१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
खेल

कराते नराख्नुको नोक्सान

दक्षिण एसियाली खेलकुद (तत्कालिन साफ हालको साग) को आठौं संस्करण काठमाडौंमा १९९९ मा हुँदा नेपालले ३१ स्वर्ण पदकका साथ दोस्रो स्थान हासिल गरेको थियो। नेपालले सागमा अहिलेसम्म हासिल गरेको सबभन्दा ठूलो सफलता त्यही हो। नेपालले १७ वर्षअघि त्यस्तो ऐतिहासिक सफलता हासिल गर्दा सबभन्दा मुख्य भूमिका निर्वाह गर्नेमा कराते र तेक्वान्दो थिए। कराते र तेक्वान्दोले १४/१४ स्वर्ण पदक जितेपछि नेपाल पदकतालिकामा पहिलोपटक दोस्रो स्थान हासिल गर्न सफल भएको थियो।

काठमाडौंमा भएको त्यही संस्करणबाट सागमा कराते समावेश गरिएको थियो। त्यसयता भएका सबै संस्करणमा यो खेल छुटेको छैन र यो खेलबाट नेपालले स्वर्ण जित्ने क्रम पनि टुटेको छैन। दक्षिण कोरियाको इन्चोनमा गत वर्ष १७ औं एसियाली खेलकुद (एसियाड) हुँदा पनि नेपालको साख जोगाउने काम करातेले नै गर्योत। इन्चोनमा नेपालबाट २५ खेलका २ सय ४ खेलाडीको सहभागिता थियो। पाँच खेलाडी वैदेशिक रोजगारीका लागि उतै सुइँकुच्चा ठोके, बाँकी हारको शृंखला जोड्दै निराशाजनक रूपमा घर फर्र्किए। २ सय ४ खेलाडीबाट नेपाल एक कांस्य पदकमै सीमित भयो। नेपाललाई त्यो अमूल्य पदक जिताउने श्रेय करातेकी बिमला तामाङले लिइन्।

राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यताको आडमा विवाद गरिरहेका दुई समानान्तर कराते महासंघको जुधाइमा पिसिँदै इन्चोन पुगेकी बिमलाले कातामा कांस्य जितेर देशलाई पदकविहीन हुनबाट जोगाएकी थिइन।

तर दुर्भाग्य! साग, एसियाड तथा अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई नियमित पदक दिलाउने कराते शुक्रबार भारतमा सुरु भएको १२ औं सागमा अटाएन। असार २३ मा भएको दक्षिण एसियाली ओलम्पिक महासंघको बैठकमा आयोजक भारतले करातेलाई बेवास्ता गर्दै २३ खेल प्रस्ताव गर्योो। नेपाल, बंगलादेश र पाकिस्तानलगायतको विरोधका बाबजुद सागमा कराते समेटिएन।

पदककीय दृष्टिमा नेपालका लागि करातेबाट ठूलो आस थियो। त्यहीअनुरुप वर्षौंदेखि करातेको राष्ट्रिय टोली नियमित अभ्यासमा थियो। आठौं साफमा पहिलोपटक समावेश हुँदा करातेका कुल १६ इभेन्ट्समै नेपाल पदकविहीन हुनुपरेको थिएन। त्यो बेला नेपालले १४ स्वर्ण तथा १ रजत र १ कांस्य पदक जितेको थियो।

सन् २००४ मा पाकिस्तानको इस्लामाबादमा भएको नवौं साफमा नेपालले करातेबाट १ स्वर्ण, २ रजत र १ कांस्य जितेको थियो। सन् २००६ मा श्रीलंकामा सम्पन्न १० औं सागमा करातेले नेपाललाई २ स्वर्ण ३ रजत र ४ कांस्य पदक जिताएको थियो। यही संस्करणदेखि दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) को नाम परिवर्तन गरेर दक्षिण एसियाली खेलकुद (साग) बनाइएको थियो। कुनै पनि संस्करणमा खाली हात हुनु नपरेको करातेले बंगलादेशमा २०१० मा सम्पन्न ११ औं सागमा देशका लागि सर्वाधिक ३ स्वर्ण, २ रजत र २ कांस्य जितेको थियो।

एसियाली खेलकुदमा पनि करातेले १२, १३ र १७ औं संस्करणमा कांस्य पदक जितेको इतिहास छ तर नेपाली खेलकुदमा ठूलो योगदान गरेको यही खेल सागबाट हटाइँदा अहिले अन्योलमा धकेलिएको छ। सागकै लागि राष्ट्रिय टोलीमा रहेर तीन वर्षदेखि निरन्तर अभ्यास गरिरहेका खेलाडी भारतमा प्रतियोगिता भइरहँदा आफूहरु यहाँ समर्थकको भूमिकामा खुम्चिनुपर्दा मर्माहत छन्।

'नेपाली खेलाडीले पदक जित्ने व्यावहारिक सम्भावना भएको साग नै हो। यो हाम्रा लागि ओलम्पिकसरह हो। त्यसैका लागि खेलाडी तमाम समस्याका बाबजुद वर्षौंसम्म निरन्तर मिहिनेत गरिरहेका हुन्छन्,' राष्ट्रिय कराते टोलीका प्रशिक्षक एवं सागका दोहोरो स्वर्णपदकधारी दीपक श्रेष्ठले भने, 'तर अहिले कराते हटाइएपछि खेलाडी अत्यन्तै निराश छन्। आगामी संस्करण हामीले नै आयोजना गर्ने भएकाले त्यो बेला कराते पक्कै समावेश हुन्छ भन्दा पनि खेलाडीको निराशा मेटिएको छैन।'

नेपाली खेलकुदमा सबभन्दा बढी पदक सम्भावना भएको खेल सागबाट हटाइदा त्यसको असर लामो समयसम्म पर्ने श्रेष्ठको भनाइ छ। 'नेपालमा खेलाडीले खेल्ने भनेकै सागका लागि हो। सागमा पदक जित्ने सबै खेलाडीको सपना हुन्छ। सागमै समावेश नभएपछि यो खेलप्रति युवाहरुको मोह घट्न सक्छ,' उनले भने, 'फुटबल, क्रिकेट वा अन्य टिम खेलजस्तो कराते खेलेर जीवनयापन गर्न सकिन्न। करातेमा त्यस्तो स्टारडम पनि हुन्न। त्यसैले करातेलाई जोगाउन पनि सागमा हुनुपर्ने थियो।'

सागबाट कराते हटाइएपछि खेलाडीको हौसला जोगाइराख्न राष्ट्रिय टोलीको नियमित प्रशिक्षण तथा घरेलु प्रतियोगिता चलायमान राख्नुपर्ने उनको सुझाव छ। 'साग खेल्न नपाए पनि खेलाडीलाई अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि गराउनुपर्छ। त्यसो भयो भने खेलाडीलाई लामो समयदेखिको तयारी खेर गएजस्तो लाग्दैन र उनीहरु सधै तयार अवस्थामा रहिरहन्छन्,' उनले सुझाए।

अन्तर्राष्ट्रिय मान्यताप्राप्त नेपाल कराते महासंघका महासचिव केदारबाबु सिवाकोटीले सागमा कराते समावेश नभएको पीडाबाट खेलाडीलाई राहत दिन नयाँ योजना ल्याउने बताए। कराते हटाएकोमा बंगलादेश, पाकिस्तान तथा श्रीलंकाका करातेकर्मी पनि असन्तुष्ट रहेको बताउँदै उनले सबै मिलेर नयाँ कराते च्याम्पियनसिप गर्ने योजना भइरहेको जानकारी गराए। 'चाँडै बंगलादेशमा दक्षिण एसियाली कराते च्याम्पियनसिप गर्ने तयारी भइरहेको छ। यसपालि सागबाट कराते हटाइँदा दक्षिण एसियाकै करातेलाई नराम्रो असर गरेको छ,' सिवाकोटीले भने, 'कराते नेपालको माटो सुहाउँदो खेल हो। विगतमा पनि करातेले नै विभिन्न अवसरमा देशलाई गौरव गर्ने मौका दिएको छ। त्यसैले सागबाट कराते हटाइँदा सबभन्दा ठूलो मार हामीलाई नै परेको छ। खेलाडीको वर्षौंदेखिको मिहिनेत खेर जान नदिन हामी वैकल्पिक उपाय खोज्नेछौं।'

प्रकाशित: २२ माघ २०७२ २१:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App