६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

भलिबलको उर्वर भूमिमा उदाएका फुटबलर

स्याङ्जा जिल्ला भलिबलको लागि चर्चित ठाउँ हो। त्यसमा पनि वालिङ भलिबलको उर्वर भूमि हो। स्याङ्जा वालिङका राजाबाबु थापा भलिबलको उर्वर भूमिबाट फुटबलमा उदाएका तारा हुन्।

सानैदेखि फुटबलमा रुचि राख्ने राजाबाबुका साथीहरू भने भलिबल खेल्थे। साथीहरू मात्र होइन, पूरै गाउँ नै भलिबलमय थियो। उनी पनि कहिलेकाहीँ भलिबल खेल्थे तर उनलाई भलिबलभन्दा फुटबलमा रुचि थियो। घरमा लाहुरे बाजे थिए। बुबा सानैमा बिते। आमाको रेखदेख र स्याहारसुसारमा हुर्किएका राजाबाबु आफ्नै पारामा हुर्किए।

साथीहरूसँग झुम्रो र मोजाको बल खेल्दै हुर्केका राजाबाबु स्थानीय भूपू सैनिक स्कुलमा अध्ययन गर्थे तर उनलाई पढ्नभन्दा खेल्न मजा लाग्थ्यो। घरमा पनि उनलाई छेकबार थिएन। अग्लो कद, पातलो शरीर, फुर्तिलो ज्यानका राजाबाबु गाउँमा लोकप्रिय थिए। उनलाई सबैले ‘तँ राम्रो खेल्छस्, गोलकिपरमा राम्रो छस्, गोलकिपर नै खेल्’ भनेर हौस्याउँथे। अरूहरूले फरवार्ड र स्ट्राइकर रोज्थे तर उनलाई कहिल्यै फरवार्ड र स्ट्राइकर बन्ने रहर लागेन। बरु गोलकिपरमै रमाइरहे।

व्यावसायिक फुटबलबारे खासै ज्ञान नभएका राजाबाबुलाई एक दिन स्याङ्जाकै फुटबलर लक्ष्मण रुचालले ‘व्यावसायिक फुटबल खेल्ने हो  भनेर सोधे। हो भन्नेबित्तिकै लक्ष्मणले भने, ‘च्यासलमा गोलकिपर खोजेको छ, जाऊ त्यहाँ गएर भेट।’

लक्ष्मणको सुझावलाई मनन गर्दै उनी च्यासल पुगे। च्यासलमा उनको नाम एकै पटक ओके भयो। राजाबाबु गएपछि च्यासललाई लक लाग्यो। उनी गएकै वर्ष च्यासल ‘बी’ डिभिजनबाट ‘ए’ डिभिजनमा उक्लियो। त्यसमा राजाबाबुको योगदान महत्त्वपूर्ण रह्यो।

च्यासलमै रहेका बेला राजाबाबुलाई थ्री स्टारको अफर आयो। देशकै अब्बल क्लबको अफर आएपछि उनले नाइँ भन्नै सकेनन्। जान त गए तर थ्री स्टारमा उनले सोचेजस्तो भएन। दोस्रो रोजाइमा परेका उनले करिब १ वर्ष बिताउँदा पनि खेल्ने अवसर पाएनन्। जसका कारण उनलाई थ्री स्टारमा बसिरहन मन लागेन। उनले भने,‘जब खेल्नै पाइँदैन भने बसेर मात्र के गर्नू भनेजस्तो लाग्यो, त्यसपछि थ्री स्टार छा्ड्ने निर्णय गरेँ।’

थ्री स्टारबाट पहिलो रोजाइको गोलकिपर भएर उनी संकटामा गए। चार वर्षदेखि संकटामा रहेका उनले गत वर्ष सहारा क्लब पोखराको आयोजनामा भएको आहा रारा गोल्डकपको उपाधिसमेत जिताए। संकटालाई उक्त प्रतियोगिताको उपाधि जिताउन महत्त्वपूर्ण योगदान दिएका उनी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीसँगै उत्कृष्ट गोलकिपर र फाइनल खेलको म्यान अफ दी म्याचसमेत भए।

संकटाका नियमित गोलकिपर राजाबाबुलाई राष्ट्रिय टोलीबाट खेल्ने धोको छ। उनको त्यो धोको पूरा हुन्छ वा हुँदैन थाहा छैन। उनी भन्छन्,‘राष्ट्रिय टोलीबाट खेल्ने मन छ, तयारी र प्रयास गरिरहेको छु, हेरौं भाग्यले कत्तिको साथ दिन्छ।’ 

संकटाका पूर्व प्रशिक्षक सल्यान खड्गीदेखि हालका प्रशिक्षक विष्णु गुरुङसम्मले उनलाई राष्ट्रिय टोलीको पहिलो रोजाइको गोलकिपर बन्न सक्ने खुबी भएको भन्दै निरन्तर प्रयास जारी राख्न हौसला दिने गरेको उनले बताए।

उनलाई आफ्नी आमाले पनि निरन्तर हौसला दिने गरेकी छन्। भन्छन्,‘मेरो स्ट्रेन्थ भनेको ममी हो, म अहिले जहाँ छु यसको सबै श्रेय ममीलाई जान्छ।’

नेपालमा फुटबल अझै पनि व्यावसायिक नबनेकोमा भने उनलाई दुःख लाग्छ। ‘हामी खेलाडीलाई खेलुन्जेल राम्रो छ तर खेल्न छाडेको दिन भविष्य अन्योल छ,’ उनले भने। कोभिड–१९ को असरले पनि खेल जीवनमा नकारात्मक असर परिरहेको उनको भनाइ छ। यही कारण उनलाई कहिलेकाहीं लाहुरे नबनेकोमा पछुतो लाग्छ तर लाहुरे बन्ने समय पार गरिसकेका उनी भन्छन्,‘अब फुटबल नै मेरो सम्पूर्ण हो, यसैमा जीवन समर्पण गर्छु।’

प्रकाशित: २३ माघ २०७८ ०३:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App