३ माघ २०८२ शनिबार
image/svg+xml
खेल

आँपपानी युवा क्लवको गोल्डकप फुटबल प्रतियोगितामा ८ टिम सहभागी

आँपपानी युवा क्लवले माघेनी मेलाको अवसरमा आयोजना गर्न लागेको अन्तर क्लव स्तरीय पुरुष गोल्डकप फुटबल प्रतियोगितामा ८ टिमको सहभागिता निश्चित भएको छ। प्रतियोगिता पुस २८ देखि आठराई त्रिवेणी गाउँपालिका वडा नं ४ स्थित आँपपानी युवा क्लवको खेल मैदानमा सुरु हुनेछ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा क्लवले प्रतियोगितामा सहभागी हुने टिमको जानकारी दिएको थियो। आयोजक क्लव सहित ताप्लेजुङ जिल्लाका विभिन्न टिमहरू सहभागी हुनेछन्। सहभागी टिममा मैवाखोला गाउँपालिका वडा नं १ को लिवर्टी युवा क्लव, मैवाखोला २ को सृजनशील युवा क्लव, मैवाखोला ३ को बुङदाक युवा क्लव, आठराई त्रिवेणी गाउँपालिका वडा नं ३ को हाङपाङ युवा समाज, फक्ताङलुङ गाउँपालिका वडा नं २ खेजेनिमको मानाभारा युथ स्पोर्टिङ क्लव, फुङलिङ नगरपालिकाको साथीभाई सामाजिक युवा क्लव, मेरिङदेन ६ नाल्बुको ग्रीनभ्याली स्पोर्टिङ क्लव, र आयोजक आँपपानी युवा क्लव छन्।

क्लवका अध्यक्ष टेकबहादुर लिम्बूका अनुसार प्रतियोगिताका विजेताले १ लाख १० हजार रुपैयाँ र उपविजेताले ६० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। यसबाहेक म्यान अफ द म्याच र विधागत उत्कृष्ट खेलाडीलाई समेत पुरस्कार दिइने क्लवले जनाएको छ। कोषाध्यक्ष लोकेन वनेमका अनुसार प्रतियोगिताका लागि आवश्यक रकम वैदेशिक रोजगारीमा रहेका खेलप्रेमी तथा अन्य दाताबाट संकलन गरिएको हो र यस पटक गाउँपालिका वा वडा स्तरबाट आर्थिक सहयोग नलिने योजना बनाइएको छ।

क्लवका सचिव हेमन्त लिम्बूका अनुसार यस वर्ष पर्याप्त तयारीको अभावका कारण गोल्डकपमै मात्र ध्यान केन्द्रित गरिएको छ भने अघिल्लो वर्ष सांस्कृतिक कार्यक्रमसहितका विविध गतिविधि पनि सञ्चालन गरिएको थियो।

प्रकाशित: २६ पुस २०८२ १८:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App