२४ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

मिलानको शीर्ष स्थान कायम

एसी मिलानले शुक्रबार जिनोवामाथि २–० को जितसहित इटालियन सिरी ‘ए’ को शीर्ष स्थान कायम राखेको छ। इन्टर मिलानले स्पेजियामाथि ३–१ को जितसहित केही घण्टाका लागि शीर्ष स्थानमा उक्लिँदै मिलानमाथिको दबाबलाई निरन्तरता दिएको थियो।

शुक्रबारको खेलअघि शीर्ष स्थानको मिलानले दोस्रो स्थानको इन्टरसँग दुई अंकको अग्रता लिएको थियो।जिनोवामाथिको जितपछि मिलानले सो अग्रता कायम राखेको हो। मिलानको ३३ खेलमा ७१ अंक छ भने एक खेल कम खेलेको इन्टरको ६९ अंक छ।

११औं मिनेटमा पियरी कालुलुको पासमा लियोनले गोल गर्दैै मिलानलाई अग्रता दिलाएका थिए। ८७औं मिनेटमा जुनियर मेसियासले गोल गर्दै मिलानको अग्रता दोब्बर पारेका थिए। तेस्रो स्थानको नेपालीको पनि ६९ अंक छ। सोमबार नेपोलीले एएस रोमाथि जित हात पारेमा मिलानसँग अंक बराबरी गर्नेछ।

चौथो स्थानको युभेन्ट्स भने मिलानभन्दा नौ अंकले पछि छ। ‘अबका सबै खेल महत्त्वपूर्ण छन्, हामी, इन्टर र नेपोलीबीच अंकदूरीमा धेरै अन्तर छैन,’ मेसियासले भने, ‘आज जिनोवाविरुद्धको खेल सहज हुने छैन भन्ने हामीलाई थाहा थियो। हामीले तीन अंक जोड्दै शीर्षता कायम राख्यौं।’

यसअघि ५७औं मिनेटमा ओलिभर जिरौडले गरेको प्रहार बाहिरिँदा मिलानले अग्रता बढाउने अवसर गुमाएको थियो। त्यस्तै लियोनको प्रहार पनि बाहिरिएको थियो। ‘हामीमाथि दबाब छ तर हामीले सोही दबाब चिर्दै उच्च प्रदर्शन गर्न आवश्यक छ,’ मिलानका प्रशिक्षक स्टेफानो पियोलीले भने।

मिलानले मंगलबार इटालियन कपको सेमिफाइनल दोस्रो लेगमा इन्टरको सामना गर्दै छ। यता इन्टरले भने लिगमा लगातार तेस्रो जितसहित मिलानमाथिको दबाब कायम राखेको हो। ‘आजको जित निकै महत्त्वपूर्ण छ। हामी निकै हर्षित छौं, तर हामीले यस्तै जितयात्रालाई निरन्तरता दिन आवश्यक छ,’ इन्टरका प्रशिक्षक सिमानी इन्जाघीले भने, ‘हामी निकै राम्रो टोली हौं। हामीसँग अब ६ चरणका मात्र खेल बाँकी छन् र हामी ६ वटै खेलमा शतप्रतिशत नतिजाका साथ उपाधि रक्षाको लक्ष्यलाई सार्थकता प्रदान गर्न चाहन्छौं।’

शनिबार सम्पन्न खेलमा काग्लियारीले भने सासौलोमाथि १–० को जितसहित रेलिगेसन संकट टार्ने सम्भावना उच्च पारेको छ। यस जितसँगै काग्लियारीले रेलिगेसन क्षेत्रमा रहेका टोलीसँगको दूरी ६ अंकमा पुर्‍याएको छ।

प्रकाशित: ४ वैशाख २०७९ ०४:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App