१४ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

दुई खेलअगावै मच्छिन्द्रद्वारा उपाधि रक्षा

११औं चरणको खेलसम्म अपराजित यात्रालाई निरन्तरता दिने क्रममा बुधबार सातदोबाटो युथ क्लबमाथि १–० को जित निकालेको मच्छिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि रक्षा गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा सातदोबाटो युथ क्लबमाथि रोमाञ्चक १–० को जित निकाल्दै मच्छिन्द्रले दुई खेलअगावै उपाधि रक्षा गर्न सफल भएको हो। मच्छिन्द्रलाई च्याम्पियन बनाउन विदेशी खेलाडी नोर्लान नोभ्रुजोभले ५३औं मिनेटमा गरेको गोल निर्णायक भएको हो।

सुनील बलको क्रसमा देवेन्द्र तामाङको हेडर सातदोबाटोका गोलकिपर अभिषेक बरालले बचाए पनि क्रसबारमा लाग्दै फर्किएको बलमा नोर्लान गोल गर्न सफल भएका थिए। त्यही गोल टोलीलाई च्याम्पियन बन्नका लागि पर्याप्त भयो। यससँगै मच्छिन्द्रले लगातार दोस्रो पटक शीर्ष डिभिजन लिगको उपाधि जितेको हो। मच्छिन्द्रले पछिल्लो पटक २०७६ सालमा अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै उपाधि जितेको थियो।

उपाधि रक्षा गरेसँगै मच्छिन्द्र फुटबल क्लबका प्रशिक्षक प्रवेश कटुवालले रणनीतिक हिसाबबाट फुटबल खेल्दा उपाधि रक्षा गर्न सफल भएको प्रतिक्रिया दिए।

‘प्लानअनुसार लिग खेल्यौं। खेलाडी, म्यानेजमेन्ट टिम र प्रायोजकको मेहनतले पुनः सफलता हात लागेको हो,’ प्रशिक्षक कटुवालले भने, ‘जितको श्रेय खेलाडीमा जान्छ। उपाधि रक्षा गर्न खेलाडीको मिहिनेत निकै ठूलो छ। आजको खेलमा बलिया टोलीलाई हराउँदै लिगमा राम्रो गरेको सातदोबाटोले हामीविरुद्ध पनि राम्रो खेल्यो। तीन अंक जोड्नु थियो, सफल भयौं। यसले च्याम्पियन भएका छौं।’

यस्तै मच्छिन्द्रका कप्तान सुजल श्रेष्ठले लिगको सुरुआत सोचेजस्तो नभए पनि केही खेलपछि टिमको तालमेल मिलेको बताए।

‘खेल जित्दा खुसी छु। लिग जित्दा खुसी लागेको छ। टिमले राम्रो प्रदर्शन गर्‍यो,’ कप्तान सुजलले भने, ‘टिमको प्रदर्शन राम्रो रह्यो। एकजुट भएर खेल्दा सफल भयौं।’

यसअघि बलियो टोलीविरुद्ध राम्रो नतिजा निकालेको नवप्रवेशी सातदोबाटो र मच्छिन्द्रबीचको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो। यद्यपि सुरुआतबाट आक्रामक खेल खेलको मच्छिन्द्र पहिलो हाफमा केही राम्रा अवसर सिर्जना गरे पनि सदुपयोग गर्न असफल भएको थियो।

जितसँगै शीर्ष स्थानको मच्छिन्द्र ११ खेलमा २९ अंक जोडेर दुई खेलअगावै च्याम्पियन भएको हो। मच्छिन्द्र दोस्रो स्थानको मनाङभन्दा ९ अंकले अघि रहेको छ। मनाङको २० अंक छ। सातदोबाटोले ११ खेलमा १५ अंक जोडेको छ। सातदोबाटो छैटौं स्थानमा रहेको छ।

ए डिभिजन लिग अन्तर्गत बुधबारकै अर्को खेलमा त्रिभुवन आर्मी क्लब हिमालयन शेर्पासँग १–१ गोलको बराबरीमा रोकियो। १० खेलाडीमा समेटिएको आर्मीले सुरुआती अग्रता जोगाउन नसक्दा आर्मी बराबरीमा रोकिएको हो। खेलको २६औं मिनेटमा कप्तान जर्ज प्रिन्स कार्कीको गोलबाट अग्रता लिएको आर्मी ६५औं मिनेटमा मुताम्बा पिस्टोनले गोलबाट बराबरीमा आएको थियो।

इन्जुरी समयमा गोलकिपर विकेश कुथुले रातो कार्ड पाएपछि आर्मी १० खेलाडीमा समेटिएको थियो। हिमालयनका सुरेश कुमाललाई पेनाल्टी क्षेत्रबाहिर आएर खराब फाउल गरेपछि विकेशले रातो कार्डको दर्शन गर्दै मैदान बाहिरिएका थिए। बराबरीसँगै आर्मीले ११ खेलमा १९ अंक जोड्यो। आर्मी लिगको तेस्रो स्थानमा छ। हिमालयनले ११ खेलमा १२ अंक जोडेको छ। हिमालयन आठौं स्थानमा छ।

बुधबार भएको खेलमा थ्री स्टार र पुलिसले पनि १–१ गोलको बराबरी खेले। दशरथ रंगशालामा नै भएको खेलमा थ्री स्टारले सुरुआती अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको हो। खेलको २१औं मिनेटमा ऋतिक कुमार खड्काले गोल गर्दै थ्री स्टारलाई सुरुआती अग्रता दिलाएका थिए। ५१औं मिनेटमा सुमन सुवेदीले गोल गर्दै पुलिसलाई १–१ गोलको बराबरीमा ल्याएपछिको बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल बराबरीमा सकिएको थियो। बराबरीसँगै थ्री स्टारले ११ खेलमा १८ अंक जोडेको छ। पुलिसले ११ खेलमा ११ अंक जोडेको छ।

लिगमा बिहीबार दुई खेल हुनेछन्। ललितपुरस्थित एन्फा मुख्यालयको मैदानमा न्युरोड टिम (एनआरटी) र संकटा तथा दशरथ रंगशालामा एपिएफ र मनाङ मर्स्याङ्दी फुटबल क्लबबीच खेल हुनेछ। दुबै खेल एकै समयमा दिनको १ बजे हुनेछन्।

प्रकाशित: ५ फाल्गुन २०७८ ०१:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App