१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

भारतको उत्तराधिकारीमाथि रोहितको विश्वास

भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले आफ्नो सम्भावित उत्तराधिकारीलाई सहयोग गर्न पाउँदा खुसी भएको बताएका छन्।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)ले यसअघि नै रोहितलाई विराट कोहलीको स्थानमा एकदिवसीय र ट्वान्टी–२० क्रिकेट टोलीको कप्तानको जिम्मेवारी दिइसकेको छ।

शनिबार बिसिसिआईले रोहितलाई टेस्ट टोलीको समेत कप्तानीको जिम्मेवारी दिएको थियो। शर्मा अप्रिलमा ३५ वर्ष लाग्दैछन्। बिसिसिआईले जसप्रीत बुमराह, केएल राहुल र ऋषभ पन्तलाई रोहितको सम्भावित उत्तराधिकारीका रूपमा लिएको छ। ‘मैले उनीहरूलाई धेरै सिकाइरहनु पर्छ जस्तो लाग्दैन।

उनीहरू अनुभवी खेलाडी हुन्,’टेस्ट कप्तानमा नियुक्त भएपछिको पहिलो पत्रकार सम्मेलनमा रोहितले भने, ‘तर उनीहरूलाई पनि कसैले कठिन समयमा हौसला दिनुपर्छ। मलाई पनि मभन्दा अघिका कप्तानले हौसला दिन्थे। त्यसैगरी बुमराह, राहुल र पन्तलाई सिकाउन पाउँदा म निकै खुसी छु।’ यी तीनै जना खेलाडीले भारतको सफलतामा ठूलो भूमिका खेल्दै आएको उनको भनाइ छ। उनीहरूलाई सम्भावित कप्तानको रूपमा समेत हेरिएको छ। २८ वर्षे बुमराहलाई बिहीबार श्रीलंकाविरुद्ध सुरु हुने तीन ट्वान्टी–२० र दुई टेस्ट शृंखलाका लागि भारतले उपकप्तानमा नियुक्त गरेको छ।

२९ वर्षे राहुलले जनवरीमा दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय शृंखलामा टोलीको कप्तानी गरेका थिए। उनले चोटका कारण श्रीलंकाविरुद्धको खेल भने गुमाउनेछन्। २४ वर्षे पन्तसँग इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सको कप्तानी समालिसकेको अनुभव छ। ‘बुमराहलाई टेस्ट र ट्वान्टी–२० क्रिकेट टोलीको उपकप्तानीको जिम्मेवारी दिए पनि उनीमाथि दबाब नबढाउने रोहित बताउँछन्। ‘एउटा उपकप्तान टोलीको बलर वा ब्याटर जे भए पनि त्यसले सो खेलाडीमाथि दबाब बढाउँछ जस्तो मलाई लाग्दैन,’रोहितले भने, ‘बुमराह उत्कृष्ट खेलाडी हुन् र उनले दबाबमा परेर स्वाभाविक लय गुमाउँछन् भन्ने मलाई लाग्दैन। उनी भविष्यमा यस टोलीको नेतृत्व लिनका लागि सधै अग्रसर हुनुपर्छ। दबाबका बीच स्वाभाविक प्रदर्शनलाई निरन्तरता दिन सक्नुपर्छ।’ 

प्रकाशित: १२ फाल्गुन २०७८ ०४:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App