१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

बुद्ध र अनितालाई स्वर्ण

नेपालका बुद्ध लामा र अनिता सुब्बाले तेस्रो इमान अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शुक्रबारदेखि सुरु प्रतियोगितामा बुद्धले क्याडेट पुरुष ३१–४१ केजीमा र अनिताले सिनियर महिला ४६ केजीमा स्वर्ण जितेका हुन्। इन्टरनेसनल मार्सल आर्ट्स एकेडेमीको आयोजनामा जारी प्रतियोगितामा नेपालसहित, इङ्ल्यान्ड र भारतका गरी करिब पाँच सय खेलाडीले प्रतिस्पर्धा गर्दै छन्।

पहिलो दिन सब जुनियर पुरुष ३३ केजीमाथि भारतका नुर जन्नथ र सब जुनियरको महिला २०–२२ केजीमा नेपालकी योना थापाले स्वर्ण जिते। प्रतियोगिताको राखेपका उपाध्यक्ष शिव कोइरालाले तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठलाई खेल सामग्री प्रदान गरी एक कार्यक्रमबीच उद्घाटन गरेका थिए।

सो अवसरमा उपाध्यक्ष कोइरालाले नेपाली खेलकुद क्षेत्रमा रहेका एक प्रकृतिका समानान्तर खेल संघहरू विघटन गर्दै छिटै तदर्थ कमिटी बनाइने बताए। साथै उनले राज्यले लगानी गरेको खेलकुद संरचना र खेलसामग्री उपभोग गर्नबाट खेलाडीलाई वञ्चित गर्नु दण्डनीय काम भएको भन्दै नेपाल तेक्वान्दो संघलाई सचेत गराएका थिए ।

यही प्रतियोगिताका लागि तेक्वान्दो संघले राखेपद्वारा नै खरिद गरिएका खेलसामग्री प्रयोग गर्न वञ्चित गरेको भन्दै उनले सचेत गराएका हुन्। नेपाल राष्ट्रिय तेक्वान्दो संघका महासचिव राजकुमार कार्कीले नेपालको तेक्वान्दोमा देखिएको अन्योल छिट्टै समाधान हुने आशा व्यक्त गरे।

प्रतियोगितामा नेपालसहित, युके र भारतका करिब पाँच सय खेलाडीको सहभागिता रहेको प्रतियोगिता निर्देशक प्रेम भुजेलले जनाएका छन्। क्योरोगीको सिनियर पुरुष/महिलामा ६–६, जुनियर पुरुष/महिलामा ७–७ तथा सब जुनियरको पुरुष/महिलामा जम्मा ७ गरी कुल ३३ स्पर्धा समावेश छन्। त्यस्तै पुम्सेमा सब जुनियर, क्याडेट, सिनियर, जुनियर र मास्टर्सतर्फ पनि खेल भइरहेको छ।

प्रकाशित: २६ चैत्र २०७८ ०२:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App