१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

अन्तर्राष्ट्रिय विभागबाट पाँडे पदमुक्त

एन्फा विवादको गाँठो फुक्यो

तस्बिर सौजन्यः नवीन पाँडेको फेसबुक।

बैठकले नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको कार्यवाहक प्रशिक्षकमा प्रदीप हुमागाईंलाई नियुक्त गरेको छ। नेपालले असार ११ मा त्रिपरुेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्दै छ।

अन्तर्राष्ट्रिय विभाग प्रमुख नवीन पाँडेलाई पदमुक्त गर्ने निर्णयसँगै अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकको गाँठो तत्कालका लागि फुकेको छ । असार ६ गते कर्माछिरिङ शेर्पालाई पराजित गर्दै पंकजविक्रम नेम्बाङ एन्फा अध्यक्षमा निर्वाचित भएका थिए।

शपथ तथा पदभार ग्रहणलगत्तै असार ६ गते बसेको एन्फाको पहिलो कार्यसमिति बैठकले महासचिवमा किरण राई, कोषाध्यक्षमा रवीन्द्र जोशी र अन्तर्राष्ट्रिय विभाग प्रमुखमा जर्मन नागरिक पाँडेलाई नियुक्त गरेको थियो। तर महासचिव राई र कोषाध्यक्ष जोशीको नियुक्तिमा कुनै विवाद नउठे पनि पाँडेको नियुक्ति भने विवादित बनेको थियो।

नेम्बाङले भ्रष्टाचारको मुद्दामा फिफाबाट १० वर्षको प्रतिबन्धमा रहेका पूर्वअध्यक्ष गणेश थापा र पूर्वअध्यक्ष नरेन्द्र श्रेष्ठसँग चुनावी तालमेल गरेका थिए। चुनावअघि गरेको विभिन्न नियुक्तिको वाचा नेम्बाङका लागि घातक बनेको थियो। साउन दुई गतेका लागि बोलाएको कार्यसमितिको दोसो बैठक अध्यक्ष अस्वस्थ भएको भन्दै अचानक स्थगित भएको थियो।

साउन ६ मा बसेको बैठक भने एजेन्डामा प्रवेश नै नगरी स्थगित गरिएको थियो। वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालगायत कार्यसमितिका अधिकांश सदस्यले पाँडेको नियुक्ति एन्फाको विधानविपरीत भएकाले उनलाई बर्खास्त गर्नुपर्ने माग राखेपछि दोस्रो बैठक एजेन्डामा प्रवेश नै नगरी स्थगित भएको थियो। 

बैठक स्थगित भएलगत्तै खड्कासहित उपाध्यक्षद्वय विराटजङ्ग शाही र दीपक खतिवडा तथा कार्यसमिति सदस्यहरू अनिल मल्ल, भोजराज शाही, रवीन्द्र चन्द, भरत बुडथापा, टीकाराम लामा, विकासनारायण श्रेष्ठ, सरिला श्रेष्ठ, महेन्द्र क्षत्री र पुरुषोत्तम थापा गरी कुल १२ सदस्यले पाँडेलाई हटाउनुपर्ने माग राख्दै महासचिव राईसमक्ष निवेदन दिएका थिए।

त्यस्तै रमेश व्यञ्जनकारले पनि पाँडेलाई बर्खास्त गर्न माग राख्दै निवेदन बुझाएका थिए। मुख्यतया पाँडेको पदमुक्ति र भागबन्डा नलिमेकै कारण एन्फाको दोस्रो कार्यसमिति बैठक बस्न सकेको थिएन।बिहीबार एन्फा मुख्यालय सातदोबाटोमा बसेको बैठकले पाँडेलाई अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखबाट पदमुक्त गर्ने निर्णय गरेको हो।

बैठकले पारित गरेको १९ नम्बर बुँदामा अखिल नेपाल फुटबल संघका अन्तर्राष्ट्रिय विभाग प्रमुख नवीन पाँडेको जिम्मेवारी परिमार्जन गरी एन्फा अध्यक्षको प्रमुख सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको उल्लेख छ । २०७५ सालमा चेन्ज एन्फाको नारा लिएर आएका शेर्पाले पनि पाँडेलाई अन्तर्राष्ट्रिय विभाग प्रमुख नियुक्त गरेका थिए। एन्फा विधानविपरीत भएको भन्दै पाँडेको नियुक्तिको चर्काे विरोध भएपछि उनले एक वर्षपछि नै पदबाट राजीनामा दिएका थिए।

त्यस्तै बैठकले नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको कार्यवाहक प्रशिक्षकमा प्रदीप हुमागाईंलाईलाई नियुक्त गरेको छ। नेपालले असार ११ मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्दै छ। मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बिदामा रहेकाले हालका लागि हुमागाईलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी दिइएको हो। केही दिनअघि अल्मुताइरीले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि भन्दै २६ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाउन एन्फा महासचिव राईलाई इमेल पठाएका थिए।

यस्तै बैठकले एन्फाको प्रवक्तामा सुरेश शाहलाई नियुक्त गरेको छ भने मानार्थ अध्यक्षमा नरेन्द्र श्रेष्ठ र मानार्थ वरिष्ठ उपाध्यक्षमा किशोर राईलाई आगामी साधारणसभामा अनुमोदनका लागि पेस गर्ने गरी नियुक्त गरेको छ।  त्यस्तै एन्फाको विशेष साधरणसभा असोज १२ मा बस्ने भएको छ। २१ सदस्यीय एन्फा कार्यसमितिमा १९ जना मात्र निर्वाचित छन्।

चार सदस्यबीच मत बराबर भएपछि विशेष साधरणसभामाले बाँकी दुई सदस्य निर्वाचित गर्ने बताइएको थियो। यस्तै बैठकले सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोट तथा नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणको मितिसमेत घोषणा गरेको छ। जसअन्तर्गत ‘सी’ डिभिजन आसोज १ देखि ३० गतेसम्म तथा एनएसएल असोज २३ गतेदेखि मंसिर २ गतेसम्म हुनेछ।

बैठकले एनएसएलको बारेमा विगतमा गरिएको त्रुटिपूर्ण सम्झौता खारेज गरी सम्बन्धित पक्षसँग छलफल गर्न अध्यक्ष्य नेम्बाङको संयोजकत्वमा ७ सदस्यीय कमिटी गठन गरेको छ। जसमा नेम्बाङसहित उपाध्यक्ष खतिवडा र कुमार केसी तथा सदस्यमा टीकाराम लामा, मनिराज विष्ट, रवीन्द्र चन्द र पुरुषोत्तम थापा र महासचिव राई रहेका छन् ।

त्यस्तै बैठकले भदौ २१ गतेबाट असोज ३ गतेसम्म नेपालमा आयोजना हुने छैटाैं संस्करणको महिला साफ च्याम्पियनसिप २०२२ का लागि वरिष्ठ उपाध्यक्ष खड्काको संयोजकत्वमा १८ सदस्यीय मूल आयोजक कमिटी गठन गर्ने, महिला राष्ट्रिय टोलीको प्रशिक्षकमा कुमार थापा तथा टिम व्यवस्थापक विन्दा देवान र अन्य टिम अफिसियललाई अनुमोदित गने निर्णयसमेत गरेको छ। एन्फाको पदपूर्ति समितिको संयोजक भने उपाध्यक्ष शाही रहनेछन्। समितिको सदस्यमा अनिल मल्ल र मनीष जोशी तथा सदस्यसचिवमा महासचिव राई रहेका छन् ।

यस्तै बैठकले महिला साफ च्याम्पियनसिपपछि राष्ट्रिय महिला लिगको दोस्रो चरणका खेल विराटनगरमा आयोजना गर्ने, ललित स्मृति फुटबल प्रतियोगिता २०८० साल जेठ २९ गतेबाट असार १० गतेसम्म आयोजना गर्ने, पुरुष, महिला र युथ फुटबल टोलीले देशविदेशका फुटबल प्रतियोगितामा पदक जित्दा एन्फाले दिने पुरस्कार सम्बन्धमा एन्फा सचिवालयले एक मापदण्ड तयार गर्न कमिटी बनाई आवश्यक निर्णय लिने निर्णय गरेको छ।

त्यस्तै सोही बैठकले बहराइनमा हुने एएफसी कप यु–२० छनोट, श्रीलंकामा हुने यु– १९ साफ प्रतियोगिता र भियतनाममा हुने एएफसी एसियन कप यु– १७ छनोटमा भाग लिने निर्णय गरेको छ। त्यस्तै धनकुटा र सुर्खेतमा कम्युनिटी कोचिङ कोर्स सम्पन्न गर्ने निर्णय गरेको छ। साथै बैठकले सेप्टेम्बर २३ देखि २७ सम्म काठमाडौंमा लेभल १ कोर्स र फिफा एमए रेफ्री कोर्स आयोजना गर्ने निर्णयसमेत गरेको छ।  

प्रकाशित: २७ श्रावण २०७९ ०१:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App