६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

चिनियाँ टेनिस स्टारले बयान फेरिन्

चिनियाँ टेनिस स्टार पाङ स्वेईले आफूले कहिल्यै पनि कसैमाथि यौन दुर्व्यवहारको आरोप नलगाएको र आफूले सामाजिक सन्जालमा गरेको पोस्टलाई अतिरञ्जित गरिएको बताएकी छिन्।

सोमबार फ्रान्सको खेलकुद दैनिक एल इक्युपेमा प्रकाशित अन्तर्वार्ताका क्रममा युगलतर्फ पूर्व विश्व नम्बर एक स्वेईले आफूले चीनका पूर्व भाइस प्रिमियर जाङ गाउलीमाथि यौन दुर्व्यवहारको आरोप नलगाएको अडान दोहोर्‍याएकी हुन्। उनले आफूहरूबीच सामान्य चिनजान भए पनि उनीसँग कहिल्यै पनि सम्बन्धमा नबसेको पनि बताएकी छिन्।

नोभेम्बरमा स्वेईले सामाजिक सन्जालमा पूर्व भाइस प्रिमियर जाङ गाउलीमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन्। त्यसको करिब तीन साता सम्पर्कविहीन बनेसँगै स्वेईको सुरक्षाको विषय सतहमा आएको थियो। तर त्यसयता भने उनी सामाजिक कार्यक्रममा उपस्थित हुन थालेकी छिन्।

‘मैले कहिल्यै पनि कसैले ममाथि यौन दुव्र्यवहार गर्‍यो भनेर भनेको छैन,’ स्वेईले भनिन्, ‘मैले वेइबोमा केही पोस्ट गरेको थिएँ, तर त्यसलाई अतिरञ्जित गर्दै मेरो समेत चरित्र हत्याको प्रयास भएपछि मैले नै त्यो पोस्ट हटाएकी हुँ।’

‘मेरो भनाइ र मानिसहरूको बुझाइमा ठूलो भिन्नता देखियो,’ उनले भनिन्, ‘त्यसैले त्यसलाई राख्न मैले चाहिनँ। मलाई यसबारे स्पष्टीकरण दिँदै हिँड्नु पनि छैन।’ स्वेईले लगातारको चोटका कारण आफूले व्यावसायिक खेलजीवनबाट संन्यास लिन लागेको समेत बताइन्। स्वेईको सुरक्षाको विषयमा सेरेना विलियम्स, नाओमी ओसाका र नोभाक जोकोभिचसहित संयुक्त राष्ट्रसंघले समेत चासो देखाएका थिए। त्यस्तै यस विषयामा चीन सरकारको आधिकारिक धारणा आउनुपर्ने भन्दै वुमेन्स टेनिस एसोसिएसन (डब्लुटिए)ले चीनमा तय प्रतियोगिता स्थगित गरेको थियो।

स्वेईले आफू कोभिड १९ महामारीका कारण घरमै बसेको र कहिल्यै पनि सम्पर्कविहीन नभएको समेत दाबी गरिन्। ‘मलाई धेरै जनाले स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन म्यासेज गर्नुभयो,’ स्वेईले भनिन्, ‘सबैको म्यासेज फर्काउन सम्भव थिएन। त्यसैले केहीलाई म सम्पर्कविहीन भएजस्तो लागेको हुन सक्छ।’ अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाचले नोभेम्बर २१ मा भिडियो कन्फरेन्समार्फत स्वेईसँग उनको अवस्थाका बारेमा जानकारी लिएका थिए। उनीहरूबीच शनिबार बेइजिङमा जारी विन्टर ओलम्पिकदौरान भेटघाट भएको थियो।

नोभेम्बरमा बाचले स्वेईले चाहेमा उनका बारेमा अनुसन्धान गरिने पनि जनाएका थिए। ‘म र आइओसीका अध्यक्षसहितका प्रतिनिधिसँग शनिबार मेरो भेटघाट भएको थियो र त्यो संवाद निकै सकारात्मक थियो,’ स्वेईले भनिन्, ‘उनीहरूले मलाई मेरो खेलजीवनको निरन्तरताका बारेमा सोधेका थिए र मैले पनि त्यसमै केन्द्रित रहेर जबाफ दिएँ।’  

 

प्रकाशित: २५ माघ २०७८ ०२:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App