२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

जिम्बाब्वेको गुमेको छवि फर्काउँदै राजा

सीमित ओभरको क्रिकेटमा सारा विश्व अन्यत्र रुमलिरहँदा निरन्तर स्वाभाविक लय गुमाउँदै आएको एउटा राष्ट्रले भने अहिले आफ्नो गुमेको छवि फर्काउने संकेत गरेको छ।आइतबार जिम्बाब्वेले बंगलादेशविरुद्धको दोस्रो खेलमा सहज जितसहित तीन एकदिवसीय खेलको शृंखला २–१ ले जितेको थियो। यसअघि जिम्बाब्वेले बंगलादेशविरुद्धको ट्वान्टी–२० शृंखला २–१ ले जितेको थियो। त्यस्तै जिम्बाब्वेले ट्वान्टी२० विश्वकपको छनोट चरण पार गर्दै टिकट पक्का गरेको थियो।

चार साताको अन्तरमा राजाले सबैखाले क्रिकेट गरी १०१.१६ को औसतमा ६ सय सात रन जोडिसकेका छन्। जसमा चार अर्धशतक र दुई शतक सम्मिलित छन्। 

जिम्बाब्वेको यो सफल यात्रामा सारथि बनेका छन्, ३६ वर्षे अलराउन्डर सिकन्दर राजा, जसको बाल्यकालको सपना क्रिकेटर बन्ने नभई पाकिस्तान एयर फोर्स (पिएफए) को पाइटल बन्ने थियो। ‘जुन स्तरमा सिकन्दर राजाले ब्याटिङ गरिरहेका छन्, यसको चर्चा हुन आवश्यक छ,’ वेस्ट इन्डिजका तीव्र गतिका बलर इयान विसपले ट्विट गरेका छन्, ‘विश्व क्रिकेटमा अब उनले आफ्नो पहिचान स्थापनासँगै जिम्बाब्वेको गुमेको छवि फर्काउनेछन्।

मध्यक्रमका ब्याटर अहिले खेलजीवनकै उत्कृष्ट लयमा छन्। पहिलो एकदिवसीय खेलमा अविजित एक सय १७ रन जोड्नुका साथै रेगिस चकाभासँग अविजित दुई सय एक रनको साझेदारीबाट टोलीलाई जित दिलाएका राजाले त्यसको दुई दिनपछि नै दोस्रो एकदिवसीय खेलमा अविजित एक सय ३५ रन जोडेका थिए। दोस्रो खेलमा भने उनले इनोसेन्ट कियासँग एक सय ९२ रनको साझेदारी गरेका थिए।

तर यो तथ्यांकले मात्र राजाको उत्कृष्ट लयलाई प्रमाणित गर्दैन। चार साताको अन्तरमा उनले सबैखाले क्रिकेट गरी १०१.१६ को औसतमा ६ सय सात रन जोडिसकेका छन्। जसमा चार अर्धशतक र दुई शतक सम्मिलित छन्। अफ स्पिनरसमेत रहेका राजाले २२.१८ को औसतमा ११ विकेटसमेत लिएका छन्।

ट्वान्टी २० विश्वकप छनोटको फाइनलमा राजाले नेदरल्यान्ड्सविरुद्ध आठ रन खर्चंदै चार विकेट लिएका थिए। ३६ वर्षको उमेरमा अन्य क्रिकेटरले संन्यासको योजना बनाइरहँदा राजा भने जिम्बाब्वेको भाग्य बदल्न लागिपरेका छन्। पाकिस्तानमा जन्मिएका राजा सन् २००२ मा मात्र आफ्ना आमाबुबासँग जिम्बाब्वे आएका थिए। उनले कहिले पनि क्रिकेटर बन्छु भनेर सोचेनन्।

उनले तीन वर्ष फाइटर पाइलटको प्रशिक्षणसमेत लिए। उनले आफ्नो फाइटर पाइटल बन्ने सपना साकार पार्न सकेनन् तर पिचमा दबाबका बीच कसरी सम्हालिएको प्रदर्शन गर्दै टोलीलाई जित दिलाउने भन्नेमा भने अब्बल ठहरिए।

‘म झुटो बोल्न चाहन्नँ, खेल जित्नका लागि निकै दबाब हुन्छ,’ राजाले इएसपिएनसँगको कुराकानीको क्रममा भनेका थिए, ‘म एयर फोर्सको प्रशिक्षण लिएर आएको हुँ, त्यसैले दबाब कसरी झेल्नुपर्छ मलाई राम्रोसँग थाहा छ। हामी हार मान्दैनाैं। मैले कयाैं पटक चोटका बावजुद पनि खेलेको छु। एउटा खेलाडीका लागि राष्ट्रिय टोलीबाट खेल्नु भन्दा ठूलो कुरा अरू हुनै सक्दैन। मैले साढे तीन वर्ष पिएफए कलेजमा बिताएँ। म आफैँमा लडाकु स्वभाव भएको व्यक्ति हुँ। म एयर फोर्स फाइटर बन्न सकिनँ। तर पिचमा भने सधैँ अब्बल फाइटर हुँ। त्यहाँ प्रशिक्षणले मलाई मानसिक र शारीरिक रूपमा अब्बल बनायो।

चोटबाट एक वर्षपछि पुनरागमन गरेका राजा अहिले पनि उच्च लयमै छन्। जिम्बाब्वे हाल डेभ होटनको प्रशिक्षणमा खेलिरहेको छ। जसको कप्तानीमा जिम्बाब्वेले ९० को दशकमा एसोसियट राष्ट्रबाट टेस्ट राष्ट्रको मान्यता पाएको थियो। ‘डेभको पुनरागनपछि हामीलाई धेरै सहयोग पुगेको छ,’ राजाले भने, ‘उनकै प्रेरणामा टोली अहिले उच्च लयमा छ।’ जिम्बाब्वे राजा र डेभको उपस्थितिमा विगतमा गुमेको छवि फर्काउनेमा आशावादी छ।

प्रकाशित: २७ श्रावण २०७९ ०२:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App