१८ असार २०८१ मंगलबार
image/svg+xml
खेल

नेपालद्वारा ओमानविरुद्ध ७ विकेटको सजह जित

ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखको अर्धशतकीय पारीको सहयोगमा नेपालले आईसिसि पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानविरुद्ध ७ विकेटको सजह जित निकालेको छ। अमेरिकाको टेक्सासमा भएको खेलमा नेपालले लिग–२ को शीर्ष स्थानमा रहेको टोली ओमानलाई ७ विकेटले हराएको हो।

यससँगै नेपालले पहिलो खेलमा भोगेको हारको बदला पनि लिएको छ। मोसा क्रिकेट मैदानमा ओमानले दिएको १ सय ६४ रनको लक्ष्य नेपालले ३३.१ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो। किफायती बलिङ गर्दै हाबी भएको ओमानविरुद्ध नेपालका लागि ओपनरद्वय कुशल र आसिफलले अर्धशतकीय पारी खेले।

कुशलले ५६ तथा आसिफले ६२ रनको पारी खेलेका थिए। ७५ बलको सामना गरेका कुशलले ७ चौका प्रहार गर्दा ८६ बल खेलेका आसिफले ७ चौका र १ छक्का प्रहार गरेका थिए। एक सय १४ रन बनाउँदा पहिलो विकेट गुमाएको नेपालले १ सय २७ रन जोड्दा दोस्रो विकेट गुमाएको थियो।

यस्तै देव खनाल १० रनमा आउट हुँदा रोहितकुमार पौडेल र दिपेन्द्र सिंह ऐरीले क्रमस २६ र ६ रनमा अविजित रहे। ओमानका फायज बुटले २ तथा खवर अलिले एक विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ४६.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६३ रन बनाएको थियो। ओमानका लागि कप्तान जिशन मक्सुदले ५२ रनको अर्धशतकीय इनिङ खेले।

सम्हालिएको प्रदर्शन गरेका उनलाई दिपेन्द्र सिंह ऐरीले एलबीडब्लूलको धरापमा पार्दै पवेलियन फर्काउँदा नेपाल ओमानको ब्याटिङ इनिङमा हाबी हुन पुगेको थियो। सन्दिप गौडले ४७ रन जोड्ने क्रममा करणको केसीको बलमा सन्दिप लामिछानेको हातबाट क्याच भएका थिए भने जतिन्दर सिंहले २३ रन जोडेका थिए भने अन्य खेलाडीले सन्तोषजनक प्रदर्शन गर्न सकेनन्।

ओमानलाई सस्तैमा समेट्न करण केसीले ५ विकेट लिए। ९ ओभर बलिङ गरेका करणले मात्र ३३ रन खर्चिएका थिए। कप्तान सन्दिप लामिछानेले ३ तथा सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले १÷१ विकेट लिए। यस जितसँगै नेपालले १५ खेलमा १५ अंक जोडेको छ।

अमेरिका भ्रमणको क्रममा पहिलो भेटमा १३ रनले पराजित भएको नेपाल पाँचौ स्थानमा उक्लिएको छ। उता पराजित ओमान ३६ खेलमा ४४ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ। श्रृंखला अन्तर्गत नेपालले अन्तिम खेल अमेरिकाबिरुद्ध बुधबार राति खेल्नेछ। 

प्रकाशित: १ असार २०७९ ०७:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App