१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

कृष्णप्रसाद स्मृति राष्ट्रिय कराते चैतमा

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद भट्टराईको स्मृतिमा प्रथम राष्ट्रिय कराते प्रतियोगिता चैतको अन्तिम सातादेखि हुने भएको छ। नेपाल कराते महासंघको तत्वावधान तथा नेपाल लोकतान्त्रिक खेलकुद संघ, जिल्ला प्रमुख डोजो लगनखेलको संयुक्त आयोजनामा प्रतियोगिता चैत २४ देखि २६ गतेसम्म हुन लागेको हो।

शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक डोजोका अध्यक्ष दीपक श्रेष्ठले प्रतियोगिताका बारेमा जानकारी दिएका हुन्। प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली (नेपाल आर्मी, नेपाल प्रहरी र एपिएफ) गरी १० टोलीको सहभागिता जनाउनेछन्। प्रतियोगितामा एकल र टिम कातासहित पुरुषमा ११ तथा महिलामा १० गरी २१ स्पर्धामा प्रतिस्पर्धा हुनेछन्।

पुरुषमा १ सय १० र महिलामा सय गरी २ सय १० खेलाडीले चुनौती प्रस्तुत गर्नेछन्। टिम च्याम्पियनलाई एक लाख रूपैयाँ नगद पुरस्कार दिइने छ भने उत्कृष्ट पुरुष/महिला खेलाडीले पनि नगद पाउनेछन्। नेपाल कराते महासंघका कार्यवाहक अध्यक्ष दावा गुरुङले यसै प्रतियोगिताबाट चीनमा हुने १९औं एसियाली खेलकुदका लागि खेलाडीको प्रारम्भिक छनोट गरिने पत्रकार सम्मेलनमा जानकारी दिए।

करातेका प्रमुख प्रशिक्षक हीरासिंह डंगोलले प्रत्येक तौलसमूहबाट चार खेलाडीका दरले २१ स्पर्धामा ८४ खेलाडीको प्रारम्भिक छनोट गरिने बताए। प्रतियोगिता सातदोबाटोस्थित करातेको हलमा आयोजना हुनेछ। 

प्रकाशित: १ फाल्गुन २०७८ ०४:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App