२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

बलिङमा चल्न नसक्दा नेपाल पराजित

दीपेन्द्रसिंह ऐरीको लय जारी रहे पनि नेपालले शनिबार चारदेशीय ट्वान्टी–२० क्रिकेट शृंखलामा संयुक्त अरब इमिरेट्स(युएई) सँग २५ रनको हार बेहोरेको छ। अल एमेरत क्रिकेट मैदानमा १ सय ९३ रनको विशाल लक्ष्य पछ्याएको नेपालका लागि ऐरीले लय जारी राखे पनि जित दिलाउन सकेनन्। 

शृंखलाको पहिलो खेलमा घरेलु टोली ओमानलाई हराएको नेपाल दोस्रो खेलमा भने पराजित भयो। नेपालमा व्यावसायिक क्रिकेट खेलिसकेका युएईका रोहन मुस्तफाले अलराउन्ड प्रदर्शन गर्दै दुई विकेट लिए। राम्रो सुरुआत गरेको नेपालले पहिलो विकेटका लागि ५३ रनको साझेदारी गर्‍यो।

पावर प्लेको अन्तिम बलमा युएईका कसिफ दाउदले पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई २२ रनमा आउट गर्दै त्यो साझेदारी तोडे। त्यसपछि भने नेपालको रन गतिमा अंकुश लाग्यो। मुस्तफाले भाई आसिफ र दाई आरिफ शेखको विकेट लिँदै युएईलाई दोस्रो र तेस्रो सफलता दिलाए। ९.४ ओभरमा ओपनर आसिफ ३४ रनमा मुस्तफाद्वारा कट एन्ड बोल्ड भए। २९ बलमा उनले चार चौका र एक छक्का हिर्काए।

आरिफ ११ रनमै मुस्तफाकै शिकार भए। तीन ब्याट्सम्यान पवेलियन फर्किंदा नेपालले १३.४ ओभरमा १ सय ८ रन जोडेको थियो। यद्यपि, लयमा रहेका ऐरीले एक छेउबाट इनिङ अगाडि बढाए। युएईका बलरले मिडल ओभरमा नेपाललाई खुलेर ब्याटिङ गर्न दिएनन्। अन्तिम पाँच ओभरमा जितका लागि नेपाललाई १४ रन प्रतिओभर आवश्यक थियो। तर, युएईका बलरले नेपाली ब्याट्सम्यानलाई ठूलो सट खेल्नै दिएनन् र दबाब बनाइराखे।

ओमानसँग करियरकै उत्कृष्ट ब्याटिङ गरेका ऐरी युएईविरुद्ध अर्धशतक बनाउन चुके र १८औं ओभरको पहिलो बलमै जुनैद सिद्दिकीद्वारा क्याच आउट भए। ऐरीको ४१ रनको इनिङमा चार चौका थियो। ऐरीको विकेटसँगै युएईले खेलमा एकतर्फी दबाब बनायो। अन्तिम ओभरमा डेब्युटेन्ट लोकेश बमले आक्रामक इनिङ खेले पनि युएई जितनजिक पुगिसकेको थियो।

लोकेशले अन्तिम ओभरमा दाउदलाई लगातार दुई छक्का हिर्काए । युएईको बलिङमा मुस्तफा सबैभन्दा किफायती भए। उनले चार ओभरमा २६ रन खर्चदा दुई विकेट लिए। दाउदले दुई र सिद्दिकीले एक विकेट निकाले। त्यसअघि टस जितेर नेपालले युएईलाई पहिले ब्याटिङको निम्तो दियो। नेपालका कप्तान सन्दीप लामिछानेले आठ बलर प्रयोग गरेपनि युएईलाई ठूलो स्कोरबाट रोक्न सकेनन्।

चिराग सुरीको नटआउट ८४ रनको प्रेरणामा युएईले तीन विकेटको क्षतिमा १ सय ९२ रनको विशाल योगफल खडा गर्‍यो। ११ रनमा जीवनदान पाएका सुरीले ५३ बल खेल्दै ५/५ चौका र छक्का हिर्काए। जितेन्द्र मुखियाको बलमा साहब आलमले सुरीको क्याच छोडेका थिए, जुन महँगो साबित भयो। साहबले नै तेस्रो ओभरमा मुहम्मद वसिमलाई २२ रनमा पवेलियन फर्काउँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए।

त्यसपछि भने नेपाली बलरका लागि चिराग र अनुभवी अलराउन्डर मुस्तफा चुनौती बने। यो जोडीले दोस्रो विकेटका लागि ६६ बलमा ९७ रनको साझेदारी गरे। दाई आरिफको बलिङमा विकेटकिपर आसिफले मुस्तफालाई ४९ रनमा स्टम्पिङ गर्दै उक्त साझेदारी तोडे। मुस्तफाले ३५ बलमा पाँच चौका र एक छक्का प्रहार गरे। १३.३ ओभरमा उनी आउट हुँदा युएई १२०/२ को बलियो स्थितिमा थियो।

त्यसपछि सन्दीपले बसिल हमिद १७ रनमा आउट गर्दै नेपाललाई तेस्रो सफलता दिलाए। मोहम्मद बोटा १४ रनमा नटआउट रहँदै सुरीलाई साथ दिए। अन्तिम पाँच ओभरमा मात्र नेपाली बलरले ५३ रन खर्चिए, जुन थप चुनौती बन्न पुग्यो। २०औं ओभरमा मात्र कमलसिंह ऐरीले २० रन बेहोरे।

 चार ओभर फ्याकेका कमल ४२ रन बेहोर्दै सबैभन्दा महँगा बने। साहब, सन्दीप र आरिफले समान एक विकेट लिए। सन्दीप मात्र किफायती रहँदा उनले चार ओभरमा २३ रन खर्चिए। नेपालले अब शृंखलाको तेस्रो खेल आयरल्यान्डसँग सोमबार खेल्नेछ। 

प्रकाशित: १ फाल्गुन २०७८ ०४:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App