७ वैशाख २०८१ शुक्रबार
खेल

खराब ब्याटिङ निरन्तरता

संयुक्त अरब इमिरेट्स (युएई) मा मार्चको दोस्रो सातादेखि हुने विश्व क्रिकेट लिग–२ को तयारी स्वरूप अभ्यासका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीको खराब ब्याटिङले दोस्रो दिन पनि निरन्तरता पाएको छ।

यद्यपि, नेपालले जित यात्रालाई भने दोस्रो खेलमा पनि कायम राख्यो र यसपटक पनि टोलीका लागि दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शन रह्यो। नेपालले मंगलबार श्रीलंका नेभीलाई ८२ रनले पराजित गरेको हो।

सोमबारको पहिलो खेलमा पनि नेपालले नेभीलाई एक सय ११ रनले हराएको थियो। सो खेलमा पनि दीपेन्द्रले सर्वाधिक ४३ रनको योगदान दिएका थिए। नेपालले प्रस्तुत गरेको एक सय ९७ रनको झीनो लक्ष्य पछ्याएको नेभी ३०.५ ओभरमा १ सय ५ रनमा नै सीमित भयो। नेभीले खाता नखोल्दै ओपनर मायान्था वारुनालाई पहिलो विकेटको रूपमा गुमायो।

दोस्रो विकेटका लागि डायस र नुवान्था केसराले ४९ रनको साझेदारी गर्दै नेभीको इनिङ सम्हाल्ने संकेत गरे तर १४औं ओभरको पाँचौं बलमा नुवान्था पवेलियन फर्केपछि नेभीको इनिङ धरमरायो। नुवान्थाले ४९ बलमा ५ चौकासहित ३४ रन जोड्दा डायसले १४ रन बनाए।

त्यसपछि ब्याटिङमा आएका गुरुसिंंहाले ४१ बलमा एक चौका र दुई छक्कासहित २४ रन जोडे। ४९–२ को स्थितिमा रहेको नेभीले थप ६६ रन जोड्दा बाँकी आठ विकेट नै गुमाउँदा नेपालले सहज जित निकाल्यो। नेपालका लागि पवन सर्राफले पाँच ओभरमा २६ रन खर्चेर चार विकेट लिए।

त्यस्तै दीपेन्द्रले दुई तथा कप्तान सन्दीप लामिछाने, कुशल भुर्तेल र विक्रम सोबले समान एक विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपाल ४३.४ ओभरमा १ सय ९६ रनमा सीमित भयो। नेपालले ३ रन जोड्दा ओपनर ज्ञानेन्द्र मल्ललाई १ रनमै गुमायो।

उनी दोस्रो खेलमा पनि १ रनमै आउट भए। थप ५ रन जोड्दा अर्का ओपनर कुशल भुर्तेललाई पनि गुमाएपछि नेपाल दबाबमा पर्‍यो। २८ रन जोड्दा रोहितकुमार पौडेल ८ रनमा रनआउट भए। थप ४ रन जोड्दा विनोद भण्डारी २ रनमा पवेलियन फर्किएपछि नेपाल ३२–४ को कठिन स्थितिमा पुग्यो।

तर, दीपेन्द्रले पाँचौं विकेटका लागि पवनसँग ४८ रन र छैटौं विकेटका लागि भीम सार्कीसँग ५७ रनको साझेदारी गर्दै नेपालको इनिङ उकासे। दीपेन्द्रले ७९ बलमा पाँच चौका र एक छक्कासहित सर्वाधिक ६५ रन बनाए। भीमले ४२ बलमा एक चौका प्रहार गर्दै ३० रन जोडे।

त्यस्तै विवेक यादवले २६ र पवनले २२ रन बनाए। श्रीलंकन टोलीको बलिङमा दक्षिणाले तीन विकेट लिँदा मदुसान र कोमरसामीले समान दुई विकेट निकाले। शुक्रबार श्रीलंका पुलिससँग तेस्रो अभ्यास खेल खेल्नेछ।

प्रकाशित: २५ फाल्गुन २०७८ ०३:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App