५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

कप्तानको दुई गोलबाट जर्मनी फाइनलमा

चोटमुक्त हुँदै कप्तानी सम्हालेकी एलेक्जेन्ड र पोपले बुधबार फ्रान्सविरुद्ध दुई गोल गर्दा उनको टोली जर्मनी २-१ को नतिजासहित महिला युरो कप २०२२ को फाइनलमा प्रवेश गरेको छ। जर्मनीले अब उपाधिका लागि आयोजक इङ्ल्यान्डसँग वेम्बलीमा प्रतिस्पर्धा गर्नुपर्नेछ।

८७ हजार दर्शक उपस्थित हुने रंगशालामा जर्मनीले आयोजकको सामना गर्नुपर्ने भएको हो। उल्फसबर्गकी स्ट्राइकर पोपले यसअघिको युरो कप संस्करण गुमाउन पुगेकी थिइन् भने जारी संस्करणमा भने उनको पुनरागमन उत्कृष्ट रहेको छ। पोपले घुँडामा चोट बोकेकी थिइन्।

‘जित मेरो खेल करियरकै सबैभन्दा स्वर्णिम क्षण बनिरहेको छ। फुटबलमा अझै धेरै खुसी भएको मेरो विश्वास छ,’ महिला युरो कपअन्तर्गत लगातारका पाँच खेलमा गोल गर्दै कीर्तिमान बनाएकी पोपले भनिन्, ‘यसको अर्थ यसअघि म फुटबलमा रमाएकी थिइनँ भन्ने होइन। तर यो संस्करण विशेष रह्यो। आजको खेलमा मेरो व्यक्तिगत प्रदर्शन विशेष थियो। जसका कारण टोलीले सफलता पाएको छ। त्यसको हिस्सा बन्दा निकै खुसी महसुस भइरहेको छ।’

बुधबारको खेलमा दुई गोल गर्दै जारी महिला युरो कपमा सर्वाधिक ६ गोल गरेकी पोप गोल्डेन बुटको दाबेदार समेत बनेकी छिन् भने जर्मनीकै इन्का ग्रिन्कसले २००९ मा बनाएको कीर्तिमान तोड्ने संघारमा पनि छन्।

‘फाइनल प्रतिस्पर्धा क्लासिक हुनेछ। अविश्वसनीय फाइनल खेल हुने अपेक्षा राखिएको छ,’ जर्मनीकी प्रशिक्षक मार्टिना भोस टेक्लेनबर्गले भनिन्, ‘वेम्बलीमा हामीले करिब ९० हजार दर्शक सामना गर्नुपर्नेछ। घरेलु दर्शकले इङ्ल्यान्डको समर्थन गर्नेछन्, जुन हामीले सामना गर्नुपर्नेछ। यद्यपि हामी कुनै पनि हालतमा विचलित हुने छैनौं।’

उता पहिलो पटक सेमिफाइनल प्रवेश गरेको फ्रान्सेली टोलीकी प्रशिक्षक कोरिन डियार्कले भनिन्, ‘हामीले उपलब्ध गराएका केही सुन्दर मौका गुमाउन पुग्यौं। अपेक्षा अनुसार हामीले प्रदर्शन गर्न सकेनौं। यद्यपि नयाँ खुड्किलोमा पुग्यौं। अनुभव राम्रो भयो।’

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा जर्मनीले पहिलो हाफबाटै दबाब दिएर खेले पनि गोलका लागि ४०औं मिनेट कुर्नुपरेको थियो। पोपले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएकी थिइन्। त्यसको चार मिनेटपछि जर्मनीले उपहार गोल सुम्पियो। पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफमा पनि जर्मनीले फ्रान्सलाई दबाबमा राख्यो।

सोही क्रममा ७६औं मिनेटमा पोपले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाएको नतिजा नै निर्णायक बन्यो र जर्मनीले इङ्ल्यान्डसँगको उपाधि भिडन्त पक्का गरेको हो। पछि परेसँगै खेलमा फर्किन निकै प्रयास गरेको फ्रान्सले केही अवसर गुमाउन पुगेको थियो।

सर्वाधिक ८ पटकको युरो कप च्याम्पियन जर्मनी नवौं पटक फाइनलमा प्रवेश गरेको छ। उता तेस्रो पटक फाइनल प्रवेश गरेको इङ्ल्यान्डले अहिलेसम्म उपाधि उचाल्न सकेको छैन।

यससँगै सर्वाधिक ८ पटकको युरो कप च्याम्पियन जर्मनी नवौं पटक फाइनलमा प्रवेश गरेको छ। उता तेस्रो पटक फाइनल प्रवेश गरेको इङ्ल्यान्डले अहिलेसम्म उपाधि उचाल्न सकेको छैन। १९८४ को पहिलो संस्करणको युरो कपको फाइनल प्रवेश गर्दा इङ्ल्यान्ड स्विडेनसँग पराजित भएको थियो भने २००९ मा जर्मनीसँग ६-२ ले पराजित हुँदै दोस्रो पटक उपविजेतामा खुम्चिनुपरेको थियो। तर यो संस्करणमा इङ्ल्यान्ड पुरानो बदला लिने लक्ष्यमा हुनेछ भने जर्मनी उपाधि उचाल्ने लयलाई निरन्तरता दिन चाहन्छ।

प्रकाशित: १३ श्रावण २०७९ ०३:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App