२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

विश्वकप २०२६ को तयारी तीव्र बनाउन निर्देशन

सन् २०२६ को विश्वकप फुटबल आयोजना हुने सहरको टुङ्गो लागेसँगै फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले आयोजक देश क्यानाडा, मेक्सिको र संयुक्त राज्य अमेरिकालाई तयारी तीव्र गतिमा अगाडि बढाउन निर्देशन दिएका छन्।

तीन देशले संयुक्त रूपमा आयोजना गर्न लागेको विश्वकपका लागि आयोजक देशले बिहीबार आयोजना हुने सहरको नाम सार्वजनिक गर्ने कार्यक्रममा फिफा अध्यक्षले तयारी तीव्र गतिमा अगाडि बढाउन निर्देशन दिएका हुन्। २०२२ को कतार विश्वकप नजिकिँदै गरेको अवस्थामा २०२६ का लागि फिफाले चासो देखाएको हो।

पहिलो पटक ४८ टोलीले सहभागिता जनाउन लागेको विश्वकप उत्तरी अमेरिकामा १९९४ पछि पहिलो पटक आयोजना हुन लागेको हो। २०२६ को संस्करणमा फिफाले ३२ टोलीबाट बढाएर ४८ टोलीलाई सहभागी गराउने निर्णय गरिसकेको छ। बिहीबार सार्वजनिक भएका सहरअन्तर्गत १६ खेलस्थल तोकिएको छ। जसमा ११ स्थल अमेरिकामा छन् भने तीन मेक्सिको र दुई क्यानडामा छन्। अमेरिकामा त्यहाँको लिग आयोजना हुने मैदानमा खेल हुनेछन्। लस एन्जल्सको सोफी स्टेडियम, ८२ हजार क्षमता भएको न्युयोर्क जायन्ट्स र मेटलाइफ स्टेडयममध्ये कुनैमा फाइनल खेल खेलाइने प्रस्ताव अगाडि सारिएको छ।

विश्वकपका ८० मध्ये ६० खेल अमेरिकाको खेलमैदानमा हुनेछन्। जसमा सबै नकआउट चरणका र क्वार्टरफाइनल खेल पनि समावेश हुनेछन्। उता मेक्सिकोमा हुने रंगशाला पनि तय भएका छन्। १९७० र १९८६ को विश्वकपको फाइनल सञ्चालन गरिएको मेक्सिको सिटीको आजटेका स्टेडियम सहित मोन्टेररी र गुडालाजार रंगशालाको नाम सार्वजनिक गरिएको छ। यस्तै क्यानाडामा भने भ्यानकुओभर र टोरन्टोका रंगशालामा खेलाइनेछ।

फिफाका अध्यक्ष इन्फान्टिनोले १९९४ को फाइनलमा उपस्थित दर्शकको कीर्तिमानलाई तोड्ने योजनासहित काम अघि बढाउन आयोजकले निर्देशन दिएका हुन्।

‘२०२६ अहिलेसम्मकै भब्य र धेरै दर्शकलाई समावेश गर्न सक्ने विश्वकप बनोस्,’ फिफा अध्यक्ष इन्फान्टिनोले भने, ‘आम मानिसले कल्पना गरेभन्दा धेरै माथि उठेर काम हुनुपर्छ। तीन देशमा आयोजना हुँदा खेल हेर्न आउने दर्शकका लागि खुसीको बहार आयोजकले दिन सक्नुपर्छ ।’ साथै अध्यक्ष इन्फान्टिनोले २०२६ को संस्करणले अमेरिका क्षेत्रमा आयोजना हुन लागेको विश्वकपले अन्य महादेशमा जस्तो अमेरिकी देशमा पनि फुटबलको लहर फैलाउने विश्वास व्यक्त गरे।

‘अमेरिकी देश युरोपजत्तिको फुटबलमा छैनन्। अन्य क्षेत्रमा विश्वका अधिकांश स्थानमा अमेरिकन देशको क्रेज छ। तर फुटबलमा यस्तो देखिएको छैन। आशा छ, आगामी संस्करणको विश्वकपले फुटबल क्रेजको लहर अमेरिकामा थप फैलिनेछ,’ इन्फान्टिनोले थपे। 

प्रकाशित: ४ असार २०७९ ०३:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App