१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

हारबाट जोगियो बार्सिलोना

दोस्रो हाफमा फेरान टोरेसले गोल गरेपछि १–१ गोलको बराबरी खेलेको बार्सिलोना बिहीबार युरोपा लिगअन्तर्गत इन्ट्य्राक्ट फ्य्रान्कफर्टसँग क्वार्टरफाइनलको पहिलो लेगको खेलमा हारबाट जोगिाएको छ।

घरेलु मैदानमा भएको खेलमा सुरुआती अग्रता निकाले पनि फ्य्रान्कफर्टले जोगाउन नसक्दा पहिलो लेगमा १–१ गोलको बराबरी खेलेको हो। ब्राजिलियन डिफेन्डर टुटा ७८औं मिनेटमा दोहोरो पहेंलो कार्डको सामना गर्दै मैदानबाट बाहिरिए पनि बाँकी समय कम खेलाडी भएको फाइदा उठाउन बार्सिलोना असफल रहेको थियो।

यसअघि दुबै टोलीले पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए। ४८औं मिनेटमा फ्य्रान्कफर्टका लागि एन्स्गर नौफले गोल गर्दै घरेलु टोलीका लागि सुरुआती अग्रता दिलाएका थिए। फ्य्रान्कफर्टको अग्रता धेरै समय टिकेन। ६६औं मिनेटमा टोरेसले गोल गर्दै बार्सिलोनालाई बराबरीमा ल्याएसँगै हारबाट पनि जोगाउन सफल भए।

‘दोस्रो लेग बाँकी छ। पहिलो लेगको खेलमा पछि परेको अवस्थालाई बराबरीमा ल्याउँदै खेलमा फर्किनु पनि महत्वपूर्ण नतिजा हो,’ बार्सिलोनालाई हारबाट जोगाएका टोरेसले भने, ‘फ्य्रान्कफर्ट बलियो प्रतिद्वन्द्वी हो। अझ घरेलु मैदानमा सामना गर्नु हाम्रो लागि चुनौतीपूर्ण थियो। धैर्यपूर्वक खेल प्रदर्शन गर्दा पछि परेको अवस्थामा खेलमा बराबरी खेल्न सफल भयौं।’

‘हामीले उत्कृष्ट प्रदर्शन गर्दै भ्रमणकारी टोलीलाई दबाबमा राखेका थियौं। निर्धारित ९० मिनेट हामीले अधिकांश समय बलमा पकड जमाउँदै दबाब दिएका थियौं,’ एन्स्गर नौफले भने, ‘सुरुआती अग्रता जोगाउन नसक्दा आगामी लेगमा हामीले दबाब झेल्नुपर्ने अवश्य छ। दोस्रो लेगमा जस्तो नतिजा पनि हुन सक्छ। जुन हामीले आंकलन गर्न सक्दैनौं।’

युरोपा लिगअन्तर्गत क्वार्टफाइनलको पहिलो लेगमा पोर्चुगिज क्लब ब्रागाले स्कटिस फुटबल क्लब रेन्जर्सलाई १–० हराउँदै सेमिफाइनल प्रवेश सम्भावना जीवित राखेको छ। प्रतिस्पर्धात्मक बनेको खेलको ४०औं मिनेटमा रुइजले गरेको गोलमा ब्रागाले अग्रता लिएको थियो। सोही अग्रताले नै ब्रागालाई अघिल्लो चरण प्रवेश सम्भावनलाई बलियो बनाएको हो।

त्यस्तै वेस्टह्याम युनाइटेड लियोनसँग १–१ को बराबरीमा रोकिएको छ। ५२औं मिनेटमा जारोड बावेनले गरेको गोलमा वेस्टह्यामले अग्रता लिएको थियो। ६६औं मिनेटमा तन्गाई एनडोम्बेलेले गरेको गोलमा लियोन खेलमा फर्किएको थियो।  जर्मन बुन्डेसलिगा क्लब आरबी लिपजिग र  एट्लान्टाले पनि क्वार्टरफाइनल पहिलो लेगमा १–१ को बराबरी खेलेका छन्।

प्रकाशित: २६ चैत्र २०७८ ०२:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App