१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

आर्मी र सशस्त्रलाई दोस्रो टाईगर कप भलिबल उपाधि

पोखरामा भएको टाइगर कपको दोश्रो संस्करणको पुरुषतर्फको उपाधि विजेता आर्मी । तस्बिरः उमेश पुन/नागरिक

लिग चरणमा हार व्यहोरेको नेपाल आर्मीले हेल्प नेपाललाई फाईनलमा पराजित गर्दै दोस्रो संस्करणको टाईगर कपको उपाधि जित्न सफल भएको छ। शनिबार पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रमा भएको फाईनलमा टिपटप हेल्प नेपाललाई ३–१ सेटमा पराजित गर्दै आर्मीले पुरुष तर्फको उपाधि उचाल्यो। उता महिला तर्फ भने आर्मीलाई पराजित गर्दै सशस्त्र प्रहरी बलले उपाधि रक्षा गरेको छ ।  

शनिबार भएको फाईनल प्रतिस्पर्धामा आर्मीले हेल्प नेपाललाई लिग चरणमा व्यहोरेको हारको बदला लिँदै उपाधि उचाल्यो। पहिलो सेटमा १४–६ ले अग्रता लिएको आर्मीले २५–१८ को स्कोरमा पहिलो सेट आफ्नो पक्षमा पार्यो। मनबहादुर श्रेष्ठ र धनबहादुर भट्टको स्पाईक र ब्लकमा आर्मीले हेल्प नेपालको प्रयासलाई विफल पारेका थिए। हेल्प नेपालले सर्भिसमै अंक गुमाएपछि आर्मीले पहिलो सेट सोझो एवं सहजै लियो।  

दोस्रो सेट निकै प्रतिस्पर्धात्मक बन्यो। आर्मीले शुरुवातदेखि नै पछि परेको थियो। तर २१–२१ को अवस्थामा बराबरी पुर्‍याउँदै आर्मीले अग्रता लियो। २३–२२ को अवस्थामा हेल्प नेपालले प्लेसिङ खेल्दै २३–२३ बराबरी गर्दै खेललाई रोचक बनायो। मनबहादुर श्रेष्ठको दोहोरो स्पाईकलाई भारतीय खेलाडीले ब्लक गर्दै अंक आफनो खातामा राखे। २३–२४ को स्थितिमा हेल्प नेपालका खेलाडीले हानेको स्पाईक बाहिर गएपछि २४–२४ को बराबरीमा पुग्यो। अन्ततः हेल्प नेपालले दोस्रो सेट कठिन रुपमा २६–२४ मा लिएर खेल १–१ सेटको अवस्थामा पुर्‍याए।  

महिलातर्फको उपाधि विजेता सशस्त्र प्रहरी टिम । 

तेस्रो सेटमा आर्मी हावी भयो। ६–६ को स्कोरबाट अघि बढेको आर्मीले अग्रतालाई कायम राख्दै २५–१८ मा आफ्नो पक्षमा पार्दै खेल २–१ को अवस्थामा अग्रता लियो । आर्मीले चौथो सेट केही सहज रुपमा लियो। २५–१९ को अवस्थामा लिदैं आर्मीले दोस्रो संस्कराणको टाईगर कप आमन्त्रित क्लबस्तरीय भलिबल च्यामिपयनसिपको उपाधि लेखायो।  

टाईगर ग्रुप अफ पोखरा, नेपालको आयोजनामा सञ्चालित क्लबस्तरीय आमिन्त्रत भलिबल प्रतियोगिताको महिला तर्फको फाईनलमा विभागीय डर्बीको फाईनलमा सशस्त्रले आर्मीमाथि सोझो सेटमा पराजित गर्दै उपाधि रक्षा गरेको छ। लिगमा पराजित गरेको आर्मीको मनोबललाई सशस्त्रले फाईनलमा मत्थर बनाईदियो। २५–२३ मा पहिलो सेट लिएर आर्मीमाथि दबाव बनाएको सशस्त्रले दोस्रो सेट अझ सजिलोसँग लिन पुग्यो। दोस्रो सेट २५–१५ मा लिएको शसस्त्रले तेस्रो सेट २५–२० मा लिएर महिला तर्फका उपाधि आफ्नो नाममा लेखाउन सफल भयो।  

विजेता महिला तथा पुरुष टोलीले नगद ३/३ लाख रुपैयाँ राशीसहित च्याम्पियन ट्रफी प्राप्त गरेका छन्। उपविजेता दुवै टोलीले भने समान नगद १ लाख ५० हजार प्राप्त गरे। पुरुषतर्फ नेपाल पुलिस क्लब तेस्रो बन्यो । महिला तर्फ भने न्यु डायमण्ड स्पोर्टस क्लबल तेस्रो भएको छ। महिला तथा पुरुष टोलीले नगद ७५/७५ हजार प्राप्त गरे। पुरुष तर्फ गण्डकी प्रदेश र महिलातर्फ नेपाल पुलिस क्लब सान्त्वना टोलीको रुपमा रहे। दुवै टोलीलाई नगद ३५/३५ हजार रुपैयाँ प्रदान गरिएको थियो।  

प्रकाशित: १ माघ २०७८ १०:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App