coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

उपाधि जित्ने दुवै टोलीको दाबी: एपिएफलाई पुलिसको चुनौती

कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री बिवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि विभागीय टोलीहरू एपिएफ क्लब र नेपाल पुलिस क्लब शनिबार भिड्दै छन्। धनगढी रंगशालामा शनिबार साँझ हुने फाइनलमा दुवै टोली उपाधिका लागि भिड्न लागेका हुन्।

वनदेवी युवा क्लबको आयोजनामा वैशाख ३ गतेदेखि सुरु भएको प्रतियोगिताको उपाधि जित्ने दुवै टोलीले दाबी गरेका छन्। शुक्रबार धनगढी रंगशालामा भएको प्रि म्याच कन्फ्रेन्समा फाइनलिस्ट दुवै टोलीका कप्तान र प्रशिक्षकले उपाधि जित्ने दाबी गरेका हुन्। उत्कृष्ट लयमा रहेको एपिएफकी कप्तान अनिता बस्नेतले फाइनल जित्नका लागि खेल्ने बताइन्। उनले रातिको समयमा खेल्दा केही कठिनाइ भए पनि उपाधि आफ्नो टोलीले जित्ने दाबी गरिन्।

‘पहिलोपटक लाइटमा खेल्दा आउने समस्याले गाह्रो भइरहेको छ। कुनै बेला लाइट विग्रँदा खेलको रिदम बिग्रने समस्या छ।’ कप्तान बस्नेतले भनिन्,‘सात वर्षपछि फाइनल पुगेका छौं। महिला गोल्डकप पहिलोपटक भएको हुँदा जसले हामी सबैलाई उत्साहित बनाएको छ। हामी च्याम्पियन हुन्छौं। त्यही हिसाबको तयारी छ।

एपिएफएका प्रशिक्षक जनकसिंह थारुले पनि जित्नका लागि खेल्ने बताए। ‘लिगमा पनि लगातार जितिरहेका छौं। नकआउट प्रतियोगिता पनि जित्छौं,’ प्रशिक्षक थारूले भने, ‘हामीले पुलिसलाई हराउँदै आएका छौं। फेरि हराएर उपाधि जित्छौं।’ एपिएफले सेमिफाइनलमा आर्मीलाई ३–२ ले हराएको थियो भने क्वार्टरफाइनलमा विराटनगर महानगरपालिकालाई ८–० को फराकिलो अन्तरले हराएको थियो।

नेपाल पुलिस क्लबले पनि उपाधि जित्ने दाबी गरेको छ। लामो समयपछि प्रतियोगिताको फाइनलमा पुगेकोले सोही अवसरलाई मौकामा बदल्ने पुलिसको दाबी छ। पुलिसकी कप्तान घिमकुमारी गुरुङले पनि जित्नका लागि खेल्ने बताइन्। ‘जित्नका लागि खेल्छौं। सबै जनाले त्यहीअनुसार तयारी गरेका छौं,’ कप्तान गुरुङले भनिन्, ‘लाइटमा नयाँ अनुभव लिइरहेका छौं। रमाइलो पनि भइरहेको छ। दिउँसो खेलेको भए गर्मी हुन्थ्यो। राति हुँदा सजिलो पनि भएको छ।’

पुलिसका प्रशिक्षक संञ्जीव जोशीले पनि जित्नकै लागि फाइनल खेल्ने बताए। ‘धेरै वर्षपछि फाइनल पुगेका छौं। जित्नका लागि खेल्छौं,’ प्रशिक्षक जोशीले भने,‘मैदानमा केही समस्या छ। बललाई चाहेअनुसार खेलाउन गाह्रो भइरहेको छ। नयाँ फर्मेसनअनुसार टोलीको प्रगति भइरहेको छ। राम्रै नतिजा आउँछ।’ पुलिसले सेमिफाइनलमा आयोजक वनदेवी युवा क्लबलाई ३–० को अन्तरले हराएको थियो भने क्वार्टरफाइनलमा चन्द्रपुर नगरपालिकालाई १–० ले हराएको थियो।

शनिबार धनगढी रंगशालामा समापन हुने गोल्डकपको विजेताले ट्रफीसहित नगद ५ लाख र उपविजेताले ट्रफीसहित २ लाख ५० हजार रूपैयाँ पुरस्कार राशि प्राप्त गर्नेछन्।

प्रतियोगितामा ओम्यान अफ दी म्याचलाई ५ हजार, त्यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १० हजार र प्रतियोगिताभरि उत्कृष्ट हुने खेलाडीलाई नगद ५० हजार रूपैयाँ प्रदान गर्ने आयोजक क्लबका अध्यक्ष सुसन जोशीले बताए। धनगढीमा दिउँसो अत्यधिक गर्मी हुने भएकाले पहिलो पटक रात्रिकालीन प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगिताको मुख्य प्रवर्द्धकमा सुप प्रदेश खेलकुद परिषद् रहेको छ।

प्रकाशित: १० वैशाख २०७९ ०२:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App