९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
खेल

राडुकानुको यात्रा रोकियो

घरेलु समर्थकमाझ इमा राडुकानु विम्बल्डन यात्रालाई अघि बढाउन चाहन्थिन्। तर बुधबार क्यारोलिन गार्सियासँग ६–३,६–३ को सोझो सेटमा पराजित भएसँगै राडुकानुको यस वर्षको विम्बल्डन यात्रामा पूर्णविराम लाग्यो।

विम्बल्डन यात्रा दोस्रो चरणमा सीमित भए पनि राडुकानुले भने आफूले कुनेै दबाब महसुस नगरेको र प्रतियोगितामा आफूले धेरै अपेक्षा नराखेको प्रतिक्रिया दिएकी छिन्। साथै उनले गार्सियासँगको हारले निराश नभएको बताएकी छिन्। गत वर्ष युएस ओपनको उपाधि जितेकी राडुकानु त्यसयता कुनै पनि ग्रान्ड स्लामको दोस्रो चरणभन्दा अघि बढ्न सकेकी छैनन्।

गत वर्ष युएस ओपनको उपाधि जितेकी राडुकानु त्यसयता कुनै पनि ग्रान्ड स्लामको दोस्रो चरणभन्दा अघि बढ्न सकेकी छैनन्।

‘ममाथि कुनै दबाब छैन। मैले दबाब किन लिने? म भर्खरै १९ वर्षकी भएँ। मैले अहिले खेलेका सबै खेल नै मेरो लागि आफैंमा ठूलो उपलब्धि हो,’ इमाले भनिन्, ‘मैले हारबाट निराश हुनुभन्दा पनि यसलाई गतिलो पाठका रूपमा लिएकी छु। मैले यसअघि वर्षको पहिलो ग्रान्ड स्लामको रूपमा युएस ओपन जितिसकेकी छु। ममाथि धेरैले ध्यान केन्द्रित गरेका छन्। मबाट घरेलु समर्थकले ठूलो आशा राखेका थिए र यो स्वाभाविक पनि हो। तर म ग्रान्ड स्लाम च्याम्पियन हुँ। त्यो मबाट कसैले छिनेर लैजान सक्दैन। जसले ग्रान्ड स्लाम जितेका छैनन् उनीहरूमाथि दबाब थपिएको हुनुपर्छ।’

१०औं वरियताकी राडुकानु हालै मात्र चोटमुक्त हुँदै कोर्टमा फर्किएकी थिइन्। उनले दुई साताअघि चोटकै कारण नटिङ्घम ओपन छोडेकी थिइन्। उनले आफूले महिनामा सात घण्टा मात्र टेनिस कोर्टमा बिताएकाले गार्सियासँगको नतिजापछि नआत्तिएको बताइन्। ‘यो स्तरमा अनुभवी खेलाडीसँग प्रतिस्पर्धा गर्न पाउनु नै ठूलो उपलब्धि हो,’ इमाले भनिन्।

राडुकानुले पहिलो चर णमा एलिसन भानमाथि ६–४, ६–४ को जित निकालेकी थिइन्। गार्सियाले दुई साताअघि मात्र जर्मनीमा बाड होमबर्गको उपाधि जितेकी थिइन्। उनको यो लगातार आठौं जित हो। पछिल्लो तीन वर्षमा उनले जितेको यो पहिलो उपाधि हो।

‘मैले आज स्वाभाविक लय भेट्टाउन धेरै संघर्ष गरें,’ राडुकानुले भनिन्, ‘तर  मैले प्रतियोगिताबाट धेरै अपेक्षा नराखेकाले नतिजाबाट पनि म निराश छैन। सेन्टर कोर्टमा खेल्न पाउनु नै ठूलो अवसर हो र मैले यसलाई सकारात्मक रूपमा लिएको छु। मैले यहाँ बटुलेका अनुभव आगामी दिनमा उपयोगी हुनेछ।’ उनी अस्ट्रेलियन र फ्रेन्च ओपनको पनि दोस्रो चरणबाट बाहिरिएकी थिइन्।

प्रकाशित: १७ असार २०७९ ०२:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App