२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

दलको चुनावी घोषणापत्र: खेलकुदको विकास अजेण्डा मात्रै

राजनीतिक दलहरु भातृ संगठन विस्तारमा निकै अघि छन्। सबैजसो राजनीतिक दलले आफना भातृ संगठन बनाएका छन्। युवाहरुलाई लक्षित गरेर खेलकुदका संगठन पनि बनाएका छन्। नेकपा एमालेको खेलकुद महासंघ, नेपाली काँग्रेसको लोकतान्त्रिक खेलकुद तथा माओवादी केन्द्रको पनि छुट्टै संगठन छ। तर संगठन बनाई पार्टी बलियो बनाउने ध्येय बोकेका राजनीतिक दलले भने खेलकुदका अजेण्डालाई प्राथमिकतामा राख्नै सकेका छैनन्।  

राजनीतिक दलहरुले चुनावमा चर्का नारा लगाउँछन्। तर खेलकुद विकासको लागि दलहरुले आफनो चुनावी अजेण्डाभित्र छिराउन कन्जुस्याँई गर्दै आएका छन्। यतिबेला चुनावी रौनक छ। चुनौवी रौनकसँगै प्रत्येक राजनीतिक दलहरुले आफनो घोषणा पत्र एवं प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। सार्वजनिक गरिएका घोषणापत्रमा कुनैपनि राजनीतिक दल विशेषले खेलकुद क्षेत्रलाई प्राथमिकता र महत्व दिएको पाईदैन। राजनीतिक दलहरुका नेताहरु नै खेलकुदप्रति उदासिन देखिदाँ खेलकुदको विकास सम्भव देखिँदैन। खेलकुदलाई हेयको दृष्टिले हेर्दा खेलकुद सधैं ओझेलमा पर्दै आएको छ।  

पाँचदलीय गठबन्धनले केही दिन अघि मात्रै घोषणापत्र सार्वजनिक गर्यो। घोषणापत्रमा खेलकुदको विकास भन्ने शब्द झुण्ड्याएको छ। यद्यपी ठोस केही उल्लेख छैन। पाँच दलीय गठबन्धनबाट नेकपा(एकिकृत समाजवादी)का धनराज आचार्य पोखरा महानगर प्रमुखको उम्मेदवार बनेका छन्। उपप्रमुखमा नेपाली काँग्रेसकी नेतृ कोपिला रानाभाटको उम्मेदवारी छ। नेकपा एमालेको तर्फबाट पूर्व नगरप्रमुख कृष्ण थापा र उपप्रमुखमा मन्जुदेवी गुरुङ छन्। थापा गण्डकी प्रदेशसभा सदस्यबाट राजीनामा दिएर उम्मेदवार बनेका हुन।  

गठबन्धनले आफनो घोषणापत्रमा पाँचदेखि १२ कक्षासम्मलाई लक्षित गरी महानगरीय खेलकुद एकेडेमी स्थापना गर्ने लक्ष्य राखेको छ। पोखरा–३३ भरतपोखरीमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने र उच्च भेगिय गल्फ कोर्ष बनाउने लक्ष्यसहितको योजनालाई घोषणापत्रमा समेटेको छ। घोषणापत्रमा समेटिएको अन्तर्राष्ट्रिय क्रिकेट मैदान गण्डकी प्रदेश सरकारले तीन वर्ष अघि आफनो मुख्य अजेण्डामा समेट्दै अघि बढेको थियो। तर अहिलेसम्म कार्यान्वयनमा भने आउन सकेको छैन।  

नेकपा एमाले पोखरा महानगरले पनि आफनो चुनावी प्रतिबद्धतामा तीन वर्षभित्रमा पोखरा रंगशालाको स्तरोन्नति गरेर अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्ने जनाएको छ। पोखरा रंगशालामा आवश्यक भौतिक पूर्वाधार बनिसकेको अवस्था छ। अब केवल पौडी पोखरी र सुटिङ रेन्ज बनाउनुपर्ने खाँचो छ। पूर्वाधारको योजना बनाइएपनि पोखरा महानगरपालिकाले आफनै लगानीमा रंगशाला निर्माण गर्न सकेको छैन। आफैंले अपनत्व लिएर खेलकुद पूर्वाधार विकास गर्न भने कुनैपनि राजनीतिक दलले सकेका छैनन्।  

स्वास्थ्य नागरिक विना विकास सम्भव छैन। तर स्वस्थ्य नागरिक बनाउने अभियानमा कुनै पनि राजनीतिक दलको अजेण्डा बन्न सकेन। ‘नेताहरुले खेलकुद नबुझेको भनम भने खेलकुदको फोरममा सबैभन्दा बढी महत्व दिनुहुन्छ। तर पूर्वाधार विकासमा उहाँहरुको ध्यान गएको पक्कै देखिँदैन,’ गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले भने, ‘नेताहरुले खेलकुदको लागि जिम्मेवारी महशुस गरेको देखिँदैन। भातृ संगठनले पनि खेलकुदको विकासका योजनाहरुलाई पहुँच पुर्‍याउन नसकेको यथार्थ हो।’ उनले खेलकुदको महत्वलाई राजनीतिक दलहरुले बृहत रुपमा बुझ्न नसक्दा खेलकुदको विकास हुन नसकेको ठोकुवा गरे।  

खेलकुद स्वास्थ्यको लागि मात्रै नभई सामाजिक आर्थिक रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई थियो। ‘खेलकुद राष्ट्रिय गरिमासँग जोडिएको छ। तर दलहरुले खेलकुदको गरिमालाई अझै बुझ्न सकेका छैनन्।’ सदस्य सचिव गुरुङले भने, ‘समाज रुपान्तरणमा प्रभाव पार्ने खेलकुदलाई डेप्थमा बुझ्न सक्ने लिडरसिपको कमी छ।’ उनले आफना नागरिकलाई कसरी स्वास्थ्य बनाउने, कसरी समृद्ध बनाउने भन्ने सोचियो भने यसको शुरुवात खेलकुदबाटै हुने स्पष्ट पारे। उनको भनाई अनुसार ‘प्रमुख भएर सोचिरहदाँ स्वास्थ्य बनाउने अभियान के हो भन्ने पनि सोच्न जरुरी छ।’  

खेलकुदमा राष्ट्रिय बजेट नै कम छ। बजेटकै अभावमा पूर्वाधार विकास सोचे जस्तो छैन। दीर्घकालीन योजना अघि सारिएपनि बजेटकै अभावमा अलपत्र पर्दै आएका छन्। राजनीतिक हलहरुले युवापुस्तलाई केवल परिचालन गर्ने परिपाटी मात्रै बसेको लोकतान्त्रिक खेलकुद संघ गण्डकी प्रदेशका अध्यक्ष हरिश्वर पोखरेल बताउँछन्। ‘युवाहरुलाई संगठन बनाई थन्क्याउने र भोट बैंकको रुपमा मात्रै प्रयोग गर्ने परिपाटी छ। नेताहरुले युवाहरुलाई त्यतिमा मात्रै उपयोग गरे,’ उनले भने, ‘खेलकुदले समाजलाई कस्तो प्रभाव पार्छ भन्ने भन्दा पनि भोट बैंकको रुपमा मात्रै हेर्ने गरेका छन्।’ युवा पुस्तालाई खेलकुदप्रति लगाउने र राष्ट्रको लागि पदक जित्ने खेलकुद क्षेत्रलाई राजनीतिक दलका नेताहरुले बेवास्ता गरेको उनको भनाई थियो।  

राजनीतिक दलहरुले खेलकुदलाई केवल चुनावी अजेण्डा मात्रै बनाएका छन्। खेलकुदको विकासमा ठोस  काम भएको छैन। ‘खेलकुद राजनीतिक दलको रोजाईमै पर्दैन। परेपनि अन्तिममा पर्छ,’ माओवादी निकट भातृ संगठन योङ कम्युनिष्ट लिग(वाईसिएल)का अध्यक्ष सुमन देवकोटाले भने, ‘चुनावी अजेण्डामै सीमित हुदाँ खेलकुदको विकास भएको देखिँदैन।’ कास्की जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष समेत रहेका देवकोटाले खेलकुद विकास चुनावी अजेण्डामा राखेर झुक्याउने मात्रै काम भएको स्पष्ट पारे। उनले खेलकुदको भौतिक पूर्वाधार एवं प्रतियोगिताको लागि बजेटको आकार बढाउनुपर्नेमा जोड दिए।  

प्रकाशित: १८ वैशाख २०७९ ११:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App