३१ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

महिला टोलीको च्याम्पियन बन्ने लक्ष्य

नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एसिया कपमा छनोटको लक्ष्यसहित मलेसियामा आयोजना हुने एसिसी ट्वान्टी–२० च्याम्पियनसिपको यात्रामा होमिएको छ।

लामो समयदेखि अन्तर्राष्ट्रिय उपाधिको भोको नेपाली महिला क्रिकेट टोलीले उक्त च्याम्पियनसिपमा विजेता बन्दै एसिया कपमा छनोटको लक्ष्य राखेको छ। नेपाली टोलीका कप्तान रुबिना क्षेत्री र प्रशिक्षक जगत टमाटाले पनि छनोटसँगै उपाधि पनि जित्ने विश्वास व्यक्त गरेका छन्।

उक्त टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार बिदाइ गरेको थियो। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले उनीहरूलाई बिदाइ गरे। सो अवसरमा नेपाली टोलीकी कप्तान रुबिनाले सम्पूर्ण नेपालीको छनोट हुने आशालाई यथार्थमा परिणत गरेर स्वदेश फर्किने विश्वास व्यक्त गरिन्।

‘धेरै वर्षदेखि हामी खेल्दै आइरहेका छौं। त्यसैले हामीलाई कुनै किसिमका दबाब छैन। हाम्रो सहभागिता उत्कृष्ट बन्न सकिरहेको छैन। तर, यस पटक राम्रो गर्नेछौं,’ रुबिनाले भनिन्, ‘विदेश जाँदा हामी कहिल्यै पनि हार्ने सोचेर जाँदैनौं। यसपालि पनि हामी च्याम्पियन बनेर फर्किने लक्ष्य लिएर बाहिर जाँदै छौं।’

नेपाली टोली च्याम्पियनसिपका लागि बुधबार नै मलेसियातर्फ जाँदै छ। रुबिनाले घरेलु भूमिमा युगान्डासँग भएको पछिल्लो शृंखलाबाट धेरै पक्ष सिक्न पाएको समेत उल्लख गरेकी छन्। ‘युगान्डासँगको शृंखलाले हामी कुन स्थानमा छौं भन्ने देखाइदियो। त्यसपछि हामीले राम्रो तयारी गरेका छौं,’ रुबिनाले भनिन्, ‘बिहान सात बजेदेखि दिउँसो तीन बजेसम्म मिहिनेत गरेका छौं।’

यस्तै, मुख्य प्रशिक्षक टमाटा पनि सबैको ‘लक्ष्य’ एउटै भएकाले नेपाली टोली च्याम्पियन भएर फर्कनेमा विश्वस्त छन्। ‘हामी सबैको एउटै लक्ष्य भएकाले हामी च्याम्पियन हुन्छौं भन्ने विश्वास छ,’ उनले भने, ‘कति मिहिनेत गरेका छौं भन्ने खेलाडीलाई थाहा छ। नतिजा हाम्रो पक्षमा आउने र नेपाल च्याम्पियन हुने आशा गरेको छु।’

राखेपका सदस्यसचिव घिसिङले नेपालले उत्कृष्ट प्रदर्शन दिन कुनै कसर बाँकी नराख्ने विश्वास व्यक्त गरे। ‘यहाँहरू एकदमै महत्त्वपूर्ण प्रतियोगिता खेल्न जाँदै हुनुहुन्छ,’ सदस्यसचिव घिसिङले भने, ‘विभिन्न प्रतियोगिता र स्तरमा यहाँहरूले सिक्दै आउनुभएको सबै क्षमता छनोट हुन खन्याउनु हुनेछ र विजयी भएर फर्किनुहुन्छ भन्ने विश्वास लिएको छु।’

मलेसियामा जुन १७ गतेदेखि सुरु हुने प्रतियोगिताको फाइनल पुग्ने दुई टोली एसिया कपका लागि छनोट हुनेछन्। यो एसिया कपको रोडम्याप पनि हो भने अर्को महिला टोलीलाई उपाधिको खडेरी तोड्ने अवसरका रूपमा पनि हेरिएको छ। शीर्ष दुई अर्थात् फाइनलमा प्रवेश गरे नेपाल एसिया कपका लागि पनि छनोट हुनेछ।

एसियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा हुने च्याम्पियनसिपमा आयोजक मलेसियासहित नेपाल, बहराइन, भुटान, हङकङ, कुवेत, सिंगापुर, ओमान, कतार र संयुक्त अरब इमिरेट्स (युएई) गरी १० राष्ट्रले चुनौती प्रस्तुत गर्नेछन्। उक्त टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

नेपाल समूह ‘बी’ मा छ र सो समूहमा बहराइन, भुटान, हङकङ र कुवेत छन्। समूह ‘ए’ मा मलेसिया, ओमान, कतार, सिंगापुर र युएई छन्। दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। फाइनलमा पुग्ने दुई टोली अक्टोबरमा आयोजना हुने महिला ट्वान्टी–२० एसिया कपमा छनोट हुनेछन्।

छनोट हुने टोलीले भारत, पाकिस्तान, श्रीलंका र आयोजक बंगलादेशसँग एसिया कप खेल्नेछन्। छनोटमा नेपालले जुन १७ मा भुटानविरुद्ध खेल्दै प्रतियोगिता सुरु गर्नेछ। नेपालले जुन १८ मा किनरारा स्टेडियममा कुवेतको सामना गर्दा तेस्रो खेल जुन २० मा बहराइनविरुद्ध खेल्नेछ। अन्तिम खेल नेपालले जुन २१ मा हङकङविरुद्ध खेल्ने तालिका छ।

प्रकाशित: १ असार २०७९ ०२:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App