coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

पुलिसको शतप्रतिशत नतिजा यथावत्

ओपनर कुशल मल्लको आक्रामक ब्याटिङप्रेरित नेपाल पुलिस क्लबले सोमबार प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा शतप्रतिशत नतिजा कायम राख्ने क्रममा प्रदेश–१ माथि ६ विकेटको जित हात पारेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सोमबार सम्पन्न समूह ‘ए’ को अन्तिम खेलमा प्रदेश–१ ले प्रस्तुत गरेको १ सय २ रनको झीनो लक्ष्य पुलिसले १३.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको थियो।

तर पुलिसले सुखद सुरुआत भने गर्न सकेन। पुलिसले ५ रन जोड्दा ओपनर पवन सर्राफलाई गुमायो। ४ रन जोडेका पवनलाई फिर्दोस अन्सारीले अंकित सुवेदीबाट क्याच गराएका थिए। २८ रन जोड्दा पुलिसले दीपेन्द्रसिंह ऐरीलाई पनि गुमायो। दीपेन्द्रलाई दीपेश कँडेलले अंकितबाट क्याच गराएका थिए।

दीपेन्द्रले १३ बलमा ३ चौका र १ छक्काको मद्दतमा २० रन जोडे। तेस्रो विकेटका लागि ओपनर कुशल र अनिल शाहले ५६ रनको साझेदारी गर्दै पुलिसको इनिङ उकासेका थिए। कुशलले २८ बलमा ३ चौका र ३ छक्काको मद्दतमा ४४ रन जोड्दा अनिलले २४ बलमा २ चौका र १ छक्काको मद्दतमा अविजित २६ रन जोडे।

प्रदेश–१ का फिर्दोस, दीपेश, मुकुन्द यादव र मनोज तामाङले समान १ विकेट लिए। समूह ‘ए’ मा शीर्ष स्थानको पुलिसले ४ खेलमा ८ अंक जोड्दा दोस्रो स्थानको त्रिभुवन आर्मी क्लबले समान खेलमा ५ अंक जोड्यो। यस समूहबाट पुलिस विजेता र आर्मी उपविजेताका रूपमा अघिल्लो चरण प्रवेश गरिसकेका छन्।

यसअघि टस जितेर ब्याटिङ रोजेको प्रदेश–१ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १ रनको योगफल खडा गरेको थियो। प्रदेश–१ का ओपनर मिनास थापाले ५९ रनको योगदान गरे। उनले ५९ बलमा ६ चौका र १ छक्का प्रहार गरे। त्यस्तै श्रवण यादवले १० रन जोडे। अन्य कुनै पनि ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

पुलिसका आरिफ शेखले ३ ओभरमा २ मेडनसहित ३ रन खर्चिएर २ विकेट लिए। त्यस्तै मन्जित श्रेष्ठ र दीपेन्द्रले पनि समान २ विकेट लिए। सागर ढकाल र करण केसीले समान १ विकेट लिए।

मंगबारबाट सेमिफाइनलका खेल सुरु हुँदै छन्। पहिलो सेमिफाइनलमा पुलिसले समूह ‘बी’ को उपविजेता बाग्मती प्रदेशको सामना गर्नेछ भने दोस्रो सेमिफाइनलमा समूह ‘बी’ को विजेता एपिएफले समूह ‘ए’ को उपविजेता आर्मीको सामना गर्नेछ। दुवै खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछन्।

प्रकाशित: ४ माघ २०७८ ०२:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App