२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

रोनाल्डोलाई छोड्न चाहँदैन युनाइटेड

पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो आफ्नो भविष्यबारे छलफल गर्न मंगलबार वर्ल्ड ट्राफोर्ड पुगेका छन्।

३७ वर्षीय पोर्चुगलका फरवार्ड रोनाल्डो आफू क्लब छाड्न चाहिरहेका छन्। व्यवस्थापक एरिक टेन हागसँग छलफल गर्न क्लबमा पुगेका हुन्। यसै सिजनको खेलाडी सरुवा बजारबाट उनी बिदाइ हुन चाहन्छन्। यही कारण उनले प्रि–सिजन अन्तर्गत थाइल्यान्ड र अस्ट्रेलियाको भ्रमण गरेका थिएनन्। रोनाल्डो आफ्नो करिअरको बारेमा चिन्तित छन्। यसै कारण प्रशिक्षक एरिक टेन हागसँग कुराकानी गर्ने भएका हुन्।

रोनाल्डोले क्लब छाड्ने मनसायमा भए पनि प्रशिक्षक हागले भने रोनाल्डो बिक्रीका लागि नभएको बताउँदै आएका छन्। तर रोनाल्डो क्लबमा सन्तुष्ट नरहेको समाचार बाहिरिरहेको थियो।

‘हामीले सिजनभर रोनाल्डोलाई टोलीमा राख्न चाहन्छौं। यो नै हाम्रो निर्णय हो। म उनीसँग काम गर्ने योजना बनाइरहेको छु,’ युनाइटेडका प्रशिक्षक टेन हागले भने, ‘मैले विभिन्न सञ्चार माध्यममा पढें। तर मैले रोनाल्डो कुनै पनि हालतमा बिक्री हुँदैनन् भनिरहेको छु। हामी उनलाई समावेश गरेर योजना बनाइरहेका छौं, जुन हामी सफल पार्न चाहन्छौं।’

स्पेनिस क्लब रियाल मड्रिडअघि पनि युनाइटेडबाट व्यावसायिक फुटबल खेलिसकेका रोनाल्डो युभेन्ट्समा खेलेर फेरि युनाइटेड फर्किएका थिए। उनको सम्झौता अझै एक वर्ष बाँकी छ। प्रि-सिजनका लागि युनाइटेड भ्रमणमा निस्किँदा टोलीमा रोनाल्डोको अनुपस्थितिले उनी असन्तुष्ट रहेको प्रस्ट्याएको छ। रोनाल्डोले युनाइटेडमा नभई पोर्चुगलको राष्ट्रिय टोलीको हेडक्वार्टरमा प्रशिक्षण गरिरहेका थिए। मंगलबार मात्र युनाईटेड आएका हुन।

अस्ट्रेलिया भ्रमणमा निस्किनुअघि हागले रोनाल्डोसँग कुराकानी भएको बताएका थिए। तर युनाइटेड च्याम्पियन्स लिगको आगामी सिजनमा छनोट नभएपछि रोनाल्डो निराश भएका छन्। पाँच पटकका बालन डि’अर विजेता रोनाल्डोले युनाइटेड छाड्ने मनस्थिति बनाएको चर्चा चलेसँगै चेल्सी, बायर्न म्युनिख र एथलेटिको मड्रिडले चासो देखाएका थिए। एक वर्षअगाडि युनाइटेडमा फर्किएका रोनाल्डो क्लबका सर्वाधिक गोलकर्ता हुन्।

त्यस्तै प्रिमियर लिगमा पनि उनी सर्वाधिक गोलकर्ताको तेस्रो नम्बरमा अटाएका छन्। तर पछिल्लो समय रोनाल्डोलाई किन्न कुनै क्लबले चासो देखाएका छैनन्। उनलाई किन्न चाहने पनि फुटबल क्लब बजारमा पाइएको छैन। रोनाल्डोको खेलकरियर सफल रहे पनि अब दबदबाको पारो घट्ने क्रममा छ।

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एरिक टेन हागले नयाँ सिजनका लागि बलियो टोली बनाउने तयारी गरिरहेका छन्। यसै कारण उनले बारम्बार दोहोर्‍याएर रोनाल्डो बिक्रीमा छैनन् भनिरहेका छन्।  

तर म्यानचेस्टरभित्र नै त्यस्तो समूह बलियो छ, जसले रोनाल्डोको बहिगर्मन चाहन्छ। किनकि नयाँ खेलाडीको संयोजन रहेको टोलीमा पाका खेलाडीसँगको तालमेल अपेक्षा अनुसारको नहुने मान्छन्। व्यवस्थापक टेन हागले आयाक्स बनाएजस्तै म्यानचेस्टर बनाउन चाहन्छन्।

रोनाल्डोको पुनरागमनपछि म्यानचेस्टरले आफ्नो खेल्ने शैली परिवर्तन गरेको थियो। उक्त शैलीले रोनाल्डोलाई व्यक्तिगत रूपमा केही फाइदा गरे पनि समग्र टोलीलाई फाइदा गर्न सकेन। युनाइटेड सम्पन्न भइसकेको पछिल्लो सिजनमा शीर्ष चारमा पनि परेन।

असन्तुष्ट रोनाल्डो युनाइटेड बसाइ टुङ्ग्याउने मनसायमा रहे पनि स्पेनिस क्लब रियाल मड्रिड फर्काइने सम्भावना पनि निकै कम छ। २००९ देखि २०१८ सम्म रियालबाट खेलेका रोनाल्डोको बहिर्गमनपछि करिम बेन्जिमाको उत्कृष्ट खेलबाट रियाल अहिले लयमा छ। उनकै प्रदर्शन प्रेरित खेलबाट रियालले पछिल्लो सिजन घरेलु ला लिगा र युरोपेली च्याम्पियन्स लिगको उपाधि जित्न सफल भयो। प्रिमियर लिगको नयाँ सिजनमा युनाइटेडले अगस्ट ७ तारिखमा ब्राइटनसँग खेल्दै सुरुआत गर्नेछ। 

प्रकाशित: ११ श्रावण २०७९ ०३:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App