१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
खेल

सहीद स्मारक ‘ए’ डिभिजन लिगः पुछारका टोलीबीच रोमाञ्चक होड

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा अब दुई चरणका खेल मात्र बाँकी छन्। साबिक विजेता मच्छिन्द्रले उपाधि रक्षा गरिसकेको छ भने रेलिगेसनबाट बच्न पुछारका टोलीमा होड रोमाञ्चक बनिरहेको छ।

यस्तै १२औं चरणको खेलमा मनाङ मस्र्याङ्दी र थ्री स्टारसँगै त्रिभुवन आर्मी क्लबबीच च्याम्पियन मच्छिन्द्रपछिको स्थानका लागि प्रतिस्पर्धा हुँदै छ।

१२औं चरणको खेलमा शनिबार रेलिगेसनबाट बच्न संघर्ष गरिहेको टोली च्यासल युथ क्बलले रेलिगेसन क्षेत्रभन्दा एक स्थान माथि रहेको फ्रेन्ड्स क्लबसँग प्रतिस्पर्धा गर्दै छ। रेड जोनमा अवस्थित दुवै टोलीलाई जित आवश्यक छ।

फ्रेन्ड्सले रेलिगेसन निश्चित गर्न खराब नतिजाबाट गुज्रिरहेको च्यासल युथविरुद्ध स्पष्ट अंकका लागि खेल्नेछ भने च्यासल पनि रेलिगेसनबाट बच्ने गुरुयोजनाका साथ फ्रेन्ड्सविरुद्ध मैदान उत्रिनेछ। च्यासललाई फ्रेन्ड्ससँगको हारले रेलिगेसन पक्काजस्तै हुने भएकाले टोलीले गर या मरको अवस्थामा तीन अंकका लागि खेल्नेछ।

रेलिगेसन क्षेत्रभन्दा माथि भए पनि अंक अन्तर झीनो हुँदा बराबरी वा पराजयले फ्रेन्ड्समाथि खतराको घन्टी बज्नेछ। सोही कारण रेलिगेसन संकट टार्न कुनै पनि हालतमा जितको खोजीमा खेल्ने फ्रेन्ड्सका प्रशिक्षक मृगेन्द्र मिश्रले बताए। ‘यो वर्षको लिगमा अडिरहन च्यासल युथविरुद्ध हुने खेलमा हामीलाई तीन अंक निकै महत्वपूर्ण छ।

अघिल्लो बराबरीले हामीलाई सजिलै बचिन्छ भन्ने सम्भावन न्यून छ,’ फ्रेन्ड्सका प्रशिक्षक मिश्रले भने, ‘कुनै पनि हालतमा तीन अंक खोस्ने तरिकाले खेल्ने हो। हामीलाई जितको विकल्प छैन। जसरी भए पनि जित निकाल्न हाम्रा लागि निकै आवश्यक छ।’

१२औं चरणको खेलअन्तर्गत शनिबार नै हुने दिनको दोस्रो खेलमा मच्छिन्द्र फुटबल क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुँदै छ। मच्छिन्द्र थ्री स्टारविरुद्धको खेलमा जित निकाल्दै जारी लिगमा अपराजित यात्रालाई निरन्तरता दिन चाहन्छ। यस्तै सुरुआती खेलमा खराब नतिजा निकालेको थ्री स्टार तालिकामा दोस्रो स्थानमा अटाउने लक्ष्यका साथ तीन अंकको खोजीमा बलियो मच्छिन्द्रविरुद्ध खेल्नेछ।

च्याम्पियन मच्छिन्द्र फुटबल क्लबका प्रशिक्षक प्रवेश कटुवालले अपराजित रहँदै लिग पूरा गर्ने लक्ष्यसहित थ्री स्टारविरुद्ध सुखद नतिजाका लागि खेल्ने बताए। ‘सुरुआती चरणमा केही अलमलिएको थ्री स्टार पछिल्ला खेलमा नयाँ विदेशी खेलाडी आएसँगै सन्तुलनमा देखिएको छ।

थ्री स्टार पनि बलियो टोली हो,’ मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले भने, ‘च्याम्पियन भए पनि हामी जारी लिग अपराजित रहँदै समापन गर्ने लक्ष्यमा छौं। अर्को नयाँ इतिहास रच्ने लक्ष्य भएकाले थ्री स्टारविरुद्ध स्पष्ट अंकको खोजीमा मैदान उत्रनेछौं।’

१२औं चरणको खेलअन्तर्गत विभागीय टोली नेपाल पुलिस क्लब र एपिएफबीच प्रतिस्पर्धा हुँदै छ। एपिएफले अघिल्ल्ला खेलमा अपनाएको सुखद रणनीतिको सूत्रलाई निरन्तरता दिन चाहन्छ भने पुलिस पनि जितको खोजीमा मैदान उत्रिनेछ। सम्मानजनक स्थान प्राप्त गर्न पुलिसका लागि जित निकै महत्वपूर्ण हुनेछ।

११औं चरणको खेल सकिँदासम्म च्याम्पियन टोलीको टुङ्गो लागिसकेको छ भने रेलिगेसनमा पर्ने टोलीको निधो हुन बाँकी छ। औसत प्रदर्शन गरेका पुछारका टोलीले बलिया टोलीविरुद्ध प्रतिस्पर्धामक र सुखद नतिजा निकाल्दा खेल लिगको अन्तिमसम्म रोमाञ्चक हुन सक्नेछ। बिहीबार मनाङविरुद्धको जितबाट एपिएफले रेलिगेसनको डर टारेको छ। एपिएफले ११ खेलमा १४ अंक जोडेको छ। एपिएफ आठौं स्थानमा उक्लिएको छ।

उता पराजित मनाङले ११ खेलमा २० अंक जोडेको छ। मनाङ दोस्रो स्थानमा शीर्ष स्थानको मच्छिन्द्रभन्दा ९ अंकले पछि छ। ११औं चरणको खेलको टुङ्गो लाग्दा साबिक विजेता मच्छिन्द्र च्याम्पियन भइसकेको छ। ११ खेलमा २९ अंक जोडेको मच्छिन्द्र शीर्ष स्थानमा रहँदा दोस्रो स्थानमा मनाङ रह्यो। १९ अंकका साथ त्रिभुवन आर्मी फुटबल क्लब तेस्रो स्थानमा अटाउँदा चौथो स्थानमा थ्री स्टार छ। थ्री स्टारको १८ अंक छ।

यस्तै एनआरटी १७ अंकका साथ पाँचौं स्थानमा रहँदा च्यासल युथ क्लब रेलिगेसनको पुछारमा छ। यस्तै ब्रिगेड ब्वाइज पनि रेलिगेसन क्षेत्रको दोस्रो स्थानमा छ। ब्रिगेडसहित समान ७ अंक रहेको फ्रेन्ड्स गोलअन्तरमा रेलिगेसन क्षेत्रभन्दा एक स्थानमाथि १२औं स्थानमा छ।

प्रकाशित: ७ फाल्गुन २०७८ ०५:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App