२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सिटीमाथि लिभरपुलको दबाब कायम

इङ्लिस प्रिमियर लिगमा रेलिगेसनबाट बच्न संघर्षरत एभर्टनमाथि मर्सिसाइड डर्बीमा २–० को जितसहित लिभरपुलले शीर्ष स्थानको म्यानचेस्टर सिटीमाथिको दबाब कायम राखेको छ।

एन्फिल्डमा लिभरपुलसँगको हारअघि नै एभर्टन रेलिगेसन क्षेत्रमा झरेको थियो। बर्नलीले उल्भरह्याम्पटनमाथि १–० को जित हात पारेसँगै एभर्टन १८औं स्थानमा धकेलिएको थियो। दोस्रो हाफमा एन्डी रोबर्टसन र डिकोक ओरिगीले गरेको गोलमा लिभरपुलले सहज जितसहित सिटीमाथिको दबाब कायम राखेको हो। घरेलु मैदानमा लिभरपुलको यो लगातार १२ औँ जित हो।

सिटीको ३३ खेलमा ८० अंक छ, जुन समान खेल्दै दोस्रो स्थानमा बसेको लिभरपुलभन्दा एक अंक बढी हो। लिगमा अन्तिम ५ चरणका खेल बाँकी छन्।

‘हामीले निरन्तर स्वाभाविक प्रदर्शन गरिरहेका छौँ र नतिजा पनि सुखद आइरहेको छ,’ लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले भने, ‘एभर्टनविरुद्ध हामीले पहिलो हाफमा निकै संघर्ष गर्नुपर्‍यो। १–० को अग्रतापछि भने खेल सहज भयो। हामीले निरन्तर शीर्ष स्थानको सिटीमाथि दबाब बनाइरहेका छौं।’

अगस्टदेखि एभर्टनले एउटा पनि अवे खेल जित्न सकेको छैन। एभर्टन ३२ खेलमा २९ अंकसहित १८औं स्थानमा छ। एभर्टनलाई ६८ वर्षको प्रिमियर लिग हैसियत कायम राख्न अब मात्र ६ खेल बाँकी छ। पहिलो हाफको अन्तिम मिनेटमा साडियो मानेको प्रहार बाहिरिँदा एभर्टनले अग्रता लिने अवसर गुमाएको थियो। ६२औं मिनेटमा रोबर्टसनको गोलमा लिभरपुलले अग्रता लिएको थियो। खेल सकिन ५ मिनेट बाँकी रहँदा ओरिगीले लिभरपुलको अग्रता दोब्बर पारेका थिए।

‘हामीमाथि पक्कै पनि रेलिगेसनको दबाब थपिएको छ,’ एभर्टनका प्रशिक्षक फ्रांक लम्पार्डले भने, ‘तर टोलीले बाँकी रहेका ६ खेलमा सुखद नतिजा ल्याउँदै प्रिमियर लिगको हैसियत जोगाउँछ भन्नेमा म विश्वस्त छु। आज लिभरपुलविरुद्धको खेल हाम्रा लागि निकै महत्वपूर्ण थियो, नतिजाका साथै प्रतिष्ठाको हिसाबले पनि। तर हामीले पहिलो हाफमा क्लोपको टोलीलाई रोके पनि दोस्रो हाफमा रोक्न सकेनांै।’ एभर्टन १६औं स्थानको बर्नलीभन्दा दुई अंकले पछि छ। एभर्टनले आगामी खेलमा लाम्पार्डकै पूर्वक्लब चेल्सीको सामना गर्नेछ।

‘बर्नलीभन्दा हामी केही अंकले मात्र पछि छौँ, त्यसैले निराश भैहाल्नुपर्ने अवस्था छेैन,’ लाम्पार्डले थपे, ‘हामीले बर्नलीभन्दा अझै एक खेल कम खेलेका छौँ।’

प्रकाशित: १३ वैशाख २०७९ ०२:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App