९ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

विभाजनबाट जन्मिएका दुई ठूला प्रतिद्वन्द्वी

७५ वर्ष अगाडि हिंसात्मक द्वन्द्वपश्चात् भारत र पाकिस्तान जब विभाजित भए त्यहाँबाट विश्व खेलकुदमा सबैभन्दा ठूला प्रतिद्वन्द्वीको जन्म भयो।

आज यी दुई देश क्रिकेटको खेलमा एकअर्काविरुद्ध भिड्दा त्यो विश्व खेलकुदकै सबैभन्दा धेरै हेरिने प्रतिस्पर्धामध्ये एक हुने गरेको छ। विजयलाई दुवैले आफ्नो देशमा राष्ट्रवादका लागि प्रयोग गर्ने गरेका छन्। भारत र पाकिस्तानबीच अहिले पनि यति धेरै कट्टर प्रतिद्वन्द्वी चल्छ की जहाँ उनीहरूले आफू विभाजित भएको मितिलाई पनि गर्विलो तवरमा प्रस्तुत गर्छन्। एक देश दुई भागमा छुट्टिनुलाई दुवैले स्वतन्त्रता दिवसका रूपमा मनाउँछन्। पाकिस्तानले अगस्ट १४ मा आफ्नो स्वतन्त्रता दिवस मनाउँछ।  

भारतले भने त्यसको एक दिन पछि स्वतन्त्रता दिवस मनाउने गरेको छ।‘भारत जब पाकिस्तानसँग खेल्छ, त्यहाँ लाखौं मानिसका भावनाहरू जोडिएका हुन्छन्,’सर्वकालीन महान् क्रिकेटरमध्ये एक पाकिस्तानका वसिम अक्रम भन्छन्। अहिले क्रिकेट कमेन्टेटरसमेत रहेका वसिमअनुसार खेलमा पराजित हुँदा क्षण भरमा देशकै खलनायकको रूपमा चित्रित हुन्छ। ‘यदि तिमीले राम्रो प्रदर्शन ग¥यौं भने नायक बन्नेछौं। तर, तिम्रो टिम पराजित भयो भने एकैछिनमा खलनायकको दाग सामना गर्नुपर्छ,’पाकिस्तानका पूर्वकप्तान वसिम दुई देशबीचको खेललाई यसरी सम्झन्छन्।

भारत र पाकिस्तानबीचको खेल ठूलो उत्साहको रूपमा हेरिन्छ। यो खेलले उनीहरूबीचको सैन्य तनावलाई पनि केही कम गर्छ। जुन तनाव सन् १९४७ मा ब्रिटेस शासकबाट स्वतन्त्र भएदेखि सुरु सिर्जना भयो। त्यसयता यी देशबीच चार पटक युद्ध भएको छ। सन् १९७९ मा पाकिस्तानका सैन्य शासक जनरल मुहम्मद जिया उल हक नै भारतको नयाँ दिल्लीमा क्रिकेट हेर्न पुगेपछि क्रिकेटले दुवै देशमा विशेष स्थान पायो। मुहम्मद जियाको त्यो प्रयासपछि दुवै देशमा क्रिकेटका कप्तानप्रति निकै सम्मान हुन थाल्यो। देशका क्रिकेट कप्तानले सीधै प्रधानमन्त्रीसँग भेट्ने वातावरण बन्यो।

भारतका तत्कालीन प्रधानमन्त्री राजीव गान्धी पनि पाकिस्तान भ्रमण गर्ने तयारीमा थिए। तर, एक्कासी दुई देशबीच तनाव बढ्न थालेपछि त्यो भ्रमण रद्द हुन पुग्यो। अहिले पनि ‘अनफिल्ड’ द्वन्द्वले पाकिस्तान र भारतबीचको खेल बन्द छ। किनकी यी देशले सन् २००७ पश्चात् एकअर्काबीच कुनै पनि टेस्ट क्रिकेट खेलेका छैनन्। तथापि, ठूलो प्रतियोगितामा भने भारत र पाकिस्तानबीच प्रतिस्पर्धा भएको छ। यसै महिना पनि यी देश संयुक्त अरब इमिरेट्(युएई) मा हुने एसिया कपमा एकअर्काबीच आमनासामने हुँदैछन्।

हजारौं क्रिकेट समर्थक पनि त्यो प्रतिस्र्धाको व्यग्र प्रतीक्षामा छन्। प्रत्यक्ष प्रशारणमा पनि त्यो खेल धेरैले हेर्ने पक्का छ। सन् २०१९ मा सम्पन्न एकदिवसीय विश्वकपमा यी देश भिड्दा दुई करोड ७३ लाख समथर्कले त्यो खेलको प्रत्यक्ष प्रशारण हेरे। त्यसको एक वर्षपछि ट्वान्टी–२० विश्वकपमा पनि एक करोड ६७ लाख समर्थकले भारत र पाकिस्तानको खेल हेरे। ‘पाकिस्तान र भारतबीचको शृंखलाभन्दा ठूलो कुनै पनि खेल प्रतिस्पर्धा हुन सक्दैन। किनकी यसको महत्व विशेष छ,’पाकिस्तान क्रिकेटका पूर्वकप्तान तथा पूर्वप्रधानमन्त्री इमरान खानले भनेका छन्।

सन् १९९२ मा आफ्नो कप्तानीमा पाकिस्तानलाई ऐतिहासिक विश्वकप दिलाएका इमरानले एउटा खेल डकुमेन्ट्रीमा राखेका धारणा हुन, ती। ‘वातावरण तनावग्रस्त र दबाबपूर्ण बन्छ। रमाइलो पनि उतिकै हुन्छ,’इमरानले भनेका थिए। पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) का कार्यकारी प्रमुख फैसल हासनेनले भारतसँगको खेललाई ‘मदर अफ अल क्रिकेट म्याचेज’ भनेर प्रतिक्रिया दिएका छन्। ‘समर्थक यी देश एकअर्काबीच खेलेको हेर्न चाहन्छन्। तर, जब सम्बन्धको चिसोपना हट्छ, त्यसपछि मात्र यो सम्भव हुनेछ,’फैसलले भने, ‘बस् हामी पर्खाइ र आशा मात्र राख्न सक्छौं।’ 

१८औं शताब्दीमा ब्रिटिसहरूले शासन गरेका स्थानमा क्रिकेट खेल खेल्न थाले। ब्रिटेनका शासकले क्रिकेट खेल्दा वा अभ्यास गर्दा त्यहाँका जनताले ‘बल ब्वाइ’का रूपमा काम गर्दागर्दै खेल पनि सिके। भारतले सन् १९३२ मा टेस्ट मान्यता पाएको थियो। देश विभाजित हुँदा धेरै मुस्लिम क्रिकेटर पनि छुट्टिए। भारतीय टोलीमा नै रहेका तीन क्रिकेटरले पाकिस्तान जाने निर्णय गरे। पाकिस्तानले भने सन् १९५२ मा पहिलोपटक टेस्ट खेल्यो, त्यो पनि भारतविरुद्ध। अब्दुल हाफिजको कप्तानीमा पाकिस्तानले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गरेको थियो।  

अब्दुल तिनै तीन पूर्वभारतीय क्रिकेटरमध्ये एक थिए। १९३२ यता भारत र पाकिस्तानबीच ५९ टेस्ट खेल भएको छ। त्यसमध्ये पाकिस्तानले १२ र भारतले ९ जित आत्मसात गदौ बाँकी ‘ड्र’ भएका छन्। एकदिवसीयमा पनि पाकिस्तानकै दबदबा छ। तर, ट्वान्टी–२० मा भने ९ भेटमा भारतले सात जित दर्ता गरेको छ। एकदिवसीय खेल आगमनले झन् यी देशबीचको प्रतिद्वन्द्विता बढायो। एक क्रिकेट विश्लेषकले यो प्रतिस्पर्धालाई ‘युद्ध कम सुटिङ’ भनेका थिए।  

सन् १९९१ मा अकिब जायदले ह्याट्रिकसहित सात विकेट लिएपछि पाकिस्तान क्रिकेटको अन्धकार समाप्त भएको प्रतिक्रिया आउन थाल्यो। पराजित भारतीय टोलीमाथि भने धेरै आलोचना भयो। ‘यो हारका कारण भारतका समर्थक महिनौंसम्म रुष्ट भइरहे,’आकिब सम्झँन्छन्। पाकिस्तानका समर्थकले त आफ्नै देशका वसिम अक्रमलाई ज्यान मार्ने धम्की नै दिए। चोटका कारण भारतसँगको फाइनलबाट वसिम बाहिरिएपछि रुष्ट समर्थकले त्यस किसिमको धम्की दिएका हुन्।

‘कहिलेकाहि समर्थकको प्रतिक्रिया पनि असह्य हुन्छ,’अक्रम भन्छन्। भारतका पूर्वब्याट्सम्यान सन्जय मान्जरेकर पाकिस्तानसँगको प्रतिस्पर्धा ‘मिस’ गरिरहेको बताउँछन्। ‘पाकिस्तानसँगको खेल सबैभन्दा मनपर्ने प्रतिस्पर्धा हो। फिल्डमा हुने हरेक गतिविधिले हामीलाई रोमान्चित गराउँदछ,’उनले भने।  

प्रकाशित: २८ श्रावण २०७९ ०१:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App