१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

भालेकानोसँग बार्सिलोना स्तब्ध

बार्सिलोना आइतबार स्पेनिस ला लिगामा रायो भालेकानोसँग १–० ले स्तब्ध भएको छ। बार्सिलोनाको हारसँगै आगामी साता घरेलु मैदान सान्टियागो बर्नाबेउमा स्पानियोलसँग अंक बाँडे पनि रियाल मड्रिडले उपाधि उचाल्नेछ।

लगातार दोस्रो हारसँगै बार्सिलोनाको शीर्ष चारमा बस्ने सुनिश्चितता अझै भइसकेको छैन। घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनाको यो लगातार तेस्रो हार हो। गत साता ला लिगामा काडिचलाई नतिजा सुम्पिएको बार्सिलोना युरोपा लिगको क्वार्टरफाइनलमा पनि जर्मन बुन्डेसलिगा क्लब इन्ट्य्राक्ट फ्य्रांकफर्टसँग निराश हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो।

लिगमा ५ चरणको खेल बाँकी रहँदा दोस्रो स्थानको बार्सिलोना शीर्ष स्थानको रियालभन्दा १५ अंकले पछि परिसकेको छ। तेस्रो स्थानको सेभियाको पनि ६३ अंक छ भने चौथो स्थानको एट्लेटिको मड्रिडको ६१ अंक छ। त्यस्तै पाँचाैँ स्थानको रियाल बेटिसको ५७ र छैटौं स्थानको रियाल सोसिडाडको ५५ अंक रहेको छ। दोस्रोे स्थानको बार्सिलोना र पाँचाैँ स्थानको बेटिसबीचको दूरी मात्र ६ अंक छ।

‘अब अन्तिम चरणका खेल बाँकी छन् र सबै खेल कठिन हुनेछन्,’ बार्सिलोनाका प्रशिक्षक हाभीले भने, ‘हामीले पछिल्लो तीन खेलमा लय गुमायौं। हामीसँग दोस्रो स्थानमा सहज अग्रता लिने सुनौलो अवसर भए पनि हामीले त्यसको सदुपयोग गर्न सकेनाैँ।’

बार्सिलोनाले सबै खाले प्रतियोगिता गरी पछिल्ला ६ खेलमा मात्र २ खेल जितेको छ। जसले हाभीमाथि दबाब बढाएको छ। ‘हामी घरेलु मैदानमै संघर्षरत देखिएका छाैँ,’ हाभीले भने, ‘जसले हामीमाथि निरन्तर दबाब बढाइरहेको छ।’

केही साताअघि मात्र रियाल मड्रिडमाथि ४–० को जितपछि बार्सिलोनाले आफूलाई कम्तीमा शीर्ष चारको बलियो दाबेदारका रूपमा उभ्याएको थियो तर पछिल्लो समयको लगातार खराब नतिजापछि बार्सिलोनाले शीर्ष चारका लागि समेत संघर्र्ष गर्नुपर्ने देखिएको छ।

यता ४० अंक जोडेको भालेकानो भने ११औं स्थानमा उक्लिएको छ। सिजनमा उत्कृष्ट सुरुआतका बावजुद भालेकानो फेब्रुअरीदेखि अप्रिलसम्म १२ खेलमा जितविहीन थियो, तर अहिले भने भालेकानोले रेलिगेसनको खतरा पूर्ण रूपमा टारेको छ।

खेलको साताैँ मिनेटमा अल्भारो गार्सियाले गरेको गोल भालेकानोको जितमा पर्याप्त बन्यो। बार्सिलोनाले खेलमा फर्कने अवसर नपाएको पनि होइन तर मेम्फिस डिपेको प्रहार भालेकानोका रक्षक निकोला मारसले विफल पारेका थिए। त्यस्तै ओसामाने डेम्बेलेको प्रहार भालेकानोका गोलकिपर स्टोल डिमेट्रिभेस्कीले विफल पारेका थिए।

प्रकाशित: १३ वैशाख २०७९ ०१:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App