२३ असार २०८१ आइतबार
image/svg+xml
खेल

हिमालयन शेर्पाको पहिलो जित

हिमालयन शेर्पा क्लबले आइतबार ब्रिगेड ब्वाइजमाथि ३–१ को नतिजा निकाल्दै जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सिजनको पहिलो जित आत्मसात छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हिमालयन शेर्पाले ब्रिगेड ब्वाइज (बिबिसी) माथि फराकिलो जित निकाल्दै यस सिजनको लिगमा पहिलो पटक स्पष्ट तीन अंक जोड्न सफल भएको हो। निकै प्रतिस्पर्धात्मक बनेको खेलमा हिमालयनले आक्रामक सुरुआत गरेको थियो।

प्रशिक्षक युगलकिशोर राईको टोली शेर्पाले खेलको चौथो मिनेटमा नै अग्रता लियो। मुतम्बा पिस्टोनीको गोलबाट शेर्पाले गोलको खाता खोल्यो। शिशिर लेखीले शेर्पाका भिसन गुरुङलाई फउल गरेपछि प्राप्त फ्रिकिकमा कप्तान विश्वास श्रेष्ठको प्रहारलाई मुताम्बाले हेडरमार्फत जाली चुमाए।

१३औं मिनेटमा सुरेश कुमालको लामो क्रस पासमा मुताम्बाको हेडर बिबिसीका गोलरक्षक एन्जल श्रेष्ठले पञ्च गर्दै बाहिर पठाइदिए। १९औं मिनेटमा दीपेश गुरुङको फ्रिकिकमा ड्याडी जुनियर वाम्बाको हेडर पहिलो बारबाट बाहिरियो।

त्यसपछि पहिलो हाफमा दुवै तर्फबाट गोल हुन सकेन। दोस्रो हाफमा फरक रणनीतिका साथ बिबिसी मैदान उत्रियो। ५३औं मिनेटमा वैकल्पिक खेलाडी भुवन बस्नेतले गोल गर्दै बिबिसीलाई खेलमा फर्काए।

यसअघिका चार खेलमा जितविहीन हिमालयन शेर्पा बराबरीपछि आक्रामक बन्यो र दुई गोल थप्दै बिबिसीको लक्ष्य पूरा हुन दिएन। सुरेश कुमालले ७४औं मिनेटमा गोल गर्दा शेर्पाले पुनः अग्रता लियो। डिबक्स बाहिरबाट सुरेशको प्रहारले सफलता पाएको थियो। खेलमा पछि परेसँगै बिबिसीले काउन्टरको प्रयास गर्‍यो। तर, उल्टै गोल बेहोर्न पुग्यो। वैकल्पिक खेलाडी मनीष थापाले गोल गर्दै हिमालयन शेर्पाको जित सुनिश्चित गरे।

यससँगै मनीषले हिमालयन शेपाबाट डेब्यु खेलमा नै गोल पनि गरे। हिमालयन शेर्पाले पाँच खेलबाट पाँच अंक नै जोड्यो र आठौं स्थानमा उक्लिएको छ। समान खेलबाट समान अंक भए पनि बिबिसी अंकतालिकाको नवौं स्थानमा छ। लिगमा सोमबार फ्रेन्ड्स र एपिएफ फुटबल क्लबबीच दशरथ रंगशालामा हुनेछ।

प्रकाशित: ५ पुस २०७८ ०३:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App