१८ असार २०८१ मंगलबार
image/svg+xml
खेल

पुलिस र संकटा अग्रता जोगाउन असफल

पहिलो मिनेटमै लिएको अग्रता जोगाउन नसक्दा नेपाल पुलिस क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मंगलबार विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो मिनेटमै सुमन लामाको गोलबाट पुलिसले अग्रता लिए पनि जोगाउन नसक्दा एपिएफसँग अंक बाँडेको हो। अर्को खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले संकटा क्लबलाई ३–१ ले पराजित गर्‍यो। एपिएफका डिफेन्डरबीच तालमेल नमिल्दा सुमनले त्यसको फाइदा उठाउँदै पहिलो मिनेटमा नै पुलिसलाई अग्रता दिलाए। कपिल ढकालको लामो पास एपिएफका रक्षक एडमा डौम्बिया राम्रोसँग क्लियर गर्न चुकेका थिए।

एपिएफका गोलकिपर युया कुरियामा अगाडि बढेको अवस्थामा सुमनले डौम्बियाले क्लियर गरेको बल नियन्त्रणमा लिँदै खाली पोस्टमा गोल गरे। त्यसपछि दबाबमा परेको एपिएफले पहिलो हाफ सकिन चार मिनेट बाँकी रहँदा गोल फर्कायो। प्रदीप लामाले ४१औं मिनेटमा गोल गर्दै एपिएफलाई खेलमा फर्काए। प्रदीपले २० यार्ड टाढाबाट हानेको प्रहार सोझै गोलमा परिणत भयो। पहिलो हाफ १–१ को बराबरीमा सकियो। दोस्रो हाफमा दुवै तर्फबाट प्रयास भए पनि गोल निस्किएन। समान १२ खेलबाट एपिएफले १५ अंक जोड्दा पुलिसले भने १२ अंक बनायो।

पुलिस ११औं स्थानमा यथावत् छ। १२औं चरणको अन्तिम खेलमा विभागीय क्लब त्रिभुवन आर्मीले संकटा क्लबलाई ३–१ ले पराजित गर्‍यो। संकटाको अग्रता उल्टाउँदै आर्मीले महत्त्वपूर्ण तीन अंक जोड्यो। आर्मीले लिगमा अपराजित यात्रालाई १२औं चरणसम्म निरन्तरता दिएको छ।

प्रतिस्पर्धात्मक बनेको खेलमा संकटाले पहिलो हाफमा लिएको अग्रतालाई दोस्रो हाफमा कायम राख्न सकेन। १५औं मिनेटमा उत्तम राईको गोलबाट संकटाले अग्रता लिएको थियो। पहिलो हाफमा फितलो प्रदर्शन गरेको आर्मीले दोस्रो हाफमा भने सुधारिएको प्रदर्शन गर्‍यो।

सन्तोष तामाङले ६०औं मिनेटमा गोल गर्दै आर्मीलाई खेलमा फर्काए। त्यसपछि लयमा फर्किएको आर्मीले ७४औं मिनेटमा अग्रता लियो। जर्जप्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई अग्रता दिलाए। खेल सकिन चार मिनेट बाँकी रहँदा टेकबहादुर बुढाथोकीले गोल थप्दै आर्मीको जित निश्चित गरे। जितसँगै आर्मी अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। १२ खेलबाट २२ अंक जोडेको आर्मीले न्युरोड टिम (एनआरटी) लाई दुई अंकले पछि पारेको छ। संकटा सातौं स्थानमा यथावत् छ।

यससँगै लिगमा १२औं चरणका खेल पनि सकिएका छन्। लिगमा अब अन्तिम तथा १३औं चरणका खेल बाँकी छन्। १३औं चरण बिहीबारदेखि हुनेछ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सार्वजनिक गरेको खेलतालिकाअनुसार १३औं चरणको खेलहरू दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा हुनेछन्। दशरथ रंगशालामा चार खेल हुँदा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा तीन खेल हुँदै छ। लिगको उपाधि मच्छिन्द्र क्लबले रक्षा गरिसकेको छ। च्यासल युथ र ब्रिगेड ब्वाइज क्लब ‘बी’ डिभिजनमा घटुवा भएका छन्।

प्रकाशित: ११ फाल्गुन २०७८ ०२:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App