१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

एपिएफ र पुलिस क्वार्टरफाइनलमा

हेटौंडामा जारी स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्ड कपमा दुई विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लब र नेपाल पुलिस क्लब क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

आइतबार बिहान भएको खेलमा एपिएफले फ्रेन्ड्स क्लबलाई ३–० ले हराउँदा दिउँसोको खेलमा पुलिसले खुमलटार युवा क्लबलाई २–१ गोलले हराएको हो। शनिबारका लागि तय भएको एपिएफ र फ्रेन्ड्सको खेल वर्षाका कारण स्थगित भएपछि आइतबार बिहान खेलाइएको थियो।

एपिएफले खेलको २९औं मिनेटमा पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो। फ्रेन्ड्सका डिफेन्डरले एपिएफका प्रदीप लामालाई डी बक्स क्षेत्रमा लडाएपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै नवीन लामाले गोल गरेका थिए। पहिलो हाफमा १ गोलले अघि रहेको एपिएफले दोस्रो हाफमा २ गोल थपेको थियो।

दोस्रो हाफको सुरुमै फ्रेन्ड्स १० खेलाडीमा सीमित भएपछि एपिएफले मौकाको फाइदा उठाउँदै २ गोल थप्यो। खेलको ५५औं मिनेटमा एपिएफका राजीव पहारी रातो कार्ड पाउँदै मैदान छाडेपछि फ्रेन्ड्स  १० खेलाडीमा सीमित भएको थियो। ७६औं मिनेटमा एपिएफका लागि वैकल्पिक खेलाडीको रूपमा मैदान छिरेका सविन गुरुङले गोल गर्दै अग्रता दोब्बर बनाए।

खेलको अतिरिक्त समयमा एपिएफका रवि थिङले गोल गर्दै खेललाई ३–० मा पुर्‍याए। खेलको म्यान अफ दी म्याच एपिएफका प्रदीप लामा घोषित भए। उनले नगद १० हजार रूपैयाँसहित ट्रफी हात पारे। यस्तै आइतबार दिउँसो भएको खेलमा नेपाल पुलिस क्लवले खुमलटार युवा क्लवलाई २–१ गोल अन्तरले हराएको छ।

खेलमा पुलिसले दोस्रो मिनेटमै अभिषेक रिजालको गोलमार्फत अग्रता लिएको थियो। २३औं मिनेटमा भरत शाहले अग्रता दोब्बर बनाए। खुमलटारका लागि अजित लामाले ९०औं मिनेटमा गोल गरे पनि टिमलाई हारबाट जोगाउन सकेनन्। खेलको म्यान अफ दी म्याच खुमलटारका दिवस सत्याल भए। उनले पनि १० हजारसहित ट्रफी हात पारे। जारी प्रतियोगितामा सोमबार एपिएफ र त्रिभुवन आर्मी क्लबको बीचमा खेल हुनेछ।

यही जेठ ३० गतेसम्म सञ्चालन हुने मकवानपुर गोल्डकपमा १२ क्लबको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रूपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् भने सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल तथा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही नगद २५ हजार रूपैयाँ प्राप्त गर्नेछन्।  

प्रकाशित: २३ जेष्ठ २०७९ ०५:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App