४ पुस २०८१ बिहीबार
image/svg+xml
खेल

सेनेगललाई पहिलो पटक अफ्रिकन कप उपाधिः मानेका अगाडि सालाह निरीह

अन्ततः साडियो मानेको गोलसँगै सेनेगलले पहिलो पटक अफ्रिकन कपको उपाधि जित्दा उनका लिभरपुल सहकर्मी मोहम्मद सालाह भने निरीह बन्न बाध्य भए।

क्यामरुनमा सम्पन्न फाइनलको पेनाल्टी सुटआउटमा मानेले निर्णायक गोल गरेपछि उनका सहकर्मी सालाहको टोली इजिप्ट स्तब्ध बनेको हो। निर्धारित समयको सुरुआतमा पेनाल्टी अवसर गुमाएका मानेले यस पटक भने कुनै गल्ती गरेनन् र सेनेगलले इजिप्टमाथि ४–२ को जित रच्यो। आफ्ना दुई सहकर्मीले पेनाल्टी गुमाएपछि सालाह निरीह बन्न बाध्य भए। यसअघि दुई पटक अफ्रिकन कप अफ नेसन्सको फाइनलमा पुगेको सेनेगल सन् २०१९ मा इजिप्टमा भएको फाइनलमा भने अल्जेरियासँग स्तब्ध भएको थियो, जहाँ माने भावह्विल भएका थिए।

यस पटक भने उनले विजयी गोल प्रहार गर्न पाए र सफल पनि भए। त्यो गोलसँगै उनी आफ्ना सहकर्मीसँग विजयोत्सव मनाउन दौडिए। केही समयमा नै रसिलो आँखा बनाएका लिभरपुलका सहकर्मी सालाहलाई सान्त्वना दिन पनि पुगे। ‘हामीले गर्विलो महसुस गरेका छौं,’ पेनाल्टी प्रहार रोकेका सेनेगलका गोलकिपर इडवार्ड मेन्डीले भने, ‘यसअघि हामीले कहिल्यै जितेका थिएनौं। हामीले मिहिनेत गर्‍यौं र ट्रफी जित्यौं। आज हामीले समग्र देशको सहयोगमा यो सफलता पाएका हौं।’ याओन्डीस्थित ओलम्बे स्टेडियममा भएको फाइनलमा लिभरपुलका स्टार माने र सालाहबीचको भिडन्त पनि थियो, किनकि यी दुवै आफ्ना देशका लागि पहिलो उपाधि जिताउन चाहन्थे।

तथापि, यी दुई स्टार फुटबलरका बावजुद खेलको निर्धारित समयमा भने गोल हुन सकेन। खेलको पाँचौं मिनेटमा नै सेनेगलले पेनाल्टी अवसर पाउँदा रोमाञ्चक बन्ने संकेत देखियो। इजिप्टका मोहमेद एबडेमनेमले सालियु सिसेलाई लडाएपछि सेनेगलले पेनाल्टी पायो।

मानेले नै उक्त पेनाल्टी प्रहार गर्ने देखिएपछि इजिप्टका सालाह मुखले हात छोप्दै आफ्ना गोलकिपर मोहमेद गाबललाई केही सुझाव दिन पुगे। त्यो देख्ने बितिक्कै माने पनि उनीहरूलाई अवरोध गर्न पुगे र इजिप्टका गोलकिपर गाबललाई आफूले दायाँ कुनामा पेनाल्टी हान्ने इसारा गरे।

तथापि, उनले मध्य भागमा प्रहार गरे र जुन इजिप्टका गोलकिपरले सहजै रोकिदिए। त्यसपछि पनि सेनेगलले लगातार अवसर बनायो, जहाँ इजिप्टका गोलकिपर गाबलले पनि उत्कृष्ट बचाउ गरे। सालाहले पनि पहिलो हाफमा दुईवटा गोल अवसर बनाए। जसमा उनको दोस्रो टप कर्नर हेड भने सेनेगलका गोलकिपर मेन्डीले बचाए। दोस्रो हाफमा भने सालाह केही थकित पनि देखिए। इजिप्ट टच लाइनमा प्रशिक्षक कार्लोस क्विइरोजबिना खेलेको थियो। सेमिफाइनलमा रेड कार्ड बेहोरेपछि प्रशिक्षक कार्लोसले दर्शक दीर्घाबाटै फाइनलमा हेर्नुपर्‍यो।

यस पटक इजिप्टका सबै प्रतिस्पर्धा अतिरिक्त समयमा नै गएको थियो। यसमध्ये पनि दुईवटा पेनाल्टी सुटआउट नै थिए। फाइनलमा पनि पेनाल्टी सुटआउटमा सफलता पाउने इजिप्टको सपना पूरा हुन सकेन। साथै इजिप्ट कीर्तिमानी आठौं पटक अफ्रिकन कप अफ नेसन्सको च्याम्पियन बन्न असफल भयो। यसअघिका दुई पेनाल्टी सुटआउटमा रहेका खेलाडी नै फाइनलमा आएका थिए। तर, यीमध्ये एक थिए, डिफेन्डर एबडेलमनेम। खेलको सुरुआतमै उनको खराब फाउलका कारण सेनेगलले पेनाल्टी पाएको थियो। सुटआउटमा पनि असफल भएपछि फाइनल उनका लागि बिर्सनलायक बन्यो।

सेनेगलका लागि तेस्रो पेनाल्टी हान्न आएका सारको प्रहार गोलकिपर गाबलले रोक्दै इजिप्टको आशा जगाए। तर, इजिप्टको चौथो प्रहार गोलमा परिणत हुन सकेन। मोहनद लासेनको उक्त प्रहार मेन्डीले रोक्दै सेनेगललाई इतिहास सफलतानजिक पुर्‍याए।

सेनेगलका लागि चौथो प्रहारमा मानेले गोल गरेपछि इजिप्ट ४–२ ले स्तब्ध भयो। यससँगै सालाहले दोस्रो पटक अफ्रिकन कपको फाइनलमा असफलता बेहोर्नुपर्‍यो। यसअघि सन् २०१७ मा १–० को अग्रता जोगाउन नसक्दा सालाहप्रेरित इजिप्ट क्यामरुनसँग २–१ ले स्तब्ध भएको थियो।  

देशका लागि उपाधि जित्न सबै बिर्सने बताएका मानेले भने अन्ततः सफलता पाए। यता सेनेगलका प्रशिक्षक आलियु सिसेका लागि पनि यो उपाधि विशेष रह्यो। सन् २००२ मा उनकै कप्तानीमा रहेको सेनेगल फाइनलमा क्यामरुनसँगै पेनाल्टी सुटआउटमा स्तब्ध भएको थियो। सन् २०१९ मा असफलताका बावजुद नै उनी नै सेनेगलको प्रशिक्षक भएका थिए।

प्रकाशित: २५ माघ २०७८ ०३:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App