२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

मार्सेलोको बिदाइमा रोकियो रियाल

लिभरपुलविरुद्ध हुने च्याम्पियन्स लिगअघिको खेल तथा स्पेनिस ला लिगको अन्तिम खेलमा रियाल मड्रिड अंकतालिकाको पाँचौं स्थानमा रहेको रियाल बेटिससँग शुक्रबार गोलरहित बराबरीमा रोकिँदा लेभान्टेले रायोज भालेकानोलाई उसैको मैदानमा ४–२ ले स्तब्ध बनाएको छ।

यसअघि नै स्पेनिस ला लिगको उपाधि पक्का गरेको रियालले सिजनको अन्तिम खेलमा सुखद अन्त्य गर्ने लक्ष्य बनाए पनि सफल हुन सकेन। प्रशिक्षक कार्लो एन्सिलोटीले बलियो टोली बनाउँदै सिजनको सुखद अन्त्य गर्ने रणनीति अपनाए पनि खेलाडीले उनको रणनीतिअनुसार खेल्न सकेनन्। गोलरहित बराबरीमा सकिएको खेलमा प्रशिक्षक एन्सिलोटीले मार्सेलोका लागि सिजनको अन्तिम खेलमा मौका दिँदा ग्यारेथ बेल भने टोलीमा नै समावेश थिएनन्। सिजन अन्त्यसँगै दुवै खेलाडीको रियालसँगको सम्झौता सकिँदैछ। मार्सेलो ७०औं मिनेटमा फेर्लान्ड मेन्डीको स्थानमा मैदानमा मौका पाएका थिए। उनी मैदान प्रवेश गरेसँगै रंगशालामा उपस्थित दर्शकले ‘स्ट्यान्डिङ ओभिएसन’ दिएका थिए।

९० मिनेट नै खेलेका करिम बेन्जिमाले कप्तानको आर्मब्याड मार्सेलोलाई सुम्पिएका थिए। निर्धारित ९० मिनेट पछिको खेलपश्चात् मार्सेलोले उपस्थित दर्शकलाई सम्मान फर्काएर ड्रेसिङ रुममा पुगेका थिए। ‘विश्व फुटबलको एक महान् फुटबलर यहाँबाट बिदाइ भएका छन्। विश्वको उत्कृष्ट रक्षकलाई बिदाइको हात हल्लाउनु परेको छ। आफ्नो पोजिसनका निकै राम्रा खेलाडी हुन,’रियालका प्रशिक्षक एन्सिलोटीले भने, ‘अन्तिम खेलमा मार्सेलो समर्थकमाझ बिदाइ हुन चाहन्थे। क्लबले सिजनको उपाधि उचालिसकेको अवस्थामा उनलाई त्यो अन्तिम मौका पनि थियो।’ सिजनको अन्तिम खेलमा बराबरीमा रोकिएसँगै रियालले ८६ अंक बनाउँदै सिजनको अन्त्य गर्‍यो।

दोस्रो स्थानको बार्सिलोनाभन्दा रियाल १३ अंकले अगाडि रह्यो। यो अन्तर बार्सिलोनाले आइतबार भिल्लारियालसँग जित निकालेमा घट्नेछ। च्याम्पियन रियालसँग अंक खोसेको बेटिसले ६५ अंक जोड्यो। बेटिसले पाँचौं स्थानमा रहेर सिजनको अन्त्य गरेको छ भने युरोपा लिगका लागि योग्य पनि भइसकेको छ। एक स्थान तल रहेका रियाल सोसिडाड तीन अंकले पछि छ।

शुक्रबारकै अर्को खेलमा रेलिगेसन क्षेत्रमा परिसकेको लेभान्टेले १२औं स्थानको रायो भालेकानोलाई उसैको मैदानमा ४–२ ले स्तब्ध बनाएको हो। लेभान्टे रेलिगेसन क्षेत्रमा रहेपनि अन्तिम खेलमा सुखद नतिजा निकाल्दा रायो भालेकानोको अन्तिम खेल भने बिर्सनलायक बन्यो।

प्रकाशित: ८ जेष्ठ २०७९ ०६:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App