७ वैशाख २०८१ शुक्रबार
खेल

चोटले लिभरपुललाई चिन्ता

लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले शुक्रबार क्रिस्टल प्यालेसविरुद्ध २-० को जित निकालेको खेलमा एलेक्स अक्सलेड चेम्बरलिनको चोटले चिन्तित बनाएको बताएका छन्।

जोर्डन हेन्डरसन र मोहम्मद सलाहको गोलमा लिभरपुलले सिंगापुरको नेसनल स्टेडियममा सुखद नतिजा निकालेको थियो। प्रिसिजनको पछिल्लो खेलमा म्यानचेस्टर युनाइटेडसँग ४-० ले स्तब्ध हुँदा लिभरपुलको आगामी सिजनबारे भने अनेकौं चर्चा सुरु भयो। तर, सिजनको सुरुआतअघि नै टोलीका प्रमुख खेलाडी घाइते भएपछि लिभरपुलमाथि चिन्ता बढेको छ। चोटकै कारण गोलकिपर एलिसन र स्ट्राइकर जोटा मैदान बाहिर छन्।

मध्यान्तरअघि चेम्बर लिन ह्यामस्ट्रिङको समस्याका कारण मैदानबाट बाहिरिन पुगे। ‘प्रिसिजनको सुरुआतबाटै उनी उत्कृष्ट लयमा छन्। त्यसैले उनको चोटले टोली निराश बनेको छ,’क्लोपले भने, ‘हामीलाई सिजनको सुरुआतमै खेलाडीको चोटले चिन्तामा पारेको छ।’ गत साता युनाइटेडसँग फराकिलो हार बेहोरेको खेलको तुलनामा प्यालेसविरुद्ध आफ्नो टोलीले उत्कृष्ट खेलेको क्लोपको भनाइ छ। १२औं मिनेटमा हार्भे इलियोटको पासमा हेन्डरसनले गोल गर्दै लिभर पुललाई अग्रता दिलाएका थिए। 

दोस्रो हाफमा लिभरपुलले पहिलो हाफमा उतारेको ११ जना खेलाडी परिवर्तन गर्दै दोस्रो टोली मैदान पठायो। दोस्रो हाफको सुरुआतमै सलाहले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे। लिभरपुलले अभ्यासका लागि जर्मनी र अस्ट्रेलियाको भ्रमण गर्नेछ। प्यालेसले भने आगामी साता अस्ट्रेलियामा म्यानचेस्टर युनाइटेड र लिड्ससँग खेल्दै छ।

प्रकाशित: १ श्रावण २०७९ ०१:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App