२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

जिल्ला खेलकुद बिकास समितिमा तालाबन्दी

खेल क्षेत्रमा चरम लापरबाही र आर्थिक हिनामिना गरेको भन्दै स्थानीय खेलाडीहरुले जिल्ला खेलकुद बिकास समितिको कार्यालयमा तालाबन्दी गरेका छन्। संघर्ष समिति बनाएका उनीहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र समेत बुझाएका हुन्। 

‘कर्मचारीको लापरबाही छ। १० देखि ५ बजेसम्म त परै जावस महिनामा एकदुई पटक मात्र कार्यालयमा आएर पुरै दिनको हाजिर गर्छन्।’ संघर्ष समितिका संयोजक तथा तेक्वान्दो खेलाडी लोकेन्द्र सेनले भने, ‘कर्मचारीले आजसम्म कुनै दिन बिदा लेखेको देखिदैन तर कार्यालयमा सिफारीस लिन आउदा कहिल्यै कर्मचारी भेटिदैनन्। बर्षौदेखि हालसम्म तेक्वान्दोको बेल्ट ग्रेडिङको पैसा कतै जम्मा भएको देखिँदैन। चरम आर्थिक अनियमितता पनि छ।’  

‘आर्थिक पारदर्शिता भएन। कर्मचारी नियमित कार्यालयमा बस्नु पर्यो।’ सेन भन्छन्, ‘सरकारी कर्मचारीले मात्र सिकाउन पाउछ भन्दै तेक्वान्दोका खेलाडीलाई हलबाट बाहिर निकालिएको छ। बिभिन्न प्रतियोगीताहरुमा प्रतिस्पर्धा नगराएर आफ्ना मान्छे सहभागी गराउछन्। राष्ट्रपती रनिङ सिल्ड यहि २३, २४ र २५ दाङमा आयोजना हुदै छ तर कर्मचारीहरु आफ्ना मान्छे लैजाने तयारीमा छन्।’ 

जिल्ला खेलकुद बिकास समितिका प्रशिक्षकहरुले कहिल्यै कुनै खेल सिकाउने नगरेको उनीहरुको आरोप छ। खेलाडीहरुले ८ बुदे मागसहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका हुन्। संस्थागत रुपमै तालाबन्दी गरेका उनिहरुले समयमै माग सुनुवाई नभएमा थप आन्दोलन गर्ने चेतावनी दिएका छन्।

जिल्ला भलिबल संघ अध्यक्ष–हिमाल डाँगी, जिल्ला टेवल टेनिस संघ अध्यक्ष–याम बहादुर गुरुङ,जिल्ला क्रिकेट संघ अध्यक्ष–ओम केसी, जिल्ला व्याडमिन्टन संघ अध्यक्ष–बेगम कुमार हमाल,जिल्ला कराँते संघ अध्यक्ष–मोलङ घर्तीमगर, रोल्पा जिल्ला तेक्वान्दो संघ अध्यक्ष–हेमन्त खत्री, जिल्ला फुटवल संघ सचिब–पृथ्वी डाँगी र जिल्ला कवर्डी संघ अध्यक्ष–महेश परियार समेतको सहमतीमा लोकेन्द्र सेनलाई संयोजक बनाई आन्दोलनको सुरुवात गरिएको हो।

‘हिजो ताला लगाएका छन्। तेक्वान्दोको अलि बिबाद थियो।’ जिल्ला खेलकुद बिकास समितिका प्रमुख कैलाश रोका भन्छन्, ‘संयोगवश कार्यालयमा अस्तीको दिन कोहि रहेनछन्। कर्मचारीले एकै पटक हाजीर गर्छन भन्ने आरोप मात्र हो। राष्ट्रपती रनिङ शिल्डकै गोष्ठीबाट म नआउदै कार्यालयमा ताला लगाएका छन्। खेलाडी छनौट गाउँपालिकाले पहिले सक्नुपर्ने हो तर भएको छैन।’ उनका अनुसार असार ७ गते प्रदेशले जिल्लालाई रनिङ सिल्डको लागि पत्र लेखेको छ। ‘असार २० मा छनौट सक्नु भनेर पत्र आएको छ। यस्तो वातावरण छ। सबै पालिकामा छनौट नहुन सक्छ।’ उनले खेलाडीहरुले आरोप मात्र लगाएको बताए। रोल्पाको जिल्ला खेलकुद बिकास समितिका बारेमा पटक पटक खेलाडीहरुको बिरोध हुने गरेको छ।

प्रकाशित: १३ असार २०७९ १०:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App