२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

स्वायटेकलाई फ्रेन्च ओपन उपाधि

विश्व नम्बर एक इगा स्वायटेकले फ्रेन्च ओपन जित्दै ग्रान्ड स्लाममा आफ्नो अपराजित यात्रालाई ३५ खेलसम्म लम्ब्याए पनि विम्बल्डनमा भने धेरै अपेक्षा नराखेको प्रतिक्रिया दिएकी छन्। स्वायटेकले शनिबार कोको गौफलाई ६–१, ६–३ ले हराउँदै फ्रेन्च ओपनको उपाधि जितेकी हुन्।

उनले फ्रेन्च ओपनको उपाधि जितेको यो दोस्रो पटक हो। स्वायटेकले यस वर्ष जितेको यो छैटौं उपाधि हो। यस क्रममा उनले चार डब्लुटिए र एउटा प्रमुख उपाधि जितेकी छिन्। उनले इन्डियाना वेल्स मियामीको युगलमा उपाधि जितेकी थिइन्। त्यस्तै उनले स्टुवार्ट, रोम र पेरिसमा पनि उपाधि जितिन्।

‘मेरा प्रशिक्षक थोमस विक्क्रोस्की मैले अपराजित यात्रालाई अझै कायम राख्नेमा विश्वस्त छन्,’ उनले भनिन्, ‘जसले मेरो मनोबल बढेको छ। म अझ धेरै उपाधि जित्न चाहन्छु। तर विम्बल्डनमा मैले धेरै अपेक्षा राखेको छैन।’ स्वायटेकले गत संस्करणको विम्बल्डनको चौथो चरणसम्मको यात्रा तय गरेकी थिइन्। ‘म राम्रो तयारीका साथ आफ्नो उत्कृष्ट खेल दिनेछु,’ स्वायटेकले भनिन्, ‘क्ले कोर्टमा मेरो प्रदर्शन अब्बल छ।’

स्वायटेकले भेनस विलियम्सको नाममा रहेको लगातार ३५ खेलको अपराजित यात्रासँग बराबरी गरेकी छिन्। विलियम्सले सन् २००० मा लगातार ३५ खेलमा अपराजित रहँदै कीर्तिमान रचेकी थिइन्। ‘मेरा लागि कीर्तिमानी ३५ खेलको अपराजित यात्रा निकै यादगार रह्यो,’ स्वायटेकले भनिन्, ‘यो विशेष क्षण हो। म सधैं केही न केही कीर्तिमान रच्न चाहन्थें। त्यो सपना साकार भएको छ। ग्रान्ड स्लाम जित्नु नै ठूलो उपलब्धि हो। म अझै कीर्तिमान रच्न चाहन्छु।’

स्वायटेकले पछिल्लो नौ फाइनल खेलमा जित हात पारेकी छिन्। उनी एक पटक मात्र डब्लुटिएको फाइनलमा पराजित भएकी छिन्। ‘म हरेक खेलमा आफ्नो स्वाभाविक प्रदर्शन गर्छु,’ स्वायटेकले भनिन्, ‘जुन सबै खेलमा कायम राख्नु आफैंमा चुनौती हो। म मेरा प्रतिद्वन्द्वीबारे पनि सधैं जानकार रहन्छु। म खेलअघि तनाव लिन्नँ, जसले मलाई राम्रो प्रदर्शन गर्न सधैं मनोबल प्रदान गर्छ ।’ स्वायटेकले फ्रेन्च ओपनका २३ मध्ये २१ खेल जितेकी छिन् भने दुई खेल गुमाएकी छिन्।

प्रकाशित: २३ जेष्ठ २०७९ ०५:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App