३१ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

अस्ट्रेलियाबाट ओलम्पिक खेल्ने अफगानी सपना

ओलम्पिकमा अफगानी झन्डावाहक किमिया युसोफी तालिबानीको उत्पीडनबाट बच्न अस्ट्रेलियामा आश्रय लिन पुगेको बुधबार सिड्नीका अधिकारीले जनाएका छन्।

छोटो दूरीकी धावक किमिया आफैं पनि सन् २०२४ को पेरिस ओलम्पिकमा प्रतिस्पर्धा गर्ने लक्ष्यमा छन्। अहिले किमियासँगै दर्जनौं अफगानी खेलाडी अस्ट्रेलियामा काम गर्दै आफ्नो देशको ओलम्पिक मुभमेन्ट अगाडि बढाउने अभियानमा छन्।

अस्ट्रेलियन ओलम्पिक कमिटीले धेरै अफगानी खेलाडी पेरिस ओलम्पिक खेल्ने सपनासहित यस वर्ष आफ्नो देशमा भित्रिएको र उनीहरू त्यहाँ कामको खोजीमा रहेको पुष्टि गरेको छ। एसियन गेम्समा पदक विजेता तेक्वान्दो खेलाडी अहमद अबासी पनि त्यस टोलीको एक सदस्य हुन्। गत जुनको सुरुआतदेखि नै उनीहरू अस्ट्रेलिया आउने क्रम चलेको थियो।

गत हप्तासम्म पाँच परिवारका ३१ सदस्य अफगानी खेलाडी अस्ट्रेलिया आइपुगिसकेका छन्। ओलम्पिकका अफिसियल अनुसार अफगानिस्तामा रहँदा उनीहरूले धेरै चुनौती र जोखिम सामना गर्नुपरेको थियो। खेल र शिक्षामा महिला सहभागिताका कारण उनीहरूमाथि जोखिम थियो। ‘खेल र शिक्षामा महिलाको सहभागिताका कारण परिवारको पनि सम्बन्ध रहेपछि खेलाडीमाथि जोखिम हुन थाल्यो। यी बहादुर व्यक्तिले धेरै संघर्षको सामना गर्नुपर्‍यो। उनीहरूलाई सहयोग गर्न पाउँदा हामी धेरै खुसी छौं,’ अस्ट्रेलियन ओलम्पिक कमिटीका प्रमुख कार्यकारी म्याट कारोलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

अहिले पनि धेरै खेलाडीहरू अगफानी भूमिबाहिर छन्, जो संघर्ष गरेर विश्वका खेलमैदानमा आफ्नो देशको झन्डा फहराउन चाहन्छन्। तीमध्ये केही बहादुर व्यक्ति अहिले अस्ट्रेलियाली भूमिमा पुगेकाले आफूहरू खुसी रहेको अस्ट्रेलियाले जनाएको छ। अफगानी धावक किमियाले टोकियो २०२० मा सय मिटर दूरीमा प्रतिस्पर्धा गरेकी थिइन्। उनले आगामी ओलम्पिकमा पनि प्रतिस्पर्धा गर्ने लक्ष्य रहेको बताइन्। ‘यो एउटा यात्रा थियो, आज यहाँ आइपुग्दा खुसी छु। यहाँ मैले नयाँ जीवन सुरु गर्नुपर्छ र म कडा प्रशिक्षण गर्नेछु। पेरिस जान निकै उत्साहित छु र पक्कै पनि त्यहाँ प्रतिस्पर्धा गर्नेछु,’ किमियाले भनिन्।

उनको परिवार पनि फरक फरक समयमा अस्ट्रेलिया आइपुगेको उनको भनाइ छ। आफ्नो सुरक्षा नै सबैभन्दा पहिलो प्राथमिकता रहेको किमिया बताउँछिन्। अफगानी खेलाडीलाई रोजगार र शिक्षाको अवसर दिन आफूहरू लागिरहेको अस्ट्रेलिया ओलम्पिक कमिटीका अफिसियलको भनाइ छ। उनीहरूको परिवारलाई पनि आवश्यक कपडा र अन्य सामग्री खरिदको भौचर प्रदान गर्ने तयारीमा अस्ट्रेलियन ओलम्पिक कमिटी छ। यसै वर्षको सुरुआतमा पनि अफगानी महिला फुटबल टोलीले अस्ट्रेलिया आएपछि पहिलो खेल पनि खेलिसकेको छ। 

प्रकाशित: २ भाद्र २०७९ ०२:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App