२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

‘ब्याटिङ असफलताले हार’

ओमानविरुद्ध ब्याटिङ गर्दै नेपालका रोहित पौडेल।

नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले ब्याटिङ असफलताका कारण शुक्रबार ओमानसँगको पहिलो एकदिवसीय क्रिकेटमा हार बेहोर्नुपरेको बताए। आइसिसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा जारी त्रिदेशीय शृंखलामा ओमानसँग १३ रनले स्तब्ध भएपछि कप्तान सन्दीपले ब्याटिङका कारण हार बेहोर्नुपरेको प्रतिक्रिया दिए।

नेपाली बलरले राम्रो बलिङ गर्दै पहिले ब्याटिङ गरेको ओमानलाई २ सय ११ रनमा खुम्च्याएका थिए। तर, ब्याटिङमा साथ नपाएपछि नेपालले त्यो लक्ष्य पूरा गर्न सकेन। निर्धारित ५० ओभर सकिन दुई बल बाँकी छँदा १ सय ९८ रनमा अलआउट भएपछि नेपालले लिग–२ को १३औं खेलमा सातौं हार बेहोर्नुपर्‍यो।

शीर्ष तीनमा रहँदै आगमी वर्ष हुने एकदिवसीय विश्वकपमा सोझै छनोट खेल्ने अवसर रहेको नेपाललाई यो हारले धक्का पुर्‍याएको छ। सात टोली सम्मिलित लिग–२ मा नेपाल पुछारबाट दोस्रो स्थानमा छ। सन्दीपले लक्ष्य पूरा गर्न नसक्नु कुनै एकको गल्ती नभएर ब्याटिङमा पूर्ण असफलताको कारण भएको उल्लेख गरेका छन्।

‘ब्याटिङमा असफलताका कारण लक्ष्य पूरा गर्न सकेनौं र यो कुनै एक व्यक्तिका कारण भएको पनि होइन। संयुक्त अरब इमिरेट्स (युएई) सँग दुई पटक र अहिले ओमानसँग पनि जित्ने अवसर गुमायौं। साझेदारी भइरहेको समयमा विकेट गुमाउन पुग्यौं र नयाँ ब्याटरले विकेटमा समय लिए,’ सन्दीपले भने, ‘केही विकेट हामीले आफैं गुमाउन पुग्यौं। साझेदारी र रनरेट चाहिएको अवस्थामा उल्टो भयो। डट बल पनि धेरै हुँदा दबाब पनि पर्‍यो।’

नेपालका लागि एकदिवसीय क्रिकेटमा पाँच विकेट लिने करण केसी पहिलो बलर बने। तर, उनले त्यो सफलतालाई टोलीको जित उत्सवसँगै मनाउन पाएनन्। ट्वान्टी–२० अन्तर्राष्ट्रियमा पनि करणले पाँच विकेट लिएका छन्। ब्याटिङमा नेपालका लागि आरिफ शेखले मात्र राम्रो प्रदर्शन गर्दा अवसर पाएका खेलाडीले त्यसको सदुपयोग गर्न सकेनन्।

आरिफले ६६ रनको अर्धशतकीय इनिङ खेल्दा युवा ब्याट्सम्यान देव खनालले ३४ रन जोडे। डेब्युटेन्ट सुनील धमला र लामो समयपछि नेपाली टोलीमा फर्किएका सुवास खकुरेलले पनि अवसर सदुपयोग गर्न सकेनन्। ओपनरद्वय सुवास ३ रन र सुनील १२ रनमै पवेलियन फर्किए।

आशालाग्दा अर्का युवा ब्याट्सम्यान रोहित पौडेल (२० रन) पनि सस्तैमा आउट भए। ‘हाम्रो युवा टोली छ र केही असमझदारी पनि हुन सक्छ। यस्तो मौका फेरि नआउन सक्छ। ब्याटिङ नचले पनि यो हारबाट धेरै सिक्न सकिन्छ। करण दाइको पाँच विकेट र आरिफ दाइको ब्याटिङबाट युवा खेलाडीले सिक्नुपर्छ। युवाले आगामी खेलमा प्रेरणा लिन सक्यो र अलिकति सुधार हुँदा जित सम्भव छ,’ सन्दीपले भने।

सन्दीपले ओमानलाई दुई सय रन पार गर्न नदिने लक्ष्य पनि पूरा नभएको उल्लेख गरे। ‘हाम्रो लक्ष्य ओमानलाई १ सय ८० देखि १ सय ९० रनसम्म रोक्ने थियो। तर अन्तिम १० ओभरमा जसरी बलिङ गर्‍यौं र त्यो दुर्भाग्यपूर्ण रह्यो। जेसान मक्सुदले जसरी खेले त्यो मैले देखेको अहिलेसम्मकै उत्कृष्ट इनिङमध्ये एक थियो,’ सन्दीपले भने। उक्त खेलमा कप्तान जेसन १ सय ४ रनमा नटआउट रहे।

आगामी दिनमा गल्ती नदोहोर्‍याएको खण्डमा मात्र जित सम्भव हुने उनको भनाइ छ। ‘हामीले नै केही गल्ती गरेर उनीहरूले जितेका छन्। जबसम्म हामी आफ्नो गल्ती सुधार्न सक्दैनौं, तबसम्म यस्ता नतिजा सामना गर्नुपर्छ,’ सन्दीपले भने। सन्दीपले नेपाल विश्वकपमा छनोट हुन लायक राष्ट्र भएको समेत दाबी गरे।

‘हामी विश्वकप छनोटमा पुग्नलायक राष्ट्र हौं। सबै जना एकदिवसीय मान्यता बचाउ भन्छन्। म विश्वकप खेल्न चाहन्छु र विश्वकप खेल्यौं भने एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता त्यसै पनि बच्छ अनि मात्र पाँच वर्षसम्म हाम्रो क्रिकेट जिउँदो हुनेछ। त्यो उद्देश्य नलिए आत्मविश्वास आउँदैन,’ सन्दीपले लक्ष्य सुनाए। त्रिदेशीय शृंखलाअन्तर्गत नेपालले दोस्रो खेल अमेरिकासँग शनिबार खेल्नेछ। त्यसपछि पुनः जुन १४ मा ओमानसँग र जुन १५ मा पुनः अमेरिकासँग खेल्ने तालिका छ। 

प्रकाशित: २८ जेष्ठ २०७९ ०२:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App