४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

सबैको पहलमा श्रीलंकाको कमनवेल्थ सहभागिता सम्भव

श्रीलंकाका ब्याडमिन्टन च्याम्पियन निलुका करुणारत्ने आगामी साताबाट इङल्यान्डमा सुरु हुने कमनवेल्थ गेम्समा सहभागी हुन जाँदै छन्। कमनवेल्थ गेम्सबाटै उनले खेल जीवनको सुरुआत गरेका थिए। देश चरम आर्थिक संकटमा फसेको बेला अन्तर्राष्ट्रिय जगत्मा प्रतिस्पर्धा गर्नु सहज भने पक्कै होइन।

प्रतियोगिताका आयोजक र श्रीलंका क्रिकेट बोर्डले आर्थिक सहायता जम्मा गरेसँगै श्रीलंकाका खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी कुल १ सय १४ सदस्यीय टोली अबको केही दिनमै बर्मिङ्घम पुग्नेछ।

श्रीलंकामा परेको आर्थिक संकटका कारण स्थानीय खेलसंस्था पनि नराम्ररी फसेका छन्। खेलाडीमा आर्थिक संकटकै कारण प्रतियोगिता खेल्न पाउँछु वा पाउँदिनँ भन्ने दुबिधा परिसकेको थियो। ‘खेलकुद नै हाम्रो जीवन हो र अहिलेको स्थितिले हामी सबैलाई ज्यादै निराश पारेको छ,’ तीन पटकका ओलम्पियन करुणारत्नेले भने। उनले सन् २००२ मा म्यानचेस्टरमा सम्पन्न प्रतियोगितासँगै कमनवेल्थ गेम्समा डेब्यु गरेका थिए। ‘हामीले आफूलाई केही हदसम्म भाग्यमानी नै सम्झनुपर्छ। खेलकुद मन्त्रालयले समन्वय गरिरहेको छ। क्रिकेट संघले पनि सक्दो आर्थिक सहायता उपलब्ध गराएको छ,’ उनले अगाडि थपे।

श्रीलंका महिनौंबाट आर्थिक संकटमा फसेको छ। खाद्यान्न अभाव र पेट्रोलियम पदार्थको संकटले पनि त्यहाँका नागरिकको दैनिकी कष्टकर बनाइरहेको छ। श्रीलंका आफ्नो इतिहासकै सबैभन्दा कठिन क्षणमा छ। गत साता सरकारविरुद्धको आन्दोलनले उग्र रूप लिने क्रममा त्यहाँका जनताले राष्ट्रपति र प्रधानमन्त्री भवनमा प्रवेश गर्दै कब्जा गरेको घोषणा गरेका थिए। उनीहरूले राष्ट्रिय प्रसारण केन्द्र पनि आफ्नो नियन्त्रणमा लिएका थिए।

बुधबार नयाँ राष्ट्रपति र बिहीबार नयाँ प्रधानमन्त्रीको टुङ्गो लागेसँगै त्यहाँको सरकारविरोधी आन्दोलन मत्थर हुने अनुमान गरिए पनि अन्दोलन झन् चर्कदै गएको छ।

कोभिड १९ महामारीकै कारण धेरै खेलसंस्था र खेलाडीले प्रायोजकसमेत गुमाएका थिए। अब पुनः प्रायोजक खोज्न निकै कठिन छ। श्रीलंकाका खेलकुद संघ आफ्ना खेलाडीलाई आवश्यक पोसाक र प्लेन टिकट समेत उपलब्ध गराउन असमर्थ छन्। श्रीलंकाका सेफ दी मिसन दाम्पत फर्नान्डो भने सबैको पहलमा प्रतियोगिताको सहभागिता सम्भव भएको बताउँछन्।

‘खेलकुदले नै हो, सबलाई एकताको भावनामा जोड्ने र राष्ट्रिय गौरव बढाउने,’ फर्नान्डोले भने, ‘हामी पनि अन्य राष्ट्रजस्तो बिनाकुनै समस्या प्रतियोगितामा भाग लिन चाहन्छौं। हामी विश्व जगत्मा हाम्रो झन्डा फहराउन चाहन्छौं। आशा छ, प्रतियोगितामा उत्कृष्ट प्रदर्शनका साथ हामीले सबै श्रीलंकाली नागरिकको मुहारमा मुस्कान फर्काउने छौं।

कमवेल्थका आयोजकले श्रीलंकाको आर्थिक संकटबारे जानकार रहेकाले उनीहरूको भ्रमण र बसोबासमा विशेष सहुलियत दिने जनाएको छ। सन् २०१८ मा श्रीलंकाले कमनवेल्थ गेम्समा एक रजत र पाँच कांस्य पदक जितेको थियो। श्रीलंका सो प्रदर्शनमा सुधार चाहन्छ।

‘हाम्रो राष्ट्रले चरम आर्थिक संकट व्यहोरेको यो पहिलो पटक हो,’ फर्नान्डोले भने, ‘अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन पाउँदा खेलाडीको मनोबल बढेको छ। उनीहरूको सपना साकार भएको छ। आर्थिक संकटबाट गुज्रिरहेका छौं भन्दैमा खेलाडीलाई प्रतियोगितामा भाग लिनबाट बन्देज लगाउन सकिँदैन।’

प्रकाशित: ७ श्रावण २०७९ ००:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App