२ असार २०८१ आइतबार
image/svg+xml
खेल

विश्वकप खेलाउन विश्वस्त महिला रेफ्री

जापानी रेफ्री योसिमी यामासिता दशक पहिले पेले वा अन्य जोकोहीले फुटबललाई सुन्दर खेलका रूपमा वर्णन गरेका बारे सहमति जनाउने गर्छिन्। योसिमी आगामी नोभेम्बर १२ देखि हुने कतार विश्वकपका लागि छनोट भएका तीन महिला रेफ्रीमध्ये एक हुन्।

फुटबल विश्वकपको इतिहासमा पहिलोपटक महिला रेफ्रीले उक्त जिम्मेवारी पाउँदै छन्। ‘जसरी हुनुपर्थ्यो त्यसैगरी यस खेललाई ख्याती कमाउन दिनुपर्छ। एउटा रेफ्रीको रूपमा मेरो लक्ष्य भनेको फुटबलका आकर्षणलाई बाहिर ल्याउनु पनि हो,’ टोकियोमा भएको पत्रकार सम्मेलनका क्रममा योसिमी यामासिताले भनिन्, ‘त्यो समय (विश्वकप) मैले गर्नुपर्ने काम गर्छु। यदि खेलाडीसँग कुराकानी गर्नुपर्दछ भने त्यो पनि गर्नेछु। रातो कार्ड आवश्यक परे त्यो पनि देखाउनेछु। फुटबलमा धेरै नियन्त्रण गर्नुभन्दा पनि फुटबलबाट सबैभन्दा राम्रो पक्ष के बाहिर ल्याउन सकिन्छ त्यो गर्ने लक्ष्य छ।’

उनीसँगै फ्रान्सकी स्टेफानी फ्रापर्ट र रुवान्डाकी सलिमा मुकानसंगा आगामी विश्वकपका लागि सहभागी तीन रेफ्री हुन्। यस पटकको विश्वकपमा कुल ३६ फिफा रेफ्री सहभागी हुँदै छन्। ६९ जना एसिस्टेन्ट फिफा रेफ्रीमध्ये तीन महिला छन्। ब्राजिलकी नेउजा ब्याक, मेक्सिकोकी कारेन डियाज र अमेरिकाकी क्याथरिन नेसबिट तीन जना एसिस्टेन्ट फिफा रेफ्री हुन्, जसले विश्व फुटबलकै सबैभन्दा ठूलो सफलता पाउँदै छन्। यद्यपि, यी तीन जनालाई खेलको जिम्मेवारी दिने सम्भावना कम छ। उनीहरूलाई ‘फोर्थ अफिसियल’ का रूपमा राखेर पाखा लगाउन सम्भावना प्रबल छ।

‘हरेक म्याच अफिसियलबारे आगामी महिना राम्रोसँग विश्लेषण हुन्छ। विश्वकपअगाडि हुने अन्तिम चरणको मूल्यांकनमा उनीहरूका (रेफ्री) बारे प्राविधिक, शारीरिक र स्वास्थ्य अवस्थाबारे विश्लेषण हुनेछ,’ फिफाको रेफ्री डाइरेक्टर मासिमो बुसकाले विज्ञप्तिमार्फत भने।

जापानको महिला रेफ्रीलाई छनोट गर्नुको निर्णयपछाडि त्यहाँको सरकारको महिला आरक्षणप्रतिको उदासीनताको कारण हो। जापानको राष्ट्रिय विधायकमा जम्मा १४.३ प्रतिशत महिला मात्र समावेश छन्, जुन महिला आरक्षण दिने १ सय ९० राष्ट्रमध्ये जापान १ सय ५२औं स्थानमा रहेको छ।

अमेरिकाको एक अध्ययनले केही महिनाअगाडि मात्र निकालेको महिला आरक्षणसम्बन्धी सर्वेक्षणमा उक्त तथ्य खुलेको थियो। तलबमा लैंगिक विभेद हुने देशमध्ये जापानमा पनि एक हो र एक सय ५६ देशको सर्वेक्षणमा जापान एक सय २०औं स्थानमा छ। ‘महिलाहरूलाई खेलकुदमा यो खालको महत्त्वपूर्ण जिम्मेवारी दिनु निकै सुखद पक्ष हो। खेलकुद र त्यसमा पनि फुटबलले यसको नेतृत्व गर्‍यो भने परिवर्तन आउन सक्छ,’ योसिमी यामासिताले भनिन्, ‘जापानको फुटबलमा मेरो यात्रा धेरै रहनेछ भन्ने आशा गरेकी छु। जसरी आज महिलालाई फरक तवरबाट प्रवर्धन गरियो यो निकै उत्कृष्ट काम हो। फुटबल मात्र होइन अन्य खेलले पनि यसको अनुसरण गर्नुपर्छ।’

जापानको फुटबलले विश्वमा नै विशेष स्थान बनाइसकेको छ। सन् २०११ को महिला विश्वकप जितेको जापान सन् २०१५ को उपविजेता पनि हो। यामासिताले सोमबार टोकियोबाहिर ३५ डिग्री सेल्सियस तापक्रममा अभ्यास गरेकी थिइन्। कतारमा काम गर्नुपर्ने भएकाले आफूले त्यस किसिमको तापक्रममा अभ्यास गरेको उनको भनाइ छ।

पत्रकार सम्मेलनमा निकै हँसिलो मुद्रामा देखिएकी उनले जापानको पुरुष जे लिगमा समेत रेफ्रीको भूमिका निर्वाह गरिसेकेकी छन्। पुरुषकै एसियन च्याम्पियन्स लिगमा पनि उनको सहभागिता रहेको थियो। गत वर्षको टोकियो ओलम्पिकमा समेत उनी सहभागी थिइन्। ‘पक्कै पनि दबाब सबैलाई हुन्छ,’ उनले भनिन्, ‘किनकि मसँग धेरै जिम्मेवारी हुन्छन्। तर, म त्यो दबाब र जिम्मेवारी सहजतापूर्वक वहन गर्न तयार छु। यसलाई सकारात्मक र खुसी साथ निर्वाह गर्नेछु। विश्वकप मैदान प्रवेश गरेपछि जुन उत्साह हुनेछ त्यो बयान गर्न नै सकिँदैन।  तथापि, मलाई लाग्छ हाम्रा लागि धेरै हुटिङ हुनेछन्।’

गतिका हिसाबले महिलाको भन्दा पुरुष विश्वकप फरक हुने उनको भनाइ छ। ‘खेलाडीभन्दा पनि गतिका हिसाबले महिला र पुरुषको विश्वकप फरक हुन्छन्,’ उनले भनिन्,‘त्यो बलको गतिले होइन। त्यसैले मैले उनीहरूभन्दा छिटो निर्णय लिन सक्नुपर्छ। जब मैले खेलाडीलाई कार्ड दिनेछु, त्यस समय केही पनि भन्दिनँ। तर, चेतावनी दिनुपर्दा भने इङ्लिसमा म खुसी छैन भन्नेछु। पक्कै पनि उनीहरूले सहजै बुझ्नेछन्।’  

प्रकाशित: १६ असार २०७९ ०४:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App