९ असार २०८१ आइतबार
image/svg+xml
खेल

सधैं कप्तान बन्नुपर्छ भन्ने छैनः मल्ल

नेपाल क्रिकेट संघ (क्यान) र खेलाडीबीचको विवादका कारण तोकिएको भन्दा एक दिन पछि प्रशिक्षणमा फर्किएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ज्ञानेन्द्र मल्लले आफू सधैंभरि कप्तान बन्नका लागि नआएको बताएका छन्।

आगामी फेबु्रअरीमा ओमानमा हुने ट्वान्टी–२० विश्वकप छनोटको प्रशिक्षणमा सहभागी हुने क्रममा मंगलबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा पत्रकारहरूसँगको कुराकानीमा पूर्वकप्तान मल्लले आफूले देशका लागि खेल्ने बताएका हुन्। क्यानले बिनाजानकारी जिम्मेवारी हटाउँदा आपूmलाई केही दुख लागेको बताए। 

‘बिनाजानकारी कप्तानबाट हटाउँदा दुःख लाग्यो। यद्यपि म पनि सधैं कप्तान बन्नुपर्छ भन्ने छैन। बिनाकारण र जानकारी कप्तानबाट हटाइँदा अलिअलि दुःख लाग्यो। व्यक्तिगत तरिकाले अलि गाह्रो भएको थियो,’ पूर्वकप्तान मल्लले भने, ‘हामी कहिल्यै पनि बोर्डविरुद्ध गएका होइनौं।

आत्मसम्मानका हिसाबले अलि अप्ठेरो महसुस भएको हो। सधैंभरि कप्तान बन्न भनेर आएको होइन। हुनुपर्छ भन्ने पनि होइन। म देशका लागि खेल्ने हो। परिवारका लागि खेल्छु, मेरा लागि खेल्छु। मेरो मुख्य उद्देश्य नै त्यही हो।’

सेन्ट्रल कन्ट्य्राक्टमा वर्गीकरणको विषयमा सञ्चारमाध्यममा बोलेका कारण चार खेलाडी ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई कारबाही गरिएको थियो। त्यसपछि क्रिकेट संघ र खेलाडीबीचको विवाद उत्कर्षमा पुगेको थियो। क्यानले मल्ल र ऐरीलाई कप्तान र उपकप्तान पदबाट हटाउँदै युवा लेग स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तानको जिम्मेवारी दिएको थियो।

वर्गीकरणको विषय पछि सतहमा देखिएको खेलाडी र क्यानबीचको समस्या समाधान भएको भन्दै मल्लले कसैसँग दुस्मनी नभएको बताए। ज्ञानेन्द्रले टोलीमा प्रशिक्षण गर्न र खेल्न कुनै समस्या नहुने स्पष्ट पारे। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा २८ खेलाडीसँगै अभ्यास गरिरहेका पूर्वकप्तान ज्ञानेन्द्रले सबै विवाद बिर्सिएर अब विश्वकप छनोटमा ध्यान केन्द्रित गर्ने बताएका छन्।

‘कसैसँग दुस्मनी भन्ने नै थिएन। हामी एकअर्काबीच दुस्मनी नै छैन। १०÷१२ वर्षदेखि हामी सबै सँगै खेलिरहेका छौँ, कसैसँग मनमुटाव भएको होइन,’ मल्लले थपे, ‘क्यान र खेलाडीसँग पहिले नै यसरी छलफल भएको भए यत्रो दिन यस्तो अवस्था आउने थिएन। वर्गीकरण गर्दा हामीलाई जानकारी गराइएको थिएन। त्यसैले अलिअलि असन्तुष्टि पैदा भएको हो।’

‘सबै विगत बिर्सिएर नेपाली क्रिकेटको लागि र भविष्यका लागि हामी सबैको लागि एक ठाउँ बसेर अघि बढ्नुपर्छ। महत्वपूर्ण प्रतियोगिता आएको छ। त्यसका लागि भए पनि सब ठाउँमा बस्नुपर्छ। जे भयो भयो, अबको हाम्रो लक्ष्य भनेको अघि बढ्ने हो,’ ज्ञानेन्द्रले थपे।

त्यस्तै मल्लले क्यानसँग खेलाडीहरूको प्रोत्साहन भत्ता बढाउने र ४ जना खेलाडीलाई गरिएको कारबाही फिर्ता लिने सहमति भएको पनि जानकारी दिए।

क्यानले सार्वजनिक गरेका ३० खेलाडीमध्ये मंगलबार कारबाहीमा परेका ४ खेलाडीसहित सबै जसो खेलाडी मैदानमा देखा परेका छन्। मंगलबार नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लसहित अन्य खेलाडीले पनि प्रशिक्षणस्थलमा सहभागिता जनाएका थिए। कप्तान सन्दीप लामिछाने बिग ब्यासका लागि अस्ट्रेलिया र सागर ढकाल अस्वस्थ भएका कारण मैदान उपस्थित थिएनन्।

प्रकाशित: २१ पुस २०७८ ०५:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App