८ वैशाख २०८१ शनिबार
खेल

नेपाली युवा टोलीको जुझारु प्रदर्शन

जोर्डनविरुद्ध बल अगाडि बढाउँदै नेपालका आयुष घलान (नीलो)।

एएफसी एसिया कप छनोटको तेस्रो चरणको पहिलो खेलमा नेपालले जोर्डनलाई २–०को नतिजा सुम्पियो। तर टोलीमा पहिलो पटक अवसर पाएका गोलकिपर दीप कार्की र समग्र युवा टोलीको प्रदर्शनबाट भने नेपालले समूह ‘ए’ मा आफू पनि कठिन प्रतिद्वन्द्वीका रूपमा रहेको संकेत गरेको छ।

कुवेतको जाविर अल सहमद रंगशालामा सम्पन्न खेलमा जोर्डनको जितमा इयाद ओलावान र हाम्जा अलदहादेहले समान एक गोल गरे। प्रतियोगिताको बन्द प्रशिक्षण सुरु भएलगत्तै नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफूहरू प्रतियोगिताको अघिल्लो चरणमा प्रवेश गर्न नसक्ने बताए। बन्द प्रशिक्षण सुरु भएपछि टोलीका प्रमुख ९ खेलाडीले प्रशिक्षक अल्मुताइरीको शैलीप्रति असन्तुष्टि जनाउँदै बाहिरिए।

त्यसपछि प्रशिक्षक र खेलडाीबीचको विवाद सतहमा आयो। त्यसअघि नै टोलीबाट रोहित चन्द टोलीबाट बाहिरिसकेका थिए। खेलाडीमाथि प्रशिक्षकले गरेको व्यवहारको टोलीका कप्तान तथा गोलकिपर किरणकुमार लिम्बुले खुलेरै विरोध गरे। अल्मुताइरीले १७ खेलाडी थप गर्दै बन्द प्रशिक्षणलाई निरन्तरता दिए।

प्रतियोगिताका लागि अन्तिम टोलीको घोषणा गर्दा अल्मुताइरीले युवा खेलाडीलाई अवसर दिए भने रोहितसहित टोलीबाट बाहिरिएका विमल घर्तीमगर, अञ्जन विष्ट लगायत १० खेलाडीलाई टोलीमा राख्न नसक्ने जनाउ गरिसकेका थिए। अल्मुताइरीले किरणलाई समेत टोलीमा समावेश गरेनन् र स्ट्राइकर नवयुग श्रेष्ठको कप्तानीमा प्रतियोगिताका लागि अन्तिम टोलीको घोषणा गरे।

जहाँ युवा खेलाडीको बाहुल्य रहेको थियो। कम अनुभवी युवा टोलीले प्रतियोगितामा कस्तो प्रदर्शन गर्छ भन्ने सबैको लागि चासोको विषय बनेको थियो। कुवेत भ्रमणअघि नेपालले कतारमा केही समय प्रशिक्षणसमेत गरेको थियो। जोर्डनविरुद्ध गरेको प्रदर्शनले नेपालले आफू सहज प्रतिद्वन्द्वी नभएको संकेत गरेको हो।

जोर्डनविरुद्धको खेलअघि पनि अल्मुताइरीले आफ्नो टोलीमा युवा खेलाडीको बाहुल्य रहेको र आफूहरू प्रतियोगिताको अघिल्लो चरण प्रवेशका लागि दाबेदार टोली नरहेकाले दबाबरहित खेल्ने बताएका थिए। अल्मुताइरीले जोर्डनविरुद्धको खेलसँगै गोलकिपर दीप कार्की र रक्षक विकास तामाङलाई डेब्यु गराएका थिए।

दीपले पहिलो हाफको अन्तिम मिनेटमा जोर्डनका मौसा मोहम्मद सुलेमानको पेनाल्टी प्रहार विफल पारेका थिए। समूह ‘ए’ कै पहिलो खेलमा इन्डोनेसियाले आयोजक कुवेतलाई २–१ ले पराजित गर्र्दै प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेकोे छ। नेपालले दोस्रो खेलमा शनिबार कुवेत र अन्तिम खेलमा जेठ ३१ गते इन्डोनेसियाको सामना गर्नेछ।

प्रकाशित: २७ जेष्ठ २०७९ ०२:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App