२४ असार २०८१ सोमबार
image/svg+xml
खेल

एन्फा अध्यक्षमा रोचक भिडन्त

वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को सोमबार हुने २१ औं साधरणसभाले आगामी चार वर्षका लागि नेतृत्व चयन गर्दै छ।

वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङलाई अध्यक्षको प्रमुख प्रत्यासीका रूपमा हेरिएको छ। यद्यपि, राजीव पौडेलले पनि स्वतन्त्र रूपमा सो पदमा उम्मेद्वारी दिएका छन्। चार वर्षअघि ‘चेन्ज एन्फा’ को नारासहित शेर्पा प्यानल नेतृत्वमा आउँदा नेम्वाङ सोही समूहकै बलियो सारथी थिए।

विसं २०७० सालमा उपाध्यक्ष रहेका शेर्पा तत्कालीन अध्यक्ष गणेश थापाविरुद्ध ‘चेन्ज एन्फा’ को नारासहित आन्दोलनमा होमिँदा देखिकै सारथी हुन्, नेम्वाङ। तर, उनै नेम्वाङ यस पटक शेर्पाको चुनौती बनेका छन्।

विसं २०७२ सालमा एन्फा अध्यक्ष थापा भ्रष्टाचारको मुद्दामा फिफाबाट १० वर्षको प्रतिबन्धमा परेपछि ललितकृष्ण श्रेष्ठले कार्यवहाक अध्यक्षको जिम्मेवारी पाएका थिए। श्रेष्ठको निधनपछि नरेन्द्र श्रेष्ठ र शेर्पा अध्यक्ष पदका लागि चुनावी मैदानमा उत्रिए। जहाँ श्रेष्ठले चुनाव जिते। शेर्पाले त्यसपछि पनि चेन्ज एन्फाको नारासहित आन्दोलन जारी राखे।

०७४ सालमा उनको प्यानल नै एन्फा नेतृत्वमा विजयी भयो। चार वर्षपछि भने अवस्था फरक छ। शेर्पा र नेम्वाङ आआफ्नै प्यानल बनाएरै एक अर्काविरुद्ध चुनावी मैदानमा होमिएका छन्। शेर्पा नेतृत्वको कार्यसमितिको पहिलो बैठकले नै नेम्वाङलाई वरिष्ठ उपाध्यक्षमा मनोनित गरेको थियो।

सो कार्यसमितीमा उपाध्यक्ष रहेका उपेन्द्रमान सिंह र मानार्थ उपाध्यक्ष शिक्षित पराजुली पनि यसपटक शेर्पा प्यानलमै छन्। पराजुली वरिष्ठ उपाध्यक्षका दाबेदार हुन्। सिंहले भने सोही पदमा दोहोरिने चाहना राखे। अघिल्लो कार्यकालमा उपाध्यक्ष रहेका वीरबहादुर खड्का भने नेम्वाङ समूहबाट वरिष्ठ उपाध्यक्षका उम्मेद्वार बने। अघिल्लो कार्यकालमा उपाध्यक्ष रहेका कृष्ण थापाले भने यसपटक कुनै पदमा पनि उम्मेद्वारी दिएका छैनन्।

शेर्पाले प्यानलसहित नेतृत्वमा आए पनि वरिष्ठ उपाध्यक्ष र अन्य दुई उपाध्यक्षले व्यक्तिगत स्वार्थलाई प्राथमिकतामा राख्दा र कोभिड–१९ महामारीका कारण हुन नसकेका काम पूरा गर्ने उद्देश्यले कार्यकाल दोहोर्‍याउन लागेको बताएका छन्।

यता नेम्वाङ भने वर्तमान नेतृत्व मनोमानी ढंगले अघि बढेको, कार्यसमिति बैठक र साधारण सभाको निर्णय छलेको लगायत आरोपसहित चुनावी मैदानमा होमिएका छन्। नेम्वाङ फिफाको प्रतिबन्धमा रहेका तत्कालीन अध्यक्ष थापाकै उम्मेद्वार भएको शेर्पाको आरोप छ। नेम्वाङले भने त्यसको प्रतिवाद गर्दै आएका छन्।

शेर्पा समूहबाट वरिष्ठ उपाध्यक्षमा पराजुली उम्मेद्वार छन्। चार उपाध्यक्षको उम्मेद्वारमा भने उपेन्द्रमान सिंह, कुमार केसी, रत्नकुमार श्रेष्ठ र विज्ञानराज शर्माको दाबेदारी छ। नेम्वाङ प्यानलबाट भने अघिल्लो कार्यकालका उपाध्यक्ष खड्का वरिष्ठ उपाध्यक्षको प्रत्यासी बने।

चार उपाध्यक्षका लागि विराटजंग शाही, दावा लामा, दीपक खतिवडा र सुन्दरनरसिंह जोशीले नेम्वाङ समूहबाट चुनौती दिएका छन्। एन्फा चुनावमा मतदाता संख्या ८४ छ। यसअघि कुल ८७ मत हुने भए पनि सिन्धुली जिल्ला फुटबल संघ र भक्तपुर जिल्ला फुटबल संघले मताधिकार नै पाएनन्। त्यस्तै बारा जिल्ला फुटबल संघको मताधिकार पनि निर्वाचन समितिले खारेज गरिदिएको थियो।

निर्वाचन समितिले बारासहित महिला संघ,  फ्रेन्डस र सरस्वती क्लबको समेत मताधिकार रद्द गरिदिएको थियो। चार वटै मताधिकार शेर्पा प्यानलबाट थिए। अपिल कमिटीले महिला संघसहित सरस्वती र फ्रेन्डस क्लबको मताधिकार रद्द गर्ने निर्वाचन कमिटीको निर्णय उल्ट्यायो। बाराको हकमा भने निर्वाचन समितिको निर्णय सदर भयो। यसपटक अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, १३ खुला सदस्य र दुई महिला सदस्य गरी कुल २१ पदका लागि निर्वाचन हुँदै छ। महासचिव र कोषाध्यक्ष भने निर्वाचित कार्यसमितिले मनोनयन गर्नेछ।

प्रकाशित: ६ असार २०७९ ०३:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App