१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

सिटी च्याम्पियन्स लिगको भोको

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले इङ्लिस प्रिमियर लिगको उपाधि जिते पनि च्याम्पियन्स लिग उपाधिको सपना साकार नभएसम्म सन्तुष्ट नहुने प्रतिक्रिया दिएका छन्।

सिटीले आइतबार नाटकीय बनेको खेलमा एस्टन भिल्लालाई पुनरागमनमा ३–२ ले पराजित गर्दै प्रिमियर लिगको उपाधि रक्षा गरेको थियो। २–० ले पछि परेको स्थितिमा सिटीले ६ मिनेटको अन्तरमा ३ गोल फर्काउँदै उपाधि पक्का गरेको थियो। सिटीले दोस्रो स्थानको लिभरपुललाई १ अंकले पछि पार्‍यो। ‘उपाधि रक्षाको लक्ष्यले सार्थकता पायो,’ ग्वार्डिओलाले भने, ‘अन्तिम दिन मैदान उत्रँदा चिर प्रतिद्वन्द्वीले कस्तो नतिजा ल्याउँछ भन्ने कौतुहलता हुन्छ।

आज हामीलाई पनि त्यस्तै भयो। आफ्नो नतिजाका साथै हामीलाई लिभरपुलले ल्याउने नतिजाले पनि प्रभाव पार्दथ्यो। लिभरपुल हाम्रो चिर प्रतिद्वन्द्वी हो।’ सिटीको जित लिभरपुललाई एकै सिजन चार उपाधि जित्ने कीर्तिमानको सम्भावना कायम राख्न पर्याप्त भएन। लिभरपुलले यसअघि नै इङ्लिस लिग कप र एफए कपको उपाधि जितिसकेको छ। च्याम्पियन्स लिग फाइनलमा लिभरपुलले मे २८ मा रियाल मड्रिडको सामना गर्नेछ। लिभरपुलले पछिल्लो ३२ वर्षमा एक पटक मात्र प्रिमियर लिगको उपाधि जितेको छ।

‘पछिल्लो पाँच वर्ष हाम्रा लागि निकै उत्कृष्ट सिजन रह्यो,’ ग्वार्डिओलाले भने, ‘टोलीले धेरै धैर्यता अपनाएको छ। जितको चाहना सबैमा हुन्छ। प्रियिमर लिग जित्न सहज छैन। तर हामीले पछिल्लो पाँच वर्षमा चार पटक प्रिमियर लिगको उपाधिका साथ आफूलाई इङ्ल्यान्डमा अब्बल टोलीका रूपमा उभ्याएका छौं तर हामी युरोपमा पनि अब्बल टोली बन्दै आफ्नो दबाब राख्न चाहन्छौ। त्यसका लागि हामी च्याम्पियन्स लिगको उपाधि जित्न चाहन्छौ।’ ग्वार्डिओलोले अहिलेसम्म दुई पटक मात्र च्याम्पियन्स लिगको उपाधि जितेका छन्।

उनले पछिल्लो पटक सन् २०११ मा बार्सिलोनाबाट च्याम्पियन्स लिगको उपाधि जितेका थिए। रियालविरुद्ध सहज अग्रताका बाबजुद सिटी अन्तिम समयमा सम्हालिन नसक्दा सेमिफाइनल दोस्रो लेगमा स्तब्ध भएको थियो। गत सिजन फाइनल प्रवेश गरे पनि चेल्सीसँग पराजित भएको सिटी यस पटक पनि निराश बन्यो। सिटी च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको त्यो नै पहिलो पटक थियो।

प्रकाशित: १० जेष्ठ २०७९ ०२:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App