मच्छिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा यथावत् रहने क्रममा फ्रेन्ड्स क्लबलाई हराउँदा विभागीय टोली त्रिभुवन आर्मी क्लब पनि जितको लयमा फर्किएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न पहिलो खेलमा मच्छिन्द्रले फ्रेन्ड्सको आत्मघाती गोलमा १–० को जित हात पारेको हो।
६७औं मिनेटमा रोनेल एन्थोनी पाउलले आफ्ना गोलकिपरलाई हेड पास गर्न खोज्दा बलले जाली चुमेपछि मच्छिन्द्रले अग्रता लियो। त्यो गोल नै जितका लागि पर्याप्त बन्यो।
जितपछि मच्छिन्द्र आठ खेलमा २० अंकसहित शीर्ष स्थानमा छ। जुन समान खेलबाट दोस्रो स्थानमा रहेको मनाङ मर्स्याङ्दी क्लबको भन्दा एक अंकले मात्र बढी हो। तेस्रो स्थानको संकटा र चौथो स्थानको त्रिभुवन आर्मी क्लबको समान १४ अंक छ।
फ्रेन्ड्सको भने आठ खेलबाट मात्र तीन अंक छ। मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले नतिजा आफ्नो पक्षमा आए पनि टोलीको प्रदर्शनबाट सन्तुष्ट नरहेको बताए। ‘आज हाम्रा खेलाडीले फ्रेन्ड्सलाई लिगको पुछारको क्लब भन्दै कमजोर आँकेर खेले,’कटुवालले भने, ‘त्यसैले सोचेअनुसारको प्रदर्शन गर्न सकेनन्।
जितका लागि निकै संघर्ष गर्नुपर्यो। फ्रेन्ड्सले पनि काउन्टरमा ३/४ वटा उत्कृष्ट अवसर सिर्जना गर्दै हामीमाथि दबाब बढायो। मैले पहिलेदेखि नै लिगमा कुनै पनि टोली कमजोर छैनन् भन्दै आएको हुँ। कसैलाई पनि कमजोर टोलीको रूपमा लिने गल्ती गर्नु हुँदैन।’
यता फ्रेन्ड्सका प्रशिक्षक मृगेन्द्र मिश्रले एउटा गल्तीले टोलीलाई रेलिगेसनको मुख्य दाबेदारको संघारमा पुर्याएको बताए। ‘राम्रो प्रदर्शन गरेको हौं तर एउटा गल्ती हाम्रा लागि महँगो साबित बन्यो,’मिश्रले भने, ‘हामीले पनि अवसर पाएका थियौं। तर त्यसको सदुपयोग गर्न सकेनौं।
अब हामीमाथि रेलिगेसनको खतरा थप बढेको छ। आज जितेको भए वा एक अंक मात्र लिँदा पनि दबाब केही कम हुने थियो। मेरो लक्ष्य टोलीलाई रेलिगेसनबाट बचाउने हो र त्यसको आशा अझै मरेको छैन।’ अझै पाँच खेल बाँकी रहेकाले रेलिगेसनबाट जोगिने उनको भनाइ छ।
‘सबै खेल जित्नै पर्ने दबाबमा हामी परेका छौं। ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा हाम्रै स्तरका प्रतिद्वन्द्वी हुन्। त्यसैले उनीहरूलाई हराउँदै रेलिगेसनको खतरा टार्छौं भन्नेमा आशावादी छौं। शनिबार नै सम्पन्न दोस्रो खेलमा आर्मीले न्युरोड टिम (एनआरटी) लाई १–० ले हरायो।
१७औं मिनेटमा जगजित श्रेष्ठको पासमा दिनेश हेन्जनले गरेको गोल नै आर्मीलाई तीन अंक दिलाउन पर्याप्त भयो। पछिल्लो तीन खेलमा लगातार बराबरी खेल्दै अंक बाँडेको आर्मीले चौथो खेलमा आएर जितको लय भेट्टाएको हो। एनआरटी आठ खेलबाट १० अंकसहित सातौं स्थानमा यथावत् छ।
प्रकाशित: २५ पुस २०७८ ०३:३१ आइतबार