१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

जोकोभिच सेमिफाइनलमा

यानिक सिनरमाथि पुनरागमन जितसहित ११औं पटक विम्बल्डनको सेमिफाइनलमा स्थान बनाएसँगै साबिक विजेता नोभाक जोकोभिचले आफ्नो क्षमतामा कहिल्यै शंका नगरेको प्रतिक्रिया दिएका छन्।

विश्व नम्बर एक जोकोभिचले मंगलबार क्वार्टरफाइनलमा सिनरमाथि ५-७,२-६,६-३,६-२,६-२ को जित निकाले। उनले सेमिफाइनलमा ब्रिटेनका क्यामरुन नोरीको सामना गर्नेछन्। फाइनल खेल आइतबार हुनेछ।

जोकोभिचले दुई सेटले पछि परे पनि पुनरागमन जित निकालेको यो सातौं खेल हो।

‘मलाई मेरो क्षमतामा कहिल्यै दुबिधा थिएन र हुने पनि छैन,’ ६ पटकका विम्बल्डन विजेता जोकोभिचले भने, ‘म सिनरसँग दुई सेटले पछि परे पनि पुनरागमन गर्न सक्छु भन्नेमा विश्वस्त थिएँ। मैले धेरै पटक यस्तो स्थिति पार गरेको छु। एउटा क्षणमा लय भेट्टाएपछि खेलमा फर्कन सहज हुन्छ। मैले तेस्रो सेटमा उत्कृष्ट सुरुआत गरें। त्यो नै यो खेलको टर्निङ प्वाइन्ट बन्यो। म सफल भएँ।’

सन् २०२१ को फ्रेन्च ओपनको चौथो चरणमा लोरेन्जो मुसेट्टीमाथि पनि जोकोभिचले दुई सेट गुमाए पनि पुनरागमन गर्न सफल भएका थिए। जोकोभिचले पाँचौं सेटसम्म खेलेको यो ४७औं खेल थियो भने सिनरको पाँचौं खेल थियो।

‘मलाई सिनर सहज प्रतिद्वन्द्वी होइनन् र उनी खेलमा हाबी हुन्छन् भन्ने थाहा थियो,’ जोकोभिचले भने, ‘दुई सेट जिते पनि तेस्रो सेटमा उनी लयमा देखिएनन्। जसले गर्दा मलाई सहज भयो। तेस्रो सेट गुमाएसँगै उनी मानसिक दबाबमा परें, जसको प्रत्यक्ष फाइदा उठाउन म सफल भएँ।’ जोकोभिच २१औं ग्रान्ड स्लामको खोजीमा छन्।

जोकोभिच र रोजर फेडेररको नाममा समान २० ग्रान्ड स्लाम छ। राफाइल नाडालको नाममा २२औं ग्रान्ड स्लामको कीर्तिमान रहेको छ। जोकोभिच सातौं पटक विम्बल्डन जित्दै पिट साम्प्रासको नाममा रहेको कीर्तिमानसँग बराबरी गर्न चाहन्छन्। रोजर फेडेररले सर्वाधिक आठ पटक विम्बल्डन जितेका छन्।

‘पहिलो सेटको सुरुआतबाटै मैले स्वाभाविक लयअनुसारको खेल्न सकिनँ,’ जोकोभिचले भने, ‘जसले गर्दा सिनरले बलियो पकड बनाउन सफल भएँ। ग्रान्ड स्लाम पाँच सेटसम्म खेलिने भएकाले मात्र म खेलमा फर्कन सफल भएँ। म खेल पूर्ण रूपमा नियन्त्रणमा लिन सफल भएँ।’

 नोरी भने पहिलो पटक ग्रान्ड स्लामको सेमिफाइनलमा प्रवेश गरेका हुन्। नोरीले ५८औं वरीयताकी डेविड गुफिनलाई ३-६,७-५,२-६,६-३, ७-४ को जित निकाले। नोरी सन् २०१६ मा एन्डी मरेपछि विम्बल्डनको सेमिफाइनल प्रवेश गर्ने पहिलो बेलायती खेलाडी हुन्। नोरीले आफू जोकोभिचको चुनौतीको सामना गर्न तयार रहेको बताएका छन्।

प्रकाशित: २३ असार २०७९ ०३:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App