१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
खेल

नेपाल महिला फुटबलको फाइनलमा

गुवाहटी- नेपाली महिला फुटबल टोलीले बिहिबार भारतसँग गोलरहित बराबरी खेल्दै फाइनलमा स्थान पक्का गर्दा पुरुष टोली भने बंगलादेशसँग पराजित भएको छ। सिलोङको जवाहरलाल नेहरु रंगशालामा महिला टोलीले आयोजक भारतसँग बराबरी खेलेको हो।श्रीलंकासँग हुने राउन्ड रोविनको नतिजा जे भएपनि नेपाल शीर्ष दुईमा पर्नेछ। ५ राष्ट्र सम्मिलित प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्। बराबरी पछि नेपाल ७ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। ६ अंकका साथ बंगलादेश दोस्रो र भारत ५ अंकसहित तेस्रोमा छ। माल्दिभ्सको ४ अंक छ भने श्रीलंका अंकबिहीन छ।

सागको महिला फुटबलमा नेपाललाई स्वर्ण पदकको दाबेदारका रुपमा हेरिन्छ। तर नेपालका लागि भारत सधै चुनौति रहँदै आएको छ। भारतसँग साग र साफ च्याम्पियनसिपमा गरि यसअघिका ४ भेट नै गुमाएको नेपालले यो पटक भने अंक जोड्न सफल भएको छ। यसको संस्करणमा समावेश गरिएको महिला फुटबलको फाइनलमा नेपाल भारतसँगै पराजित भएको थियो।

नेपाली महिला टोलीका प्रशिक्षक ध्रुव केसीले फाइनलमा बंगलादेशलाई प्रतिद्वन्द्वी पाउँदा आफु खुसी हुने बताए। 'फाइनलमा बंगलादेश पुग्यो भने हामीलाई राम्रो हुन्छ। भारत बलियो टोली हो। उनीहरुसँग खेल्दा सदैव दबाब हुन्छ,' केसीले भने, 'हामीले दोस्रो हाफ केही रक्षात्मक खेल्यौं। भारतले राम्रो खेल्यो। भारत विरुद्ध यो हाम्रो पहिलो बराबरी हो त्यसैले आजको नजिताबाट खुसी छु।' बंगलादेश र भारतमध्ये एउटाले नेपालसँग फाइनल खेल्नेछ। राउन्ड रोविनको अर्को खेल भारत र बंगलादेशबीच जो विजयी हुन्छ त्यहि टोली फाइनल पुग्नेछ। बराबरीले बंगलादेश फाइनल पुग्नेछ।

गुवाहिटीको एसएआई सेन्टरमा नेपालको पुरुष टोली बंगलादेशसँग २–१ ले पराजित भएपछि नेपाल समुह उप विजेता बनेको हो। यसअघि नै समुह 'बी' बाट अन्तिम चारमा पुगेको नेपालले सेमिफाइलनमा माल्दिभ्ससँग खेल्नेछ। नेपालले पहिलो खेलमा भुटानलाई ५–० ले हराएको थियो। बंगलादेश भने भुटानसँग १–१ को बराबरीमा रोकिएको थियो। बंगलादेश ४ अंकका साथ शिर्षमा छ भने नेपालको ३ अंक छ।

प्रशिक्षक राजुकाजी शाक्यले विहिबार भुटानविरुद्धको टोलीमा ३ खेलाडी परिवर्तन गरेका थिए। पहिलो रोजाईको गोलकिपर विकेश कुथुको स्थानमा एलेन न्यौपानेलाई मौका दिएका शाक्यले विमल घर्तिमगर र अन्जान विष्टको स्थानमा जगजित श्रेष्ठ र रन्जन विष्टलाई खेलाएका थिए। शाक्यले मुख्य खेलाडीलाई आरम दिएकाले हार व्यहोर्नु परेको बताए।

'सेमिफाइनलका लागि हामीले मुख्य खेलाडीलाई आरम दिएका थियौं। उनीहरु पुर्णरुपमा फिट थिएनन् त्यसैले जोखिम लिन चाहेनौं,' शाक्यले भने, 'सुरुमै अग्रता लिनुका वावजुद पनि हामीले बल नियन्त्रणमा राम्रो सकेनौं। तर दोस्रो हाफमा हामीले केही अवसर सिर्जना गर्दै उनीहरुलाई दबाबमा राखेका थियौं। बंगलादेशले धेरै राम्रो खेल्यो।'

नेपालले दोस्रो मिनेटमै अनन्त तामाङको गोलबाट अग्रता बनाएको थियो। जगजित श्रेष्ठको कर्नरमा अनन्तले हेडबाट गोल गरेका थिए। तथापि बंगलादेशले पूर्वार्द्धमा नै दुई गोल फर्कायो। दुवै गोल रक्षापंक्तिको गल्तीमा भएको हो।

बंगलादेशले ५ मिनेट अन्तरालमा दुई गोल गरेर खेल उल्टाएको हो। खेलको ४० औं मिनेटमा डी बक्सभित्र बनेको राम्रो मुभमा मोहम्मद रेहान हसनले गोलपोस्ट नजिकबाट गोल गरी स्कोर बराबर गरेका थिए। पहिलो हफको अन्तिम समयमा नेपाली डिफेन्डरको निगरानीमा नरहेका मोहम्मद नबिब नेवाह जीवनले दोस्रो गोल गरेर बंगलादेशलाई अग्रता दिए।

बंगलादेशका प्रशिक्षक मोरेनो गोन्जालो साञ्चेजले नेपाललाई यस प्रतियोगिताकै उत्कृष्ट टिम भन्दै जितबाट खुसी व्यक्त गरेका थिए।

नेपालमाथि विजय पाए पनि प्रदर्शनबाट सन्तुष्ट हुने आधार नरहेको र टिममा सुधार गर्नुपर्ने मोरेनोले बताए।

प्रकाशित: २८ माघ २०७२ २२:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App