१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

मेसी शीर्ष ३० मा पनि परेनन्

फाइल तस्बिर

कीर्तिमानी सात पटकका बालोन डी’अर विजेता लियोनल मेसी यस पटक भने सो अवार्डका लागि सार्वजनिक शीर्ष ३० को सूचीमा समेत पर्न असफल भएका छन्।  

मेसीले गत वर्ष पनि सो अवार्ड जितेका थिए। सन् २००६ देखि निरन्तर मनोनयनमा पर्दैै आएका मेसी सन् २००७ पछि भने सन् २०१७ सम्म तथा २०१९ देखि २०२१ सम्म लगातार शीर्ष तीनमा अटाउँदै आएका थिए। यस पटकको अवार्ड समारोह अक्टोबर १७ मा पेरिसमा हुनेछ।  

गत सिजन मेसी बार्सिलोनासँगको २१ वर्षको सम्झौतामा पूर्णविराम लगाउँदै फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) गएका थिए। तर उनका लागि पिएसजीमा पहिलो सिजन भने सुखद भएन।  

मेसीले गत सिजन लिग वानको २६ खेलमा मात्र ६ गोल गरेका थिए। सबै खाले प्रतियोगितामा भने उनले कुल ११ गोल गरेका थिए। च्याम्पियन्स लिग जित्ने महत्वाकांक्षी योजना बनाएको पिएसजी अन्तिम १६ मा रियाल मड्रिडसँग निराश भएको थियो।  

त्यस्तै पिएसजीकै नेइमारले पनि शीर्ष ३० मा स्थान बनाउन सकेनन्।उनले गत सिजन पिएसजीका लागि २८ खेलमा १३ गोल गरेका थिए। रियाल मड्रिडलाई कीर्तिमानी १४औं पटक च्याम्पियन्स लिगको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका फ्रान्सेली स्ट्राइकर करिम बेन्जेमालाई यस पटक बालोन डी अ’रको मुख्य दाबेदारका रूपमा हेरिएको छ। उनले गत सिजन च्याम्पिन्स लिगमा १५ गोल गरेका थिए।

यसअघि फ्रान्सका रेमोन्ड कोपा (१९५८), मिचेल प्लाटिनी (१९८३, १९८४, १९८५), जेन पिरे पापिन(१९९१) र जिनेदिन जिदान(१९९८) ले बालोन डी’अर जितेका थिए। २०२१–२२ सिजनमा बेन्जेमाले रियालका लागि सबै खाले प्रतियोगिता गरी ४६ खेलमा ४४ गोल गरेका थिए। रियालले गत सिजन स्पेनिस ला लिगाको उपाधि पनि जितेको थियो। समग्रमा भने बेन्जेमाले रियालबाट कुल ३ सय २४ गोल गरेका छन्।

‘बेन्जेमा बालोन डी’अर का प्रमुख दाबेदार हुन्,’ रियालका प्रशिक्षक कार्लो एन्सेलोट्टीले भनेका थिए, यसमा कुनै दुबिधा छ र ? मलाई भने कुनै दुबिधा छैन। पाँच पटकका बालोन डी’अर विजेता म्यानचेस्टर युनाइटेडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले भने मनोनयनमा स्थान बनाएका छन्। रियालका बेन्जेमाका साथै थिबाउट कोर्टोइस, कासेमिरो, लुका मोडरिच र भिनिसियस जुनियर पनि मनोनयमा परेका छन्।

प्रकाशित: २९ श्रावण २०७९ ०२:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App