश्यक नभएको भन्दै केही अभिव्यक्तिहरू उठेका पनि थिए। यी अभिव्यक्तिले युनाइटेड सम्हाल्न आएका प्रशिक्षक टेन हागलाई टाउको दुखाइ भएको थियो। सोही अवस्थामा टेन हागले रोनाल्डो बिक्रीमा नरहेको बताएका थिए।

युनाइटेडमा दोस्रो पटक अनुबन्धित भएको ३७ वर्षीय रोनाल्डोले यसअघि क्लबबाट खेल्दा सर्वाधिक गोलकर्ता बनेका थिए। तर दोस्रो पटक युनाइटेडमा अनुबन्धित भएका रोनाल्डोले निर्धारित समय मैत्रीपूर्ण खेलबाहेक अन्य खेल खेल्न पाएका छैनन्। रोनाल्डोले रायो भालेकानोसँगको खेलमा मात्र निर्धारित ९० मिनेट खेलेका थिए।

युनाइटेडको सिजनभरिको योजनाअन्तर्गत रोनाल्डो पनि टोलीको सदस्य रहेको भन्दै टेन हागले उमेर उनको कुनै कारण नरहेको बताए।

‘धेरै प्रशिक्षकको प्रशिक्षणमा रोनाल्डोको अनुभव रहेको छ। धेरै शैली र तरिकामा उनले फुटबल खेल्न सक्छन्। मेरो अधिनमा पनि उनले राम्रो खेल्न सक्छन् भने मेरो विश्वास छ,’ लिरपुलविरुद्धको खेलपछि प्रशिक्षक हागले भने, ‘उनको उमेरबारे प्रश्न गर्ने कुनै ठाउँ छैन। हामीसँग अहिले खेलाडी भएको अवस्था हो। यद्यपि हाम्रो प्राथमिकता भने भनेको कसरी हुन्छ खेलमा उत्कृष्ट नतिजा निकाल्नु हो। अहिले यो टोलीले राम्रो नतिजा निकाल्यो भन्दैमा अन्य खेलाडीको बारेमा टीकाटिप्पणी गर्नु व्यर्थ हुन्छ। सिजन भरखरै मात्र सुरु भएको छ।’

यस्तै यसै साता मात्र अनुबन्धित भएका कासेमिरोसँगै युनाइटेड अझै बलियो हुने अपेक्षा राखिएको छ। कासेमिरो स्पेनिस क्लब रियाल मड्रिडबाट अनुबन्धित भएका हुन्। जारी सिजन युनाइटेडले अनुबन्धित गरेका कासेमिरो चौथो खेलाडी हुन। यसअघि युनाइटेडले क्रिस्टियन इरिक्सन, टेरेल मलासिया र लियोसान्ड्रो मार्टिनेजलाई अनुबन्धित गरेको थियो। रियालबाट कासेमिरोले ३ सय ३६ खेल खेलेका थिए। यस क्रममा उनले तीन पटक ला लिगा र पाँच पटक च्याम्पियन्स लिगको उपाधि जितेका थिए।

प्रकाशित: ८ भाद्र २०७९ ०१:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App