२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

आइतबारदेखि पाँचपोखरी ट्वान्टी–२० क्रिकेट

पाँचपोखरी ट्वान्टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिता आइतबारदेखि सुरु हुने भएको छ।

पाँचपोखरी थाङ्पाल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा आगामी आइतबारदेखि ट्वान्टी–२० जिल्लास्तरीय क्रिकेट हुन लागेको हो। काठमाडौंको मूलपानी क्रिकेट मैदानमा आठ दिनसम्म चल्ने प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको तेस्रो संस्करणसम्म पाँचपोखरी थाङ्पाल गाउँपालिकामा नै सञ्चालन भएको थियो। बुधबार जोरपाटीमा एक कार्यक्रमबीच थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले प्रतियोगिताबाट पाँचपोखरीको पर्यटन प्रवर्धन हुने विश्वास व्यक्त गरे।

‘यस प्रतियोगिताले पाँचपोखरीको पर्यटन प्रवर्धन हुने विश्वास लिएको छु। बहुउद्देश्यीय मैदान निर्माण गर्न लागिएको छ। अर्काे संस्करणसम्म त्यो मैदान तयार हुनेछ,’लामाले भने। सहभागी टोलीले सिन्धुपाल्चोक जिल्लाका खेलाडी मात्र राख्न पाउने प्रावधान रहेको आयोजकले जनाएको छ। यसअघि जितबहादुर खड्का स्मृति पाँचपोखरी सुपर ८ ‘एस’ जिल्लास्तरीय क्रिकेट प्रतियोगिता हुँदै आएको थियो।

यस संस्करणदेखि नाम परिमार्जन गरी पाँचपोखरी ट्वान्टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिता गर्न लागिएको हो। प्रतियोगिताको विजेताले ७५ हजार र उपविजेताले ४० हजार रूपैयाँ सहित ट्रफी र मेडल प्राप्त गर्नेछन्।

प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीका साथै उत्कृष्ट ब्याट्सम्यान, बलर र अलराउन्डरले ट्रफी र प्रमाणपत्र पाउनेछन्। सर्वोत्कृष्ट खेलाडीलाई ग्रेट हिमालय क्रिकेट एकेडेमीले एक वर्षको निशुल्क प्रशिक्षण प्रदान गर्नेछ।

उत्कृष्ट बलर र ब्याट्सम्यानले भने ६ महिनाको निशुल्क क्रिकेट प्रशिक्षण पाउने पाँचपोखरी थाङ्पाल गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष टासी शेर्पाले बताए। सिन्धुपाल्चोक जिल्लामा पछिल्ला केही वर्षयता मात्र क्रिकेट प्रतियोगिता हुन थालेको हो। एभरेस्ट प्रिमियर लिग (इपिएल)को फ्रेन्चाइज टोली काठमाडौं किंग्स–११ का टिम म्यानेजर विजयकुमार धितालको अग्रसरता सिन्धुपाल्चोकमा क्रिकेट विकास सुरु भएको थियो। 

प्रकाशित: १२ फाल्गुन २०७८ ०३:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App